नमूना कृषि गाउँ छनोट «

नमूना कृषि गाउँ छनोट

गोरखा- गण्डकी प्रदेश सरकारले गोरखाका चार गाउँमा ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ’ कार्यक्रम लागू गर्ने भएको छ । जिल्लाको चारवटा प्रदेश निर्वाचन क्षेत्रबाट एक-एक गाउँ नमुना गाउँका रूपमा छनोट गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । जस अनुसार गण्डकी गाउँपालिका–१ वटडाँडा चेपाङ वस्ती, भिमसेन थापा गाउँपालिका–४ वगुवाको रीठ्ठेपानी, बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी र पालुङटार नगरपालिका–५ -याले गाउँ मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँका लागि छनोट भएका हुन् । प्रदेश सांसद र कृषि ज्ञान केन्द्रको सिफारिसमा नमूना गाउँ छनोट गरिएको हो ।
कृषि तथा पशुजन्य उत्पादनको व्यवसायीकरणको सम्भावना भएको, जैविक विधिताको प्रवद्र्धन, प्राङ्गारिक, पर्यावरणीय कृषि र कृषि पर्यटनको सम्भाव्यता भएको स्थान छनोट गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले जानकारी दिए । “छनोट भएका गाउँमा स्थानीयको आवश्यकता र मागका आधारमा कार्यक्रम सञ्चालन हुन्छ,” उनले भने, “सहकारी तथा कृषि समूहमार्फत कार्यक्रम कार्यान्वयन गर्छौं ।”
कृषि उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको उनको भनाइ छ । “भूगोल र हावापानी अनुसार कृषि उत्पादन गर्ने कार्यक्रम हो,” उनले भने, “उत्पादन, प्रशोधन र बजारीकरणलाई यसले जोड दिएको छ ।” नमूना गाउँमा कम्तिमा ५० घरधुरी समेटिनेछन् । यो कार्यक्रमले कृषि क्षेत्रको दिगो विकास, स्थानीय स्रोतसाधनको व्यवस्थापन, उत्पादन, उत्पादकत्व र गुणस्तरमा वृद्धि, समुदायस्तरमा कृषि क्षेत्रको वातावरणीय जोखिम न्यूनीकरण गर्दै ग्रामीण कृषक समुदायको दिगो खाद्य सुरक्षा सुनिश्चितता गर्ने मन्त्रालयले जनाएको छ ।
गाउँका सवैलाई सहकारीमा आबद्ध गराई कार्यक्रम सञ्चालन हुने मन्त्री थापाले जानकारी दिए । “कृषिसँगै होमस्टेमा पनि जोड दिइनेछ,” उनले भने, “आधुनिक मोडलमा गाउँलाई विकास गरिनेछ । जहाँ लगानीको सम्भावना पनि रहोस्, अन्यत्रबाट लगानी भित्रियोस् ।”
मन्त्रालयका अनुसार प्रत्येक नमुना गाउँलाई यो वर्ष पहिलो चरणमा ३० लाख रूपैयाँ अनुदान उपलब्ध गराइनेछ । दोस्रो वर्ष १५ लाख र तेस्रो वर्ष साढे सात लाख रूपैयाँ अनुदान दिइनेछ । प्रविधि, पूर्वाधार वा बीउका रूपमा अनुदान उपलब्ध गराइने मन्त्री थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्