सडक सञ्जालमा जोडियो ताम्तीगाउँ
जुम्ला
जुम्लाको भेरिखोला क्षेत्रको दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ । स्थानीय सरकार सञ्चालनको पाँच वर्ष पश्चात तातोपानी गाउँपालिका–८ स्थित दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको हो ।
क्रमागत योजनाका रूपमा निर्माण ताम्तीगाउँमा हुँदै आएको कर्णाली राजमार्ग हुदै त्रिवेणी टोप्टा सडक खण्डबाट ताम्ती गाउँ जोडने सडक नयाँ वर्षको सुरुवातसँंगै सञ्चालनमा आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उनले भने, “पालिकाको क्रमागत योजनामार्फत ताम्तीमा सडक पुर्याइएको हो । तातोपानीका झण्डै तीन दर्जन बस्तीमध्ये अब भेरिखोलाका सुर्की र थलाले गाउँमात्रै सडकको पुहँच बाहिर छन् । यी दुई गाउँमा समेत बीचसम्म सडक बनिसकेको छ । पाँचवर्षे कार्यकाल पूरा गरेर जनप्रतिनिधि बिदाई हुँदै गर्दा ताम्ती गाउँ सडकको पहुँचमा पुगेपछि जनप्रतिनिधिको चुनावी वाचा पनि पुरा भएको छ ।”
गाउँमा सडक पुगेसंँगै उत्पादित कृषि उत्पादनले पनि बजार पाउने आशा गरिएको छ भने बजार प्रवद्र्धनका लागि स्थानीय सरकारले आवश्यक सहकार्य गर्ने अध्यक्ष न्यौपानेको भनाइ छ । स्थानीयको आवश्यकता र भौगोलिक विकटतालाई मध्यनजर गर्दै सडक निर्माणमा पहिलो प्राथमिकता दिएर तातोपानीका आठवटै वडाका सबै बस्तीमा ग्रामीण सडक पु¥याइएको अध्यक्ष न्यौपानले बताए ।
सडक पुगेपछि गाउँले हर्षित
जिल्लाकै दुर्गम ताम्तीगाउँ सडक सञ्जालमा जोडिएसँगै स्थानीय हर्षित भएका छन् । स्थानीय अर्जुन रावतले भने, “सडक नहुँदा स्ट्रेचरमा बिरामी बोक्नुपर्ने बाध्यता थियो, कैंयौको बाटोमै ज्यान गयो, अब सुखका दिन आउनेछन्, पिठ्युँमा भारी बोकेर मुटु फुट्ने उकालोमा यात्रा गर्नुपर्ने छैन ।”
स्टे«चरमा सुत्केरी श्रीमती बोक्दा चारवटा बच्चा बाटोमै गुमाएका दुर्गा रावत भन्छन्, “ताम्तीबासीको गाउँमै मोटर हेर्ने चाहाना पूरा भएको छ । त्योभन्दा खुसीको कुरा अब कोही सुत्केरी आमा, विरामी र शिशुहरूरुले ज्यान गुमाउने छैनन् । गाउँमा उत्पादन हुने सिमि, आलु, फापर, मकै, गहुँ, जौलगायतका बस्तुलाई बजारमा लैजान सहज हुने अपेक्षा छ ।”
झण्डै तीन सय घरधुरी रहेको गाउँमा सडक पुगेपछि स्थानीयले आफ्नो दैनिकीमा सुधार आउने आशा गरेका छन् । तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालन गरे पनि सडक नहुँदा स्थानीयले सेवा लिन सकेका थिएनन् । अब गाउँमै गाडी पुग्ने भएपछि उत्पादनले बजार पाउनुका साथै यातायात सेवा पाउने छन् ।
:सागर परियार