पुम्दीकोटको महायज्ञमा डेढ करोड संकलन «

पुम्दीकोटको महायज्ञमा डेढ करोड संकलन

पोखरा–२२ (पुम्दी–भुम्दी) को पुुम्दीकोटमा जारी महायज्ञमा करिब डेढ करोड रुपैयाँ संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत शनिबारसम्म १ करोड ६१ लाख रुपैयाँ संकलन भएको समितिले जनाएको छ ।
महायज्ञमा जग्गासमेत दान दिन सुरु भएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । महायज्ञमा एक रोपनी १० आना २ पैसा ३ दाम को जग्गा दान मार्फत प्राप्त भएको उनले जनाए । उक्त जग्गा दान गर्ने पोखरा २२ ठूलास्वाँरा निवासी मेगनाथ बराल छन् ।
महायज्ञको सातौं दिन शनिबार करिब ४० लाख रुपैयाँ संकलन भएको महायज्ञका आर्थिक उपसमितिका सह–संयोजक निर्मल बरालले बताए । नियमित चल्ने माइक्रो बस सहित शुक्रराज मावि र आमा घर पाठशालाको बसले शनिबार दिन भरी जसो यातायात सेवा निःशुल्क उपलब्ध गराएको आर्थिक उपसमितिका संयोजक डिल्लीराम बरालले बताए । शनिबार भने सार्वजनिक बिदाको दिन भएकोले महायज्ञमा भक्तजनहरू पोखरा र पोखरा आसपासबाट ठूलो सङख्यामा उपस्थित भएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले जनाए । महायज्ञमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले कथा वाचन गर्दै आएका छन् । पोखराको पार्दी विरौटा(बराल फिड) देखि पुम्दीकोटसम्म जाने बसको व्यबस्था गरिएको छ ।
दाताहरूलाई महायज्ञ स्थलमा पन्चे बाजागाँजासहित भजन चुड्काको साथमा अभिनन्दन सहित सम्मान गर्ने गरिएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताए । २०७३ फागुन ३ देखि १३ गतेसम्म संचालन भएको महायज्ञबाट ६ करोड २८ लाख नगद सहित २० रोपनी जग्गा प्राप्त भएको अध्यक्ष बरालले यसपाली करिब ६ करोड संकलन हुने अपेक्षा गरिएको जनाए ।
परिमार्जित परियोजनाअन्तर्गत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मूर्ति स्थापना गर्ने, भुमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म बिद्युतीय चियर कार निर्माण गर्ने, गरी पार्क निर्माण गर्ने, व्यवस्थित पार्किङ स्थल निर्माण गर्ने लगायतका परियोजना रहेको अध्यक्ष बरालले बताए । ४० करोडको उक्त परियोजनाअन्तर्गत ५१ फिट अग्लो महादेवको मूर्ति, ३१ फिट अग्लो विशाल डम्मरु, विशाल महादेवको बिशाल क्षेत्र कुण्ड(गंगा पोखरी), १ सय ८ स्वर्गद्वारी सिंढी निर्माण भएको उनले जनाए ।
त्यसैगरी एक सय ८ धारा सडित तेस्रो आँखा, २ सय १६ शिव लिंग, शिव ताण्डव नृत्य हल, अन्तराष्ट्यि ध्यान केन्द्र, मनोरेलद्वारा गणेश परिक्रमा, फुलमाला बिक्रिको लागि ४१ वटा सटर, कम्पाउण्ड वाल, प्रशासकीय भवन, शौचालयलगायतका भौतिक संचरना निर्माण भएको अध्यक्ष बरालले बताए । उक्त परियोजनाको करिब ५० प्रतिशत काम सकिदा करिब २० करोड लगानी भएको उनले जनाए ।
यसैबीच, गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पुम्दीकोट विशाल महादेवको मूर्ति निर्माण अभियानलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक भएको बताए । महायज्ञमा आमा धनरुपा बरालको नाममा एक लाख १ हजार सहयोग गर्दै मन्त्री बरालले पुम्दी भुम्दी सहित पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको बिशाल महादेवको मुर्तिका अपूरा कार्य पूरा गर्न सबै एक हुनुपर्नेमा जोड दिए ।
पुम्दीकोटलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न समितिका अध्यक्ष चन्द्रकान्त बराल नेतृत्वको टोलीले पु-याएको योगदानलाई मन्त्री बरालले प्रशंसा गर्दै उक्त अभियानमा सहयोग गर्नेहरू प्रतिआभारसमेत व्यक्त गरे । विशाल महादेवको मुुर्ति अभियानमा थप आवश्यक पर्ने बजेट व्यबस्थापन गर्न मन्त्री बरालले राज्यको तर्फबाट थप सहयोग जुटाउन पुनः पहल गर्ने बताए । बिशाल महादेवको मुर्ति निर्माण अभियानअन्र्तगत वडादेखि पुम्दीकोटसम्मको सडक पिचका लागि १२ करोडको टेन्डर भएर काम अघि बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्