हावाहुरी प्रभावित बल्ल ओतमा «

हावाहुरी प्रभावित बल्ल ओतमा

बारा-एक साता लामो प्रयासपछि जिल्ला विपत् व्यवस्थापन समितिले पूर्ण रूपमा ध्वस्त भएको ९ सय ४० घर घुरीलाई त्रिपाल र टेन्टभित्र राख्ने काम सम्पन्न गरेको छ ।
प्रारम्भिक चरणमा संकलन गरेको तथ्यांकअनुसार सेना, सशस्त्र प्रहरीले पूर्णरूपले ध्वस्त भई घरबारविहीन भएकालाई टेन्ट र त्रिपाल गाडेर ओत लगाउने काम समितिले एक सातापछि पूरा गरेको हो ।
प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले ९ सय ४० घरधुरी विहीनलाई टेन्टभित्र ल्याउने काम सकिएको बताउदै केही नपुग र छुटेका भए उनीहरूलाई समेत टेन्ट लगाइदिने काम गर्ने बताए । १ हजार ८ सय ५५ घर आशिंक क्षति भएको र सो घरमा समेत भौतिक सहयोग जारी रहेको उनले बताए । पीडितलाई खाद्यान्न लगायतका सामग्री आउने गरेको बताउँदै अधिकारी पौडेलले आफूसँग सम्पर्क गर्ने र राहत के लिएर आउँ भनेर सोध्ने दाता तथा संघ संस्थालाई पकाउने भाँडाकुँडा ल्याउन अनुरोध गर्ने गरेको बताए ।
गत साता बारामा आएको भिषण हावाहुरीले फेटा, परवानिपुर, प्रसौना, सुर्वणपुर, देवताल गाँउपालिका, पचरौता नगरपालिका र कलैया उपमहानगरपालिकाका ९ सय ४० घर पूर्णरूपमा र ९ सय ५५ घर आंशिक रूपमा क्षति भएका थियो भने हुरीले घर भत्केर ज्यान गुमाएका २८ जनाको परिवारसहित झन्डै ७ सय घाइते भएका थिए ।
१६ गाउँमा हुरीले सयौं परिवारलाई घरबारविहीन बनाएकाले ती ठाउँमा विभिन्न संघ–संस्था तथा व्यक्तिबाट आवास, खानालगायत खाद्यान्न, कपडा, झुललगायतको सामग्री राहतका रूपमा पुगिरहेको छ । फेटा गाउँपालिका १, भलुही र भरबलिया ३, गछिया टोल, वडा ६ को पुरैनिया र वडा ७ को गम्हरियामा सबभन्दा बढी जनधनको क्षति भएको स्थान हो भने सुवर्ण गाउँपालिका ४ हर्दिया र वडा ५ को पर्शुरामपुरमा क्षति पुगेको छ ।
प्रसौनी गाउँपालिका ४, खुटवा जब्दी, परवानीपुर गाउँपालिकाको लिपनीविर्ता, पचरौता नगरपालिकाको बेनौली, सखुवावा, महागढीमाई नगरपालिका ७ को तेलगाईलगायत मनगढवा, धर्मनगर क्षति प्रभावित ठाउँमा राहत वितरण निरन्तर चलिरहेको र आवासका लागि अस्थायी टेन्ट गाड्ने काम सकिएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको ७ सय ७५ चिनियाँ टेन्ट गाडि सकिएको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले बताए । टेन्ट अझै आउने क्रममा छ, उनले भने, “टेन्ट सेना र सशस्त्र प्रहरीले गाडेका छन् नपुगे तुरुन्तै लगाइदिने छौं ।” ओत लाग्नका लागि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी विभिन्न संघ संस्थाले टेन्ट र त्रिपाल उपलब्ध गराएका थिए ।
पीडितलाई राहत जारी
हावाहुरीबाट प्रभावित तथा ज्यान गुमाएकाको परिवारलाई राहत स्वरुप गाउँपालिकाहरूले किरिया खर्च दिएका छन् । फेटा र सुवर्णपुर गाउँपालिकाले मृतक परिवारलाई किरिया खर्चवापत राहत उपलब्ध गराउने निर्णय गरेको छ । फेटा गाउँपालिकाले प्रत्येक मृतक परिवारलाई ३० हजार किरिया खर्च दिएको छ भने सुवर्ण गाउँपालिकाले मृतक परिवारलाई जनही ५१ हजार उपलब्ध गराएको छ ।
विभिन्न संघसंस्थाले चलाएको मेस उठेपछि अन्योलमा परेका पीडितलाई ग्यास, चुलो पकाउने भाँडाकँुडा पर्याप्त नभएका कारण महागढीमाई नगरपालिकाले तेलगाईमा ४ सय पीडितलाई विद्यालयमा मेस सञ्चालन गरी खाना खुवाइरहेका छन् भने फेटा गाउँपालिकाले प्रभावित सबै वडामा निःशुल्क खानाको व्यवस्था मिलाएको छ  । यसैबीच दातृ निकायबाट समेत राहत सामग्री आउने क्रम जारी छ ।
हाइजेनिक किट, किचेनको भाँडा, बेबी प्याक, पानी शुद्धीकरण सामग्री, अस्थायी आवास निर्माण सामग्री, ब्लांकेट, म्याट, साडीलगायत करिब ६४ लाख बराबरको राहत सामग्री नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन), केयर नेपाल र एक्सन एडको संयुक्त सहयोगमा पीडितलार्ई वितरण गरिएको छ ।
त्यस्तै अर्का संस्था आरआरएनले रामपुर्वामा प्रत्येक परिवारलाई १३ हजार ३ सय ८४ रुपैयाँ र फेटा गाउँपालिकामा प्रत्येक परिवारलाई ७ हजारको दरले कुल ७ सय ५० परिवारलाई उक्त रकम बराबरको राहत सामग्री वितरण गरिएको जिल्ला संयोजक विपिन दासले बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको छुट्टाछुट्टै रहेको श्रीमती संघले खाद्यान्न, कपडा, साबुन, औषधि, त्रिपाल, पानी फिल्टर गर्ने मेसिनलगायतको राहत सामग्री पीडितलाई वितरण गरेको छ ।
यसैबीच जिल्ला विपत् व्यवस्थापन समितिले सञ्चालन गरेको राहत कोषमा दाताहरूले रकम जम्मा गर्न थालेका छन । सोमबारसम्म जगदम्बा स्टिल्स प्रालि सिमराले १ लाख ५० हजार र काठमाडौंका मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलले दिएको १ लाख नगदसहित करिब १२ लाखभन्दा बढी राहत रकम संकलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमार्फत एकद्वार प्रणाली र पीडितको परिचयपत्रको ब्यवस्था हँुदा सबै पीडित टेन्टमुनि बस्न थालेका कारण राहत वितरण सहज र प्रभावकारी हुँदै गएको प्रहरी उपरीक्षक सानुराम भटराईले बताए ।

प्रतिक्रिया दिनुहोस्