७ बुँदे घोषणापत्रसहित बौद्ध सम्मेलन सम्पन्न «

७ बुँदे घोषणापत्रसहित बौद्ध सम्मेलन सम्पन्न

लमजुङमा आयोजना गरिएको १२ औँ राष्ट्रिय बौद्ध सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सम्मेलनबाट बौद्ध धर्म र संस्कृतिको संरक्षणका लागि विभिन्न सात बुँदे घोषणापत्र जारी भएको हो ।
घोषणापत्रमा संविधानमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी एकता, सामाजिक सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्ने संकल्प गरिएकोमा बौद्ध तथा जनजाति समुदाय गौरव अनुभूति गरेको जनाइएको छ ।
संविधानमा नेपाललाई धर्मनिरपेक्ष, समावेशी, संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनी परिभाषित गरिएकोमा बौद्ध समुदायले घोषणापत्रमार्फत् आभार व्यक्त गरेको छ । धर्मनिरपेक्ष घोषणा भइसकेको अवस्थामा राज्यले धर्मको आधारमा कुनैपनि समुदाय वा सम्प्रदायलाई विभेद नगर्न आग्रह गरेको छ ।
घोषणापत्रमा बुद्ध जन्मस्थल लुम्बिनीको महत्वलाई प्राथमिकता दिँदै थप विकास, संरक्षण र प्रवद्र्धनका लागि नेपाल सरकारले विशेष पहल गर्नुपर्ने माग गरिएको छ । बुद्धका उपदेश तथा बौद्ध शिक्षालाई प्राथमिकतामा राख्दै लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको बौद्ध शिक्षा र अनुसन्धान केन्द्रको रुपमा विकास गर्न तथा नेपालका ग्रामीण क्षेत्रहरुमा पनि बौद्ध शिक्षा लागू गराउन घोषणापत्रमा माग गरिएको छ ।
नेपालका निर्माण भएका उत्कृष्ट र अमूल्य बौद्ध सम्पदाहरुले नेपाल राष्ट्रको गौरवलाई बढाएको र देश–विदेशबाट आउने पर्यटकहरुलाई मोहित बनाइरहेको अवस्थामा जिर्ण सम्पदाहरुको उचित मर्मत सम्भार गरी प्रवद्र्धन गर्न समेत घोषणापत्रमा माग गरिएको छ ।
धर्मोदय सभाको आयोजनामा दुई दिनसम्म भएको सम्मेलनको आइतबार औपचारिक समापन गरिएको हो । समापन समारोहअघि विभिन्न क्षेत्रबाट आएका बौद्ध विद्धानहरुले प्रस्तुत गरेको कार्यपत्रमाथि समूहगत छलफल भएको थियो । छलफललाई निष्कर्षमा पु¥याउँदै सम्मलेनले सात बुँदे घोषणापत्र जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्