१ वर्षमा ८ सय किमि पिच रोड बनाएँ : मन्त्री महासेठ «

१ वर्षमा ८ सय किमि पिच रोड बनाएँ : मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले एक वर्षमा कसैले गर्न नसकेको काम गरेर इतिहास रचेको दाबी गरेका छन् ।
सोमबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले यस्तो दाबी गरेका हुन् । उनले भने, “यो एक वर्षमा सरकारले कसैले नसोचेको काम गरेको छ । हामीले ऐतिहासिक काम गरेका छौं । सरकारको पहिलो वर्ष आधार वर्ष भएको छ ।”
साक्षात्कारमा बोल्दै मन्त्री महासेठले मुलुक एकात्मक शासन व्यवस्थाबाट संघात्मक शासन व्यवस्थामा प्रवेश गरेकोले आफूहरूले सोहीअनुसार व्यवस्थापन गर्न समय खर्चिएको स्पष्ट पारे । उनले थपे, “तीन तहका सरकार निर्माण भएका छन् । तिनीहरूका लागि बजेट, साधनस्रोत, कर्मचारी र कार्यालयको व्यवस्थापन ग¥यौं । योजनाहरू बाँडफाँड गरेका छौं ।”
मन्त्री महासेठले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमै ८ सय किलोमिटर रोड पिच गरेको पनि दाबी गरे । उनले थपे, “६ लेन, चार लेन र २ लेनका ८ सय किलोमिटर सडक पिच भएको छ । सयभन्दा बढी पुल बनेका छन् । ९ सय वटा त नयाँ ट्रयाक खुलेको छ ।”
सरकारले विकास निर्माणका कामलाई पनि द्रुत गतिमा अघि बढाएको उनले जनाए । उनले भने, “रेलमार्गलगायतका कामहरु अघि बढेका छन् । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सुरु भइसकेको छ ।” त्यस्तै, काठमाडौं–केरुङ र रक्सौल–काठमाडौं रेलमार्गको लागि प्रि–फिजिविलटीको काम सम्पन्न भएको उनले जनाए । उनले क्रस बोर्डर रेलवे निर्माणको काम भइरहेको बताए । यही आर्थिक वर्षभित्र जयनगर–जनकपुर रेल सञ्चालनमा आउने पनि उनले स्पष्ट पारे ।
समग्र यातायात क्षेत्रलाई व्यवस्थित गर्नका लागि यातायात प्राधिकरण गठन गर्ने तयारी भइसकेको पनि उनले जनाए । मन्त्री महासेठले पानीजहाज कार्यालयको व्यवस्थापनसँगै रजिष्ट्रार नियुक्ति गरिएको बताउँदै भने, “२÷३ पटक सर्भे भइसकेको छ । गण्डकसम्म प्राविधिक टिम पुगेर फर्किएको छ ।”
सरकारको कामको बारेमा पार्टीभित्र कुनै विरोध तथा असन्तुष्टि नरहेको पनि उनले स्पष्ट पारे । उनले भने, “इतिहासमा कसैले गर्न नसकेको काम यो सरकारले गरेको छ ।” महासेठले वर्तमान सरकार कुनै पनि कोणबाट असफल नभएको जिकिर गरे । यद्यपि उनले विकास निर्माण र समृद्धि रातारात हुने कुरा नभएको भन्दै केही समय लाग्ने स्पष्ट पारे ।
निर्माण कार्यमा गलत गर्नेलाई सरकारले कारबाही गरिरहेको पनि उनले स्पष्ट पारे । उनले भने, “पप्पु कन्स्ट्रक्सनलाई नेपालगन्जको पुल ठेक्कामा ५ करोड ७२ लाख जरिवाना गरिसकेका छौं । हामीले त्यो पुल बनाउनेगरि उपाय पनि दिएका छौं । समस्याको समाधान गर्नुपर्छ । सरकार गम्भिर छ ।”
त्यस्तै बर्दियाको जब्दीघाटको पुलबारे समस्याको समाधान गर्नेगरि आफूले कदम चालेको उनले स्पष्ट पारे । उनले भने, “हामीले स्विस र भारतीय विज्ञलाई बोलाएका छौं । उहाँहरू यही चैतभित्र आउँदैहुनुहन्छ । हामी उहाँहरुको राय लिएर अघि बढ्छौं ।”
काठमाडौं कालिमाटीको पुलपनि आफूले गत शुक्रबारमात्रै अवलोकन गरेको मन्त्री महासेठले सुनाए । उनले भने,‘यो पुलमा प्राविधिक गल्ती भएको छ । जस्ताको त्यस्तै हामीलाई यो स्विकार्य छैन् । यसको सम्पूर्ण दोषी निर्माण व्यवसायी हो । कर्मचारीको दोष छैन् । पटक पटक नबनाउन निर्देशन दिँदादिँदैपनि रातिराति बनाए ।’
पुलमा रहेको ‘डिफेक्टिभ पोर्सन’ तोड्ने र त्यसको भुक्तानी निर्माण व्यवसायीबाट नै लिनेपनि उनले जानकारी दिए । बाग्मतीको पुलपनि आफूले भिजिट गरेको बताउँदै सरकारले यसमा विशेष निगरानी गरेको उनको भनाई छ ।
मन्त्री महासेठले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउनेगरि काम गरिरहेको विश्वास दिलाए । उनले भने,‘हामी सबै बालबालिकालाई विद्यालय पठाउँछौं । कसैलाई पनि शिक्षाबाट बञ्चित गराउँदैनौं ।’ त्यस्तै उनले सरकारी चिकित्सकहरु सरकारले खटाएको ठाउँमा जानुपर्ने बताए । उनले भने,‘सरकारले जे निर्णय गरेको छ, त्यो सही छ ।’

प्रतिक्रिया दिनुहोस्