Logo

कार्बन उत्सर्जन कम गर्न हरियाली अभियान

दैलेख- जलवायु अनुकुलन वातवरणमा कार्बन उत्सर्जन कम गर्नुका साथै आर्थिक समृद्धिका लागि दैलेखको दूललु नगरपालिकाका कृषकलाई हरियाली अभियानमा उत्प्रेरित गर्न थालिएको छ । हरित कृषि प्रविधिले जलवायु स्वंयम वातावरणमैत्री कृषि पद्दतिमार्फत कृषि गतिविधिहरुबाट निस्कने हरितगृह ग्यास उत्सर्जन कम गर्ने उद्देश्यले व्यावसायिक प्राङ्गारिक मसलाबाली खेतीको अभियान थालिएको हो ।
जलवायु अनुकुलन खेती गरी खाद्य सुरक्षामा सहयोग पु-याउने किसिमका क्रियाकलाप गरी आर्थिक समृद्धिमा टेवा पु-याउन अदुवा र बेसारको बीउ वितरण गरिएको परियोजनाले जनाएको छ । यस प्रविधिले कृषि उत्पादनलाई दिगो रुपमा बढाउन सहयोग गर्ने र खाद्य तथा पोषण सुरक्षालाई टेवा पु-याउने कृषि प्राविधिक संगम बिस्टले बताइन् ।
सुख्खा डाडामा रहेका बाँझा जमिनलाई सदुपयोग गरी वेसार अदुवा लागाएर हरियाली गाउँ बनाउने योजना रहेको प्राविधिक विष्टको भनाइ छ । “हरित कृषि व्यवसाय, जसमा हरितगृह ग्यासको उत्सर्जन कम गर्नुका लागि कृषकलाई यस अभियानमा उत्प्रेरित गरेका छौं” प्राविधिक विष्टले भनिन्, “साथै जलवायू अनुकुलन कृषि प्रविधिको प्रयोग गरी खाद्य सुरक्षा र आथिक समृद्धिका लागि सहयोग गर्दै आएका छौं ।”
मसला बालीका लागि व्यक्तिगत फर्म तथा सामुहिक खेतीका लागि कृषि समुह र उद्यमशिल विद्यालयलाई अदुवा र बेसार उपलब्ध गराइएको सो क्षेत्रमा काम गर्दै आएको स्थानीय संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले जनाएको छ । युरोपियन युनियनको सहयोग तथा सोसेक नेपाल, डीसीए नेपाल, लिवर्डको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ । परियोजनाले व्यक्तिगत फर्म, कृषि समुह तथा विद्यालयलाई १८ क्वीन्टल अदुवा र १२ क्वीन्टल बेसारको बीउ वितरण गरेको छ ।
दुल्लु नगरपालिका–२ को भानुमनु कृषि फलफूल तथा पशुपंक्षी फर्मलाई ६ क्वीन्टल अदुवा र एक क्वीन्टल बेसार, खड्का कृषि तथा पशुपंक्षी फर्मलाई दुई क्वीन्टल अदुवा र दुई क्वीन्टल बेसार उलब्ध गराइएको छ । नरेश्वर उद्यमशिल विद्यालयलाई ६ क्वीन्टल अदुवा र ६ क्वीन्टल बेसारको बीउ प्रदान गरिएको छ । यस्तै दुल्लु नगरपालिका–९ को पिपल चौतारी कृषि समुहलाई ४ क्वीन्टल अदुवा र ३ क्वीन्टल बेसारको बीउ उपलब्ध गरिएको छ ।
दुल्लु नगरपालिकाका विभिन्न वडाका किसानलाई उन्नत जातका तरकारीका बीउहरु समेत वितरण गरिएको छ । गोलभेंडा, सिमी, भिन्डी, भान्टा, खुर्सानी, काँक्रो र करेलाको बीउ किसानलाई दिइएको हो । दुल्लु नगरपालिकाभित्रका विभिन्न कृषि समुह र छलफल चौतारीमा आवद्ध २ सय किसानलाई बीउ वितरण गरिएकोछ । दुल्लु नगरपालिका–४ को भण्डारी टोल कृषि समुहका ३०, सानगाएँ नागरिक छलफल चौतारीका १७, दुल्लु नगरपालिका–३ को सियाँला नाउली कृषि समुहका १८ र कृष्ण विकास कृषि समुहका ३० जना किसानलाई बीउ वितरण गरिएको छ ।
यसैगरी दुल्लु नगरपालिका–२ को हरियाली कृषि समुहका ३२ जना, भैरवस्थान कृषि समुहका ३० जना किसानलाई बीउ वितरण गरिएको छ । दुल्लु नगरपालिका–१ को जनचेतना कृषि समुहका ३५, मण्डा नागरिक छलफल चौतारीका १७ र दुल्लु नगरपालिका–५ को तरियाँ बेमौषमी तरकारी उत्पादन समुहका २० जना किसानलाई तरकारीका बीउ वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्