आम्दानी हुँदाहुँदै भेडीगोठ मासिँदै «

आम्दानी हुँदाहुँदै भेडीगोठ मासिँदै

ताप्लेजुङ-सिरिजंगा गाउँपालिका–८ याम्फुदिनका मोहन गुरुङले बाजेको पालादेखिको भेडापालन व्यवसाय यसवर्षदेखि टुंग्याए । ६० वर्षीय गुरुङले बाल्यकालदेखि नै यतिका उमेर भेडापालनमै बिताए । खोलाको तिरदेखि हिमालको फेदसम्मको गोठ जिन्दगीबारे उनले भने, “२ जना गोठाला र रेखदेखका लागि पालिएका ३ वटा कुकरसहित करिव ३ सय भेडा पालेका थियौं । राम्रो आम्दानी भएर पनि रहरले नभई बाध्यताले भेडीगोठ छाड्यौं ।”
फुङलिङ नगरपालिका–११ स्थित फावाखोलामा विष्ट परिवार भन्ने वित्तिकै एकताका भेडीगोठको मालिक भनेर चिनिन्थे । करिब आधा दर्जन संख्यामा रहेको विष्ट परिवारको भेडीगोठ पछिल्लो १० वर्षमा रित्तिएको छ । ५५ वर्षीय पुर्ण विष्टले ९ वर्षको उमेरदेखि यतिका उमेरसम्म भेडीगोठमा जीवन गुजारे । नुनदेखि सुनसम्म खरिद गर्ने आम्दानीको स्रोत भेडीगोठ यसवर्षदेखि गर्न छाडे । २-४ वर्षअघिसम्म सदरमुकाम नजिकका क्षेत्रसम्म भेडीगोठ हेर्न पाइन्थ्यो । तर अहिले भेडीगोठ दुर्लभ बन्दै गएको छ । जिल्लामा कति संख्यामा भेडीगोठ छन् भन्ने यकिन तथ्यांक नै छैन ।
फुङलिङ नगरपालिका–६ का हर्कराज गुरुङ भेडीगोठ अध्ययनका लागि १ दिन खर्चिएर मुस्किलले थेचम्बुस्थित मसिने जंगल पुगे । डकुमेन्ट्री बनाउनका लागि पूर्वतयारी स्वरूप भेडीगोठ पुगेलगत्तै उनको क्यामेरा भेडातिर सोझिए । गुरुङले भने, “भेडीगोठ गुरुङ समुदायसँग जोडिएको पशुपालन व्यवसाय हो । डकुमेन्ट्री बनाउने निधो त ग-यौं, तथापी गोठ नै पाउन मुस्किल बन्यो ।” भेडीगोठ भएर नभई नभएर नल्याइएको भेडापालन व्यवसायी कमल विष्टले जानकारी दिए ।
फुङलिङ नगरपालिका–११ फावाखोलाका २५ वर्षीय विष्टका अनुसार दर्जनौं भेडीगोठ मासिएका छन् । पछिल्लो ५ वर्षको अवधिमा धेरैले आफ्नो भेडीगोठ सिक्किमतिरका व्यवसायीलाई बेचेका छन् । अब भएकाले पनि बेच्ने मनसाय बनाएका छन् । विष्टले भने, “हिउँद न वर्खा गोठमा साँच्चिकै दुःख हुन्छ । सायद त्यही भएर होला आम्दानी भएर पनि युवा पुस्ताको रुची छैन् ।” भेडाको पाठापाठीबाट राम्रो आम्दानी हुन्छ । एउटा भेडापाठाको मूल्य कम्तिमा ९ हजार पर्छ । भेडाको ऊन र घीउ महँगो पर्छ । पाठापाठी दिन नसक्ने माउ र बुढो साढ मासुका लागि बिक्री हुन्छ । खसीको तुलनामा भेडाको मासु स्वास्थ्यवद्र्धक मानिन्छ । अलिक चिसो भए पनि भेडाको मासु कमलो हुन्छ । बीए पास भेडीगोठाले भनि सम्बोधन गर्दा आफूलाई कुनै दुःख नलाग्ने गरेको बताउने विष्टले भने, “मैले त विदेश नजाने अठोट गरेर भेडीगोठ पेसा नै रोजेको हुँ । दुःख सुख भोग्न सके कम आम्दानी छैन ।” करिब ३ सय भेडाबाट वार्षिक ७ लाख आम्दानी हुन्छ । वार्षिक डेढ सयभन्दा बढी भेडापाठा विक्री गर्छन् । वर्षमा दुई पटक उन काटेर बिक्री गर्ने गरेका छन् । गोठमा संख्या बढाउन पाठी भने बिक्री गर्दैनन् ।
मंसिर–पुससम्म साविकका गाविसहरू फावाखोला, तिरिङे, फरुम्बु, लिङखिम र थेचम्बुका माथिल्लो भेग भेडाको चरन क्षेत्र बन्थ्यो । जंगल भेडाको भ्या भ्या …..आवाजले गुन्जिन्थ्यो । ठाउँ–ठाउँमा मालिङ्गोको चित्रा ओढाइएको गोठ हुन्थ्यो । चुल्होमा ननिभ्ने गरी आगोको माउ राख्ने गरेकाले धुँवा उडिरहेको देखिन्थ्यो । गोठको रेखदेख गर्न पालिएको भोटे कुकुरको (ठूलो कुकुरलाई स्थानीय भाषामा भनिने नाम) आवाजले बाटो हिँड्नेको मनमा ढुकढुकी बढ्थ्यो । हिउँदको बेला गुरुङ समुदायका मानिस भेडापाठा खरिद गर्न जान्थे । हुनेले पैसामा किन्थे नहुनेले अन्नसँग साट्थे । डोकोमा नुन, कोदो, मकै र चामल तथा राडीपाखी बोकेर जान्थे । फर्कंदा आफ्नो सामथ्र्य अनुसार रङ मिलेको सेतो र कालो भेडापाठा ल्याउँथे । कतिले त गोठालाका लागि भेडाको ऊनले बुनेको कोटसँग (चुङा) पाठा साट्थे । हातले बुनेको भेडाको ऊनद्वारा निर्मित कोट कम्ता गजब्बको हुँदैन् । साउने झरी सजिलै छल्छ ।
फुङलिङ नगरपालिका–४ का ४५ वर्षीय कृष्णकुमार गुरुङको घरमा २-४ वटा भेडा पालिएकै हुन्थ्यो । बाजेको पालादेखि भेडा पाल्दै आएका गुरुङको घरमा पहिलो पटक यसवर्ष भेडा पाल्नका लागि बनाइएको भगरा रित्तो बनेको छ । उनले भने, “भेडा नहुँदा गुरुङको घर भन्न पनि असजिलो हुँदोरैछ । आधा चैत वित्न लाग्दासमेत सधै बेच्न ल्याउनेले भेडापाठा नल्याउँदा भगरा रित्तो बन्यो ।” पूर्वका गुरुङ समुदायले दसैं, तिहार र ल्होसार धुमधामसँग मनाउँछन् । दसैका लागि भनेर प्रायले एकजोडी भेडा पाल्छन् । जोडी पाल्नुका कारण एउटा दसैंमा खान र एउटा बेच्न । एउटाले साउ उकास्ने र अर्को सालको लागि पाठा खरिद गर्न पैसा जोहो गर्ने चलन हुन्छ ।
सामुदायिक वनको समस्या, युवापुस्ताको रुची नहुनु र राज्यको सहयोग अभावमा भेडापालन व्यवसाय संकटमा पुगेको छ । यही रफ्तारमा मासिँदै जाने हो भने अबको ५-१० वर्षमा भेडीगोठ नाममात्रको हुने अवस्थामा पुग्ने छ ।

देवराज गुरुङ

प्रतिक्रिया दिनुहोस्