उपकार लघुवित्तको आइपीओ बाँडफाँट «

उपकार लघुवित्तको आइपीओ बाँडफाँट


उपकार लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आइपीओमा २४ लाख ३१ हजार १७० जना आवेदकले २ करोड ७५ लाख ६५ हजार २३० कित्ता सेयरका लागि २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए ।
आवेदकमध्ये २ हजार ४०६ वटा आवेदन रद्द भएको छ भने २३ लाख ४९ हजार ५६ वटा आवेदन स्वीकृत भएको छ । लघुवित्तको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको हो ।
१० कित्ताका दरले आइपिओ बाँडफाँट हुँदा २२ हजार ११५ जनाले मात्रै सेयर पाएका छन् । १० कित्ताका दरले बाँडफाँट गर्दा ६ कित्ता बाँकी रहेको थियो । बाँकी ६ कित्ता थप गरेर ६ जना आवेदकलाई ११ कित्ताका दरले दिइएको हो । यो सँगै लघुवित्तको आइपीओमा आवेदन दिएका लगानीकर्ता मध्ये झन्डै २४ लाखको हात रित्तो भएको छ ।
लघुवित्तले २५ देखि ३० चैतसम्म सर्वसाधारण लगानीकर्ताका लागि चुक्ता पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।
लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्य दरका २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २ लाख २१ हजार १५६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्