निगमको काठमाडौ–रियाद–काठमाडौं नियमित उडान सुरु
नेपाल वायुसेवा निगमले काठमाडौ–रियाद–काठमाडौं नियमित व्यवसायिक उडान सुरु गरेको छ ।
नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा ०२ वटा उडान सञ्चालन गर्ने भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादको लागि निगमको पहिलो उडान शुक्रबार १७ः१५ बजे प्रस्थान गरेको थियो । निगमलाई साउदी अरेबियाको रियादमा उडानका लागि २२ फागुन २०७८ मा उडान अनुमति प्राप्त भएपश्चात् उक्त गन्तव्यमा निगमले आफ्नो गन्तव्य विस्तार गरेको हो ।
शुक्रबार एयरबस–३३० विमानले उडान भरेका थियो भने काठमाडौं–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर ३७ हजार कायम गरिएको छ । विशेष गरेर वैदेशिक रोजगारमा जाने यात्रुका लागि निगको उडानले सहज हुने छ । काठमाडौं–रियाद उडान करिब ६ घण्टा र रियाद–काठमाडौं उडान अवधि चार घण्टा ५० मिनेटको हुनु बताइएको छ ।
निगमले हाल भारतको दिल्ली, मुम्बई र बैङ्लोर, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेशियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, चीनको हङकङ र जापानको नारितामा उडान सञ्चालन गर्दै आएकोमा नयाँ गन्तव्यको रुपमा साउदी अरेबियाको रियादसहित अब ८ मुलुकका १० वटा गन्तव्यमा उडान सञ्चालन गर्ने भएकोे छ ।
ती गन्तव्यमध्ये निगमले दिल्लीमा दैनिक २ वटा उडान सञ्चालन गर्दै आएको छ भने अन्य गन्तव्यहा साप्तहिक रुपमा क्रमशः मुम्बई, बैङ्लोर, क्वाललम्पुर र बैंककमा ३–३ वटा, दोहामा ५, दुबईमा ५, हङकङमा एक र नारितामा ३ वटा उडान सञ्चालन गर्दै आएको छ । त्यस्तै, दोहा र क्वालालम्पुरको उडान छिट्टै दैनिक रुपमा सञ्चालन गर्ने तयारी समेत निगमको रहेको छ ।