राष्ट्र बैंकको दबाबले नाफामा स्थिरता

कोरोना कहरपछिको असहजताले ब्याज खर्च बढेको तथा स्प्रेडदरमा दबाब पर्र्दै गएर कम भएका कारण चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरूको नाफामा वृद्धि स्थिर देखिएको छ । वाणिज्य बैंकहरूले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार एक दर्जन वाणिज्य बैंकको नाफा घटेको छ । नाफा घटेका कारण २७ वटा वाणिज्य बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५० अर्ब ८९ करोड कमाएका छन् । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा भने बैंकहरूले ५० अर्ब ५९ करोड नाफा कमाएका थिए । चैत मसान्तको वित्तीय विवरणअनुसार १५ वटा वाणिज्य बैंकले नाफा बढाएका छन् भने १७ बैंकको घटेको छ । तर, बैंकहरूको खुद ब्याज आम्दानी भने १३ अर्ब रुपैयाँले बढेको छ । बैंकहरूको कर्जा लगानी बढेको छ भने निक्षेप पनि बढेको छ, जसका कारण खुद ब्याज आम्दानी बढेको हो । चालू वर्षको अधिकांश समय बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या देखिएको छ । तर, अर्कातिर निक्षेपको लागत बढ्दै गइरहेको छ । बैंकहरूले अपरेसनल कस्ट पनि घटाउन सक्ने अवस्था छैन । बैंकहरूबीच देखिएको लगानीको प्रतिस्पर्धाले स्प्रेड रेटलाई पनि संकुचनमा पु¥याएको छ । जसका कारणले उल्लेखनीय रूपमा बैंकहरूले नाफा कमाउन नसकेको देखिन्छ । तर पनि अन्तिम त्रैमासिकमा बैंकहरू ब्यालेन्स सिट सुधार गर्नतर्फ लाग्ने भएकाले निराश हुनुपर्ने अवस्था भने देखिँदैन । बैंकहरूले अपेक्षित रूपमा किन नाफा आर्जन गर्न सकेनन् भन्ने विषयमा कारोबारकर्मी सुमित सुवेदीले बैंकरहरूसँग गरेको कुराकानीको सार :
राष्ट्र बैंकको नीतिले बैंकिङ क्षेत्रको नाफामा दबाब प¥यो
अनलराज भट्टराई
बैंकर
कोरोनापछि जसरी राष्ट्र बैंकले नीतिगत सहुलियतहरू दिएको थियो, ती सहुलियतहरूले सधैं निरन्तरता पाउँदैनन् र केही समयपछि मौद्रिक नीतिलाई सामान्य बनाउनुपर्छ भनेर राष्ट्र बैंकले नीतिहरूमा कडाइ गर्न थालेको छ । यहीबीचमा बैंकिङ क्षेत्रमा विभिन्न दबाबहरू देखिएका छन् । एउटा, कर्जाको माग अति तीव्र रह्यो । तरलताको माग बढ्यो तर सप्लाइ भएन । बैंकिङ क्षेत्रको निक्षेप आउने क्रम घट्दै गयो । कर्जा प्रवाह बढ्ने क्रम अत्यधिक भयो । त्यो दबाबका कारणले बैंकिङ क्षेत्रको नाफामा दबाब प-यो । निक्षेप लिनेमा भन्दा पनि कर्जा दिनेमा लडाइँ भयो । त्यसले गर्दा अघिल्लो वर्ष साढे ३ प्रतिशत रहेको स्प्रेड रेट अहिले साढे २ प्रतिशतमा झरेको छ ।
तर पनि अपेक्षा गरेअनुरूप नाफामा खासै असर भने गरेको देखिँदैन । किनभने बैंकहरूले पहिलो त्रैमासमा ह्वात्तै कर्जामा वृद्धि गरे । सुरुको तीन–चार महिनामा कर्जा प्रवाहमा व्यापक वृद्धि हुँदा ब्याज आय बढ्न गएको देखिन्छ । वर्षको अन्त्यसम्ममा गएको वर्षभन्दा २०-२५ प्रतिशतले नै बढ्ने देखिन्छ । कुल आय पनि बढ्ने देखिन्छ । तर, सोही हिसाबले ब्याज खर्च पनि बढ्न गयो । किनभने तरलताको अभाव भयो । त्यसले गर्दा सेभिङ डिपोजिट कम हुन थाल्यो र फिक्स डिपोजिटमा वृद्धि हुन थाल्यो । त्यसमा पनि ‘इन्ट्रेस्ट सेन्सेटिभ फिक्स डिपोजिट’ कम हुन थाल्यो र लामो समयको फिक्स डिपोजिट बढ्न थाल्यो । सोही समयमा केन्द्रीय बैंकले कल डिपोजिटलाई १० प्रतिशतभन्दा बढी बढाउन पाइँदैन भनेर क्याप लगायो । एकातिर कल डिपोजिट र सेभिङ डिपोजिट घट्दै जाने, अर्कातिर फिक्स डिपोजिटको अत्यधिक वृद्धि हुँदै जाँदा कर्जाको स्प्रेडमा असर प-यो । अहिले केन्द्रीय बैंकले एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्ने भनेको छ, त्यसले डिपोजिटमा केही वृद्धि गर्छ । त्यति ठूलो असर त गर्दैन तर पनि केही हदसम्म खर्च कटौती गर्न सहयोग गर्छ ।
यो वर्षको अन्त्यसम्ममा गत वर्षको तुलनामा केही हदसम्म नाफा वृद्धि हुने देखिन्छ । बैंकहरूले ब्यालेन्स तथा रिकभरिलाई सुधार गर्न वैशाखदेखि नै विभिन्न किसिमका कदमहरू चाल्ने गर्छन् । त्यस कारणले यो वर्षको अन्त्यसम्ममा नाफा १२ प्रतिशतभन्दा माथि हुने देखिन्छ । ‘आरओई’ अघिल्लो वर्षको भन्दा धेरै हुने देखिन्छ । तर, राष्ट्र बैंकले भनेझैँ निक्षेप भने वृद्धि हुँदैन । कस्ट अफ फन्ड बढ्ने, कर्जाको प्रोभिजन पनि बढ्ने देखिन्छ । लोन लस पनि केही माथि पुग्ने देखिएको छ । त्यो हुँदाहुँदै पनि यो वर्षको प्रोफिटाबिलिटी १२ प्रतिशतभन्दा माथि पुग्ने अनुमान लगाउन सकिन्छ ।
तर, बैंकिङ क्षेत्रमा जोखिम भने बढ्दै गइरहेको छ । कोरोनाको बीचमा पुनरुत्थानका लागि राष्ट्र बैंकले २ सय अर्ब जतिको पुनर्कर्जाको व्यवस्था ग-यो । सट टर्म मनि मार्केटमा पनि खर्बौं रुपैयाँ लगानी भएको छ । यसको अर्थ अहिले बैंक छोटो अवधिको पुँजीबाट सञ्चालन भइरहेका छन् । त्यसले एकातिर तरलता कायम राख्न दबाब सिर्जना गर्छ भने अर्कातिर कर्जा दिन सक्ने क्षमता पनि कम हुन्छ ।
कोरोनापछि १४ सय अर्ब कर्जा प्रवाह भएको छ । अघिल्लो वर्ष ८ सय अर्ब गएको थियो । यो वर्ष ५ सय अर्ब गएको छ । पैसा त गयो, तर त्यसका लागि ६ सय अर्ब इक्युटी सिर्जना हुनुपथ्र्यो । तर, त्यो सिर्जना भएन, किनकि केन्द्रीय बैंकले कर्जा थप्न सक्छौँ, ब्याज तिर्नु पर्दैन भन्यो । त्यसैले इक्युटी सिर्जना भएन । त्यसैले अब ‘डेप्थ टु इक्युटी’ रेसियो सन्तुलन गर्नुपर्छ । एकातिर निक्षेप सिर्जना भएन, अर्कातिर कर्जादाताले इक्युटी सिर्जना गर्नुपरेन । अहिले जोखिम उच्च हुँदाहुँदै पनि यसले नाफा बढाएको छ, तर अर्को वर्ष जोखिममा जान सक्ने देखिन्छ । तर, समय भएकाले त्यसलाई व्यवस्थापन गर्न सकिन्छ ।
अघिल्लो वर्षको तुलनामा नाफा बढेकै छ
परशुराम कुँवर
बैंकर
चौथो त्रैमासिकमा बैंकहरूको नाफा राम्रो हुने देखिन्छ । किनभने चौथो त्रैमासिकमा रिकभरिको कुरा आउँछ । बैंकहरू त्यसैमा केन्द्रित भएका हुन्छन् । प्रभिजन, राइट ब्याकहरूको काम हुन्छ । त्यसले गर्दा चौथो त्रैमासिकमा नाफामा केही वृद्धि हुन्छ ।
तेस्रो त्रैमासिकको कुरा गर्दा पनि खासै नाफा घटेको भन्ने होइन । अघिल्लो वर्षको तुलनामा केही नाफा बढेकै हो । तर, सरसर्ती हेर्दा जति लागत बढेको छ, त्यसअनुसारको नाफा भने भएको देखिँदैन ।
अर्को कुरा, राष्ट्र बैंंकले विभिन्न सर्तहरू ल्याएको छ । त्यसले पनि धेरै नाफा गर्ने अवस्था रहँदैन । जसका कारण ‘रिटर्न अन इक्युटी’ पनि १२÷साढे १२ प्रतिशतको हाराहारीमा मात्र हुने गरेको छ । दोस्रो त्रैमासमा पनि त्यति नै थियो, अहिले पनि त्यसैको हाराहारीमा होला र अर्को महिनामा पनि त्यस्तै रहने देखिन्छ । मानिसहरूले बैंकले अर्बौं रुपैयाँ कमाए भनेको सुनिन्छ । तर, कति नाफा ग¥यो भन्ने कुरा त पुँजीको तुलनामा हेर्नुपर्ने हुन्छ । जुन १२-साढे १२ प्रतिशतमात्रै हो ।
अहिले तरलताको समस्या पनि देखियो । जसका कारणले कर्जा विस्तार हुन पाएन । तर, बैंकको लागत भने बढेको बढ्यै छ । त्यसअनुसार नाफा बढाउन सकेको छैन । अपरेटिङ कस्ट बढेको छ । जति प्रतिशतले बढेका छन्, त्यो प्रतिशतले शुल्कहरू बढेका छैनन् । त्यसकारणले अघिल्लो वर्षको तुलनामा ०.५ प्रतिशतको हाराहारीले मात्र नाफा बढेको हो । यसमा स्प्रेड रेटका कारणले पनि केही असर गरेको होला ।
लगानी विस्तार गर्न सकेका छैनौं
अनिल उपाध्याय
अध्यक्ष, नेपाल बैंकर्स एसोसिएसन
तरलताको समस्या छ, निक्षेपको लागत बढिरहेको छ, प्रणालीगत खर्च पनि घटाउन सक्ने अवस्था छैन । स्पेड रेट संकुचनमा छ । ‘मार्जिन लेन्डिङ’मा ट्रेडिङ साइड पनि खुम्चिएको छ । योलगायत एडिसनल प्रोभिजन थपिएका कारणले पनि हामीहरूले उल्लेखनीय नाफा गर्न सकेनौँ । विगतमा पुनर्तालिका तथा पुनर्संरचना गरेर म्याद थपिएको थियो । त्यो म्याद सकिनेबित्तिकै असुली हुने कुरा पनि भएन । त्यसैले सोचेको प्रगति हुन सकेन तर त्यसो भन्दै गर्दा निराश हुनुपर्ने अवस्था पनि छैन । आउँदो असारमा सुधार हुन्छ ।
कोभिडको यस्तो संकटको समयमा टिक्नु नै ठूलो कुरा हो । प्रतिफल कुनै ठूलो कुरा होइन, हामीहरू टिक्नुपर्छ, पोर्टफोलियो मेन्टेन गर्नुपर्छ । त्यति गर्न सकियो भने आगामी दिनमा तीव्र गतिको मुनाफा गर्न सक्छौं ।
अहिले हाम्रो लगात बढेको बढ्यै छ । त्यो अनुपातमा कर्जाको ब्याजदर वृद्धि गर्दै गएको भए उच्च ब्याजमा कर्जा प्रवाह गर्नुपर्ने हुन्थ्यो । कतिपय स्थिर ब्याजदर छन् । १ सय ४० अर्ब जति त पुनर्कर्जा छ । त्यसमा स्प्रेड दर कम छ । शुल्कहरूको आम्दानी घटेको छ । त्यसले आम्दानी घटाएको छ तर, निराश भने बनाएको छैन । अघिल्लो वर्षको तुलनामा नाफा केही बढेकै हो । अघिल्लो वर्ष व्यापारमा मार्जिन लेन्डिङ राम्रो थियो । त्यतातिर राम्रो कारोबार थियो । पछिल्लो समयमा हामीहरूले लगानी विस्तार गर्न सकेका छैनौँ । भएको लगानीबाट मेन्टेन गर्नुपर्ने कारणले पनि सबै जनाले परिस्थितिजन्य अवस्थालाई सम्बोधन गर्दै नै अगाडि बढ्ने हो ।
अहिले होलटहरू पनि चलिरहेका छन् । आर्थिक गतिविधिहरू पनि बढिरहेका छन् । पर्यटकहरू पनि आइरहेका छन् । पछिल्लो महिना रेमिट्यान्स पनि बढेको छ । अन्तिम महिनाहरूमा पुँजीगत खर्च पनि बढ्ने भएकाले आउँदा महिनाहरूमा अझ हाम्रो अर्थतन्त्र चलायमान हुन्छ । अहिले एलसी रोकेको छ । त्यसले पनि कारोबारमा असर गरेको छ । लगानी विस्तार भएको छैन । त्यसले अलिकति संकुचन ल्याए पनि अघिल्लो वर्षभन्दा नाफा बढी नै हुन्छ । स्प्रेड रेटको कारणले पहिले–पहिले जस्तो प्रतिफल आउने अवस्था नरहन सक्ला । यसलाई कसरी सुधार गर्ने भन्ने कुरामा बैंकहरू क्रियाशील नै छन् ।
खर्च बढेका कारण ब्याज आम्दानी पनि कम भएको छ
कृष्णप्रसाद शर्मा
बैंकर
तेस्रो त्रैमासिकको रिपोर्ट हेर्दा बैंकहरूको व्यवसायमा पनि खासै वृद्धि देखिँदैन । ब्याज खर्च बढेका कारण ब्याज आम्दानी पनि कम भएको देखिन्छ । त्यसैले पनि त्यति उत्साहित रूपमा नाफा बढेको छैन । तर, अलि–अलि नाफा गरेकै छन् । त्यति आसलाग्दो अवस्थामा पनि छैन, त्यति बिग्रिएको अवस्थामा पनि छैन । पछिल्लो समयमा बैंकको ब्याजदर घट्न सकेन । ब्याजदर घट्न नसकेका कारणले व्यवसायहरू पनि प्रभावित भए । बैंकहरूलाई पनि महँगो ब्याजदर हुँदा ग्राहकहरूसँग धेरै स्प्रेड लिन सक्दैन । त्यसले गर्दा बैंकको नाफा पनि प्रभावित हुन्छ ।
यो समयमा भाका नाघेको कर्जाकोे प्रतिशत घटेको छ । अघिकांश बैंकले यो कर्जालाई घटाउन सफल भएका छन् । त्यसले गर्दा पनि केही नाफामा प्रभाव परेको होला । नाफा त्यति उत्साहित नभए पनि औसतमा १०-१५ प्रतिशत लाभांश दिन सक्छन् कि जस्तो देखिन्छ । तर, हामीहरूले चैतपछि तरलतामा वृद्धि होला भन्ने जुन अनुमान गरेका थियौँ, त्यो समाधान हुने भने देखिएन । किनकि सीडी रेसियो पनि खासै घटिसकेको छैन । असारमा त बैंकहरूले ९० प्रतिशतमा सीडी रेसियो पनि ल्याउनुपर्ने हुन्छ ।
सरकारी खर्च बढ्छ भन्ने थियो । तर, अहिलेसम्म त्यस्तो अवस्था देखिएको छैन । चुनाव आउँदै छ । त्यसको मुखमा पनि तरलताको समस्या नै हुनेछ । त्यसपछि पनि त्यो रकम घुम्दैफिर्दै बैंकमा आउन समय लगाउँछ । चुनाव भएका कारणले सरकारी खर्च पनि त्यति बढ्दैन । स्थानीय प्रमुखहरू चुनावमा होमिएका छन् । कर्मचारीहरू पनि चुनाव गराउन लागिपरेका छन् । त्यसले गर्दा असारसम्म विकासका कामहरू त्यति चर्को रूपमा हुन्छन् जस्तो लाग्दैन । रेमिट्यान्स पनि ह्वात्तै बढ्ने देखिँदैन । निर्यात बढाउने लक्षण पनि देखिँदैन । आयातमा चाप परिरहेको छ । त्यसले तरलता र विदेशी मुद्राको संचितिमा अझै पनि चाप पर्ने देखियो । त्यसकारणले असारसम्म यथास्थितिमा रहन्छ कि जस्तो लाग्छ ।
अघिल्लो वर्षको तुलनामा २-३ प्रतिशत नाफा घट्छ कि जस्तो लाग्छ । किनकि ब्याजदरको स्प्रेड रेट फरक पर्दै गइरहेको छ । कारोबार बढे पनि स्प्रेड रेट घट्दै गएको देखिन्छ । बैंकहरूले पनि आफ्नो व्यवसायलाई थाम्ने गरी सस्टेनएबल मोडलतिर लागेको देखिन्छ ।