Logo

साढे दुई वर्षपछि डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन सुरु

मन्त्रिपरिषद्ले डिजिटल नेपाल फ्रेमवर्क स्वीकृत गरेको साढे दुई वर्षपछि बल्ल यसको कार्यान्वयन सुरु भएको छ । केपी ओली नेतृत्वको सरकारले २०७६ कात्तिक ५ गते पारित गरेको डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको हो ।
मन्त्रालयका अनुसार डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको मेरुदण्ड मानिएको डिजिटल नेपाल एक्सेलरेसन प्रोजेक्टका लागि मन्त्रालयले सरोकारवालाहरुसँग सुझाव मागेको छ । डिजिटल नेपाल एक्सेलरेसन प्रोजेक्ट अन्तर्गत सरोकारवाला व्यवस्थापन योजना, वातावरणीय तथा सामाजिक प्रतिवद्धता योजना लगायतको मस्यौदा तयार भएको छ । विश्व बैंकको सहयोगमा तयार भएका यी योजना मस्यौदा सरोकारवालाको सुझावपछि अन्तिम रुप दिइने जनाइएको छ । यस्तै, वातावरण तथा सामाजिक व्यवस्थापन ढाँचा, श्रम व्यवस्थापन कार्यविधिको मस्यौदा पनि तयार भइसकेको छ ।
मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सम्बन्धित कार्यविधिका यी मस्यौदाहरु सार्वजनिक छलफलका लागि अघि सारेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता विनोद प्रकाश सिंहले जानकारी दिए । उनका अनुसार हाल आंशिक रुपमा कार्यान्वयनमा आएको डिजिटल नेपाल फ्रेमवर्कको पूर्ण कार्यान्वयनका लागि यी दस्तावेज तथा कार्यविधिलाई महत्वपूर्ण आधार मानिएको छ । सरकारले पन्ध्रौं आवधिक योजनामा कार्यान्वयन गर्ने गरी डिजिटल नेपाल फ्रेमवर्क अवधारणा पारित गरेको थियो । जसमा हालसम्म डिजिटल सिग्नेचर, साइबर सेक्युरिटी, नेसनल पेमेन्ट गेटवे, डाटा सेन्टर, वाइफाइ हटस्पट, फाइभजी परीक्षणको क्षेत्रमा काम अघि बढिरहेका छन् ।
सञ्चार मन्त्रालयले भने डिजिटल नेपाल फ्रेमवर्क बहु निकायबीचको संयुक्त पहलमा अगाडि बढिरहेको अवधारणा भएकाले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउँदै आएको छ । सञ्चार मन्त्रालयले समन्वयको भूमिका निर्वाह गरिरहेको र कुल ८ कार्यक्षेत्रका ८० वटा पहलमध्ये केही कार्यान्वयनमा आएको मन्त्रालयको भनाइ छ । ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार डिजिटल प्रविधिको अधिकतम उपयोग गरी विकास र समृद्धिका लक्ष्यहरु हासिल गर्ने, आम नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहज रुपमा उपलब्ध गराउने उद्देश्य फ्रेमवर्कमा राखिएको छ ।
प्रविधिको प्रयोगबाट उत्पादन लागत कम गर्ने उद्देश्य सहित सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सबै प्रकारका सेवा तथा कारोबार विद्युतीय माध्यमबाट सञ्चालन गर्ने व्यवस्था सहितका योजना डिजिटल नेपाल फ्रेमवर्कले समेटेको छ । स्वीकृत फ्रेमवर्कले तथ्यांकको उत्पादन, प्रशोधन र वितरणको लागत कम गरी पहुँच सुनिश्चित गर्ने, सुशासन, विकास र समृद्धी हासिल गर्न नीतिगत तथा प्रणालीगत स्थिरता प्राप्तीका लागि योगदान पु¥याउने विश्वास गरिएको छ ।
डिजिटल नेपाल फ्रेमवर्कले पर्यटन क्षेत्रको विकास गर्न क्षमता निर्माण, जल, यातायात, ऊर्जा क्षेत्र र सूचना प्रविधि पूर्वाधार निर्माणमा तीव्र जोड, उत्पादन र उत्पादकत्वमा अभिवृद्धि लगायतका विषयलाई समेटेको छ । साथै, प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा र निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था, चरम गरिबी, निरक्षरता र बेरोजगारीको अन्त्य र युवा प्रतिभाको विदेस पलायनमा कमी ल्याउने विषय समेत फ्रेमवर्कभित्र परेका छन् । फ्रेमवर्कको मूल उद्देश्य सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सेवा तथा कारोबारलाई बिद्युतीय माध्यमबाट सञ्चालन र व्यवस्थापन गर्नु हो । जसमार्फत मुलुकमा सुशासन कायम गरी सार्वजनिक सेवा प्रवाह, समाज तथा अर्थतन्त्रका बृहत्तर आयामहरुको रुपान्तरण, ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रका आधारहरुको सवलीकरण हुने, आम नागरिकलाई सरल र सहज रुपमा सार्वजनिक सेवा प्राप्त हुने र दिगो विकासका लक्ष्यहरु हासिल गर्न सकिने सरकारको विस्वास छ ।
डिजिटल नेपाल फ्रेमवर्कमा डिजिटल फाउन्डेशन, कृषि, स्वास्थ्य, शिक्षा, उर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधार गरी ८ वटा प्रमुख क्षेत्रहरु छनौट गरिएका छन् । उक्त फ्रेमवर्कले ८ वटै क्षेत्रलाई समेट्ने गरी नेपाललाई आर्थिक सामाजिक प्रगतितर्फ अग्रसर गराउने उद्देश्यका साथ ८० वटा डिजिटल पहलहरु सहितको कार्ययोजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्