फोरम–राजपा वार्ताका लागि समिति हेरफेर आवश्यक «

फोरम–राजपा वार्ताका लागि समिति हेरफेर आवश्यक

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण वार्ता अघि बढ्न नसक्नुमा वार्ता समितिको गठन समस्या रहेको देखिएको छ । दुवै पार्टीले वार्ता समिति गठन आ– आफ्नै हिसाबले गरेका छन् । वार्ता अगाडि बढाउन फोरम र राजपाबीचको वार्ता समितिमा हेरफेर आवश्यक देखिएको हो ।
फोरमले सहअध्यक्ष हैसियतको व्यक्तिको नेतृत्वमा वार्ता समिति बनाएको छ । राजपाले भने सहअध्यक्ष भन्दा माथिको व्यक्तिको हैसियतमा वार्ता समिति गठन गरेको छ ।
राजपामा अध्यक्ष मण्डल सहअध्यक्ष माथिको संरचना छ । राजपाले अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको नेतृत्वमा वार्ता समिति बनाएको छ भने फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा बनाएको छ । पार्टीका नेताहरूका अनुसार वार्ताका लागि चाहिने वातावरण बनाउनेसम्मको काम यो वार्ता समितिबाट हुन सक्नेछ ।
राजपाका नेताहरूले फोरमले पठाएको पछिल्लो पत्रबारे कुनै निर्णय गरेका छैनन् । फोरमले महाधिवेशन सम्पन्न हुनुअघि राजपासँगको वार्तालाई त्यतिको महत्व नदिएको उसको व्यवहारबाट स्पष्ट भएको कतिपयको बुझाइ रहेको छ ।
उनीहरूका अनुसार फोरमले त्यसै पनि पार्टीभित्र वार्ता समिति गठन गरेको लामो समयपछि पत्र पठाएको थियो । त्यो पत्र त्यतिबेला पठाए, जतिखेर सत्तारूढ नेकपाले डा. सीके राउतसँग वार्ता गरी फोरम राजपाका लागि चुनौती थप्ने काम गर्न खोज्यो ।
राजपाले वार्ताका लागि राजेन्द्र महतोको नेतृत्वमा गठन गर्नु आफैंमा वार्तालाई अगाडि बढाउन नखोजेको पार्टीका कतिपय नेताको भनाइ छ । फोरमले राजपासँग मात्रै होइन, नयाँ शक्तिसँग पनि पार्टी एकताका लागि पहल गरिरहेको छ । पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले नयाँ शक्तिसँग वार्ताका लागि पहल भइरहेको जनाए । हुनत राजपा पनि नयाँ शक्तिसँग वार्तामा बसिसकेको छ ।
राजपाका नेताहरूले औपचारिकरूपमा पत्रको जानकारी नदिएपनि वार्ताका विषयमा अनौपचारिक छलफल यी तीन पार्टीबीच भइरहेका छन् । फोरमले पठाएको पत्रबारे निर्णय नगरिएको पार्टीका उपाध्यक्ष सत्यनारायण मण्डलले जनाए । उनले भने, “पार्टीलाई पत्र आएको हो । अध्यक्षहरू राजधानी बाहिर रहेकाले निर्णय भएको छैन ।”
उनले वार्ताका लागि वार्ता समिति समस्या नभएको बताए । उनले भने, “नेताहरूले आवश्यकता अनुसार वार्ता समिति जतिबेला पनि हेरफेर गर्न सक्छन् । पहिलो कुरो आवश्यकता र औचित्यको हो ।”

प्रतिक्रिया दिनुहोस्