नयाँ वर्षको सुरुवात आध्यात्मिक उत्सवबाट «

नयाँ वर्षको सुरुवात आध्यात्मिक उत्सवबाट

वैशाख १ गते अर्थात् नयाँ वर्षको सु–अवसर पारेर काठमाडौंको टुँडिखेलमा हजारौं संन्यासी तथा गैरसंन्यासीहरूले एकैसाथ आध्यात्मिक उत्सवका साथ नयाँ वर्षको स्वागत गरेका छन् । ओसो तपोवन र ओम मिडिया नेपालको सहकार्यमा आयोजना भएको उत्सवमय नयाँ वर्षको स्वागत कार्यक्रमले जीवनलाई आनन्दित बनाउन ध्यान, नृत्य तथा गायन पनि प्रस्तुत गरेको थियो । अभियानमा ध्यान, नृत्य र संगीतले महोत्सवमा उपस्थित हजारौं व्यक्तिमा सकारात्मक ऊर्जा सम्पे्रषण गरेको थियो । बोधिसŒव स्वामी आनन्द अरुणले हजारौं मानिसलाई सामूहिक ध्यान गराउनुभएको थियो । उपस्थित हजारौंले मरुन कपडा लगाएर ध्यान गर्नुका साथै मनलाई आनन्दित गर्न विभिन्न सांगीतिक नृत्यमा नाचेर रमाइरहेका थिए ।
सो कार्यक्रममा प्रमुख अथिति सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थिति थियो भने मञ्चमा विभिन्न शीर्ष व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा टीबीआई ग्रुपका अध्यक्ष भवन भट्ट (स्वामी आनन्ददेव), नेपालका प्रख्यात हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, कुटुम्ब ब्यान्डलगायतको सहभागिता रहेको कार्यक्रममा दुईवटा ड्रोनको माध्यमबाट काष्ठमण्डप टेलिभिजनले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो । यस्तै, मिडिया पार्टनरहरूमा कारोबार राष्ट्रिय आर्थिक दैनिक, अनलाइनमा रातो पार्टी डटकम, ओम मिडिया नेपाल, काष्ठमण्डप टेलिभिजन, इमेज एफएमलगायतको भूमिका रहेको थियो ।
कार्यक्रममा मैले केही आध्यात्मिक व्यक्तिहरूलाई सोधेको थिएँ, “आज टुँडिखेलमा आएर यसरी सामूहिक रूपमा ध्यान नृत्य गर्दा कस्तो अनुभव प्राप्त गर्नुभयो ?” आध्यात्मिक ध्यानमा केन्द्रित भएका केही ध्यान योगीहरूलगायत सबैले नयाँ वर्षको नयाँ ढंगले स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा उपस्थित उपेन्द्र वनले रमाइलो तरिकाले नयाँ वर्षको दिन सुरुवात गर्न पाउँदा उमंगका साथै सकारात्मक ऊर्जा पाइएको बताए । धेरैको भनाइमा मन आनन्द भएको, मनलाई मात्र होइन पूरै शरीरसमेत स्फूर्ति भएको महसुस भएको रोमाञ्चक अनुभूति भएको अनुभव थियो । वास्तवमा हरेक दिन ध्यान गर्दा हामीलाई धेरै रोग लाग्नबाट बचाउँछ । सकारात्मक सोचका साथ सुकर्मको बाटो हिँड्न सहयोग पु-याउँछ ।
नयाँ वर्षका दिन नयाँ उमंगका साथ ध्यान, नृत्यका साथ सकारात्मक ऊर्जा ग्रहण गर्दा वर्षभरि नै सकारात्मक जीवन जीउन सकिने अनुभव धेरैको थियो । ध्यान तथा योगले शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार आउने तथा ध्यान, नृत्यले जीवनमा लय आउने गर्छ । किनकि ध्यान र साधना नै यस्तो औषधी हो, जसले धेरै रोगहरूको उपचार गर्न मद्दत गर्छ । नेपालको आध्यात्मिक अध्यायमा २०७९ वैशाख १ स्वर्णिम अक्षरमा लेखिनेछ । नेपाल तपोभूमि हो, देवभूमि हो, धर्मभूमि हो । नेपालले आफ्नो देवभूमिको गरिमा, तपोभूमिको गरिमा पुनः प्राप्त गर्न लागेको दिन वैशाख १ गते स्वर्णिम दिन भएको बोधिसत्व आनन्द अरुणले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्