विदेशबाट उद्धार गरिएका श्रमिकसँग श्रममन्त्रीको छलफल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकसँग आवासगृहमा पुगेर जानकारी लिएका छन् ।
आइतबार काठमाडौंको बसुन्धरास्थित प्रवासी नेपाली समन्वय समितिको आवासगृहमा मन्त्री श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरुसँग विदेशी भूमिमा नेपालीले भोगेका समस्याको कारण र समाधानका उपायबारे छलफल गरेका हुन् । मन्त्री श्रेष्ठले विदेशमा अलपत्र वा समस्यामा परेका नेपालीलाई संरक्षण गरी स्वदेश फर्काउने विषयलाई आफूले उच्च प्राथमिकता दिएकोसमेत बताए । नेपाली श्रमिकको न्यायमा पहुँच तथा क्षतिपूर्ति सुनिश्चित गर्न रोजगारदाता, सरकारी निकाय, श्रमिक र म्यानपावर कम्पनीलाई जिम्मेवार बनाउनुपर्ने मन्त्री श्रेष्ठले बताए । मलेसियामा लामो समय गैरकानुनी हैसियत भएर बसेका, तलब भुक्तानी नपाएका, रोजगारीबाट निस्कासन गरिएका र जेलमा रहेका गरी १० जना श्रमिकलाई उद्धार गरी नेपाल ल्याइएको थियो ।
मन्त्री श्रेष्ठले विदेशमा नेपाली श्रमिकले भोगेको समस्या समाधानका लागि सम्वन्धित देशको सरकारसँग कुरा गर्ने जानकारी दिए । मन्त्री श्रेष्ठले उद्धार गरिएका श्रमिकलाई नेपालमै स्वरोजगार बन्न र विदेश जानै परे सीप सिकेर तथा सबै प्रकृया बुझेर जान आग्रहसमेत गरे । रोजगारदाता कम्पनी, कामदार पठाउने म्यानपावर कम्पनी तथा कामदार आफ्नै कारणले पनि धेरै नेपाली विदेशी भूमिमा अलपत्र पर्ने गरेका छन् ।