लोडसेडिङ गराउने मविरुद्ध लागे : कुलमान «

लोडसेडिङ गराउने मविरुद्ध लागे : कुलमान

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोडसेडिङ गराउने आफूविरुद्ध संगठित रूपमा लागेको आरोप लगाएका छन् ।
ट्रक लाइन लिएका पाँच उद्योगले महशुलवापत बुझाउनेपर्ने करिब ४ अर्ब मिनाहा प्राधिकरण व्यवस्थापन लागेको तथा कार्यकारी निर्देशकले वार्षिक ६० लाख भत्ता बुझेको लगायतका केही सञ्चारमाध्यममा सार्वजनिक भएपछि त्यसबारे स्पष्ट पार्न सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले कार्य सम्पादन ८० प्रतिशतभन्दा बढी भएकोले राम्रो कामवापतको थप नियमअनुसार नै २४ लाख भने पाएको उनले बताए । “कुनै पनि हालतमा विद्युत् महशुल मिनाहा हुँदैन, हालसम्म मैले ६० लाख भत्ता लिएको छैन, हेर्दा वर्षभरि कानुनी रूपमै जम्मा ६ लाख जति लिएको रहेछु,” उनले भने, “लोडसेडिङ हटाएको र प्राधिकरण नाफामा गएको देख्न नसकेर लोडसेडिङ गराउने समूह मविरुद्ध कु प्रचारमा लागेको छ ।” उनले को व्यक्ति कसरी र किन कुप्रचारमा लागिरहेको भने खुलाउन चाहेनन् । उनले ती व्यक्तिबारे आफूसँग सबै प्रमाण रहेको आक्रोश व्यक्त गरे ।
चार अर्ब तिर्नुपर्ने उद्योगका व्यवसायी जनकपुर उच्च अदालतमा गएको र अदालतले तत्काललाई नलिनु भनेपछि विद्युत् प्राधिकरण त्यसविरुद्ध सर्वोच्च अदालत गएको थियो । ट्रक लाइन र डेडिकेटेड फिडरका ग्राहकले दोब्बर महशुल तिर्नुपर्ने व्यवस्था रहेकोमा व्यवसायीले आफूहरूले ट्रक लाइनका लागि निवेदन नदिएको तर प्राधिकरणले दोब्बर दस्तुर लिएकाले त्यो बराबरको रकम मिनाहा गर्नुपर्ने भन्दै माथिल्लो तहमा दबाब दिँदै आएका छन् । यसबारे विद्युत् प्राधिकरणभित्र विवाद देखिएको छ । यसबारे प्राधिकरण सञ्चालक समितिले निर्णय गर्न लागेको भन्दै विरोध भएको र त्यसमा घिसिङसमेत मुछिएको सार्वजनिक भएपछि उनले मिनाहा गर्ने कुनै मनसाय नरहेको बताएका छन् । पहिला लोडसेडिङको अवस्थामा रहेका ट्रक लाइन र डेडिकेटेड फिडरलाई आगामी दिनमा कसरी अघि बढाउने भनेरमात्र प्राधिकरण बोर्ड बैठकमा छलफल भइरहेको तर मिनाहाबारे कुनै छलफल नै नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्