आयातमा कडाइ गर्दा भन्सार राजस्वमा असर
चालू आर्थिक वर्षको नौ महिनासम्ममा ३ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको भन्सार राजस्व संकलन भएको छ । भन्सार विभागका अनुसार सरकारले भन्सार विन्दुबाट मात्रै कुल राजस्वको ४७ प्रतिशत राजस्व संकलन गरेको हो ।
चैत मसान्तसम्ममा ७ खर्ब ८९ अर्ब रुपैयाँको कुल राजस्व संकलन भएकोमा भन्सार विन्दुबाट मात्रै ४७.०२ प्रतिशत राजस्व संकलन भएको हो । जुन अघिल्लो महिनाको अनुपात भन्दा कम हो । फागुन महिनामा सो अनुपात ४८.६३ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकले आयातमा कडाइ गरेसँगै त्यसको असर राजस्वमा देखिन थालेको हो । अपेक्षित रुपमा आयात नघटे पनि त्यसले राजस्वको अनुपातमा भने केही असर पारेको छ । फागुन महिनामा ९ प्रतिशतले बढेको भन्सार राजस्व चैत महिनामा २.७७ प्रशितशले नकारात्मक भएको छ । फागुनमा ३९ अर्ब ३३ करोड रुपैयाँ बराबरको राजस्व भन्सार विन्दुबाट संकलन भएको थियो भने चैत महिनामा ३८ अर्ब २४ करोड रुपैयाँ बराबरको भएको भन्सार विभागले जनाएको छ ।
आयात बढ्दा त्यसले विदेशी विनिमय सञ्चितिमा पारेको प्रभावलाई कम गर्न राष्ट्र बैंकले कतिपय सामानमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । तर, आयतामा खासै असर नपर्दा चैत २३ देखी सवारीसाधनको एलसी नखोल्न राष्ट्र बैंकले बैंकहरुलाई मौखिक आदेश समेत दिनुपरेको थियो । त्यसैले पनि चैत महिनामा सवारीसाधनको आयातबाट उठ्ने राजस्व अघिल्लो महिनाको तुलनामा २३ प्रतिशतले घटेको विभागले जनाएको छ । फागुन महिनामा सवारीसाधनको आयातबाट मात्रै ६ अर्ब १८ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएकोमा चैत महिनामा २३.१३ प्रतिशतले घटेर ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।
आयातमा थोरै नियन्त्रण गर्दा त्यसको असर राजस्वमा पर्ने अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले बताए । तर, पहिले नै एलसी खोलेका सामानहरुको आयात भइरहेका कारण अहिले नै त्यति धेरै प्रभाव नपरेको उनको तर्क छ । “आयातमा नियन्त्रण गर्दा राजस्वमा त्यसको असर त पर्छ नै । तर पहिले नै एलसी खोलिएका सामानहरु आयात भइरहेको हुँदा राजस्वमा त्यति धेरै असर परिसकेको छैन । अवस्था सहज भएपछि एलसी खोल्न दिइने भएकाले सन्तुलनमा आउँछ जस्तो लाग्छ ।’
भन्सार विन्दुबाट उठ्ने राजस्वमा कमी भए त्यसको सट्टा अन्य स्रोतको खोजीमा भने अर्थ मन्त्रालयले कुनै योजना बनाएको छैन ।
बजेटभन्दा बढी व्यापार घाटा
चालू आर्थिक वर्ष २०७८-०७९ को ९ महिनासम्म आइपुग्दा १३ खर्बभन्दा माथि व्यापार घाटा पुगेको छ । साउनदेखि चैतसम्मको आयातको प्रवृत्ति तथा निर्यातको अवस्था हेर्दा चालू आर्थिक वर्षमा बजेटभन्दा पनि व्यापार घाटा बढी हुने देखिएको छ । विभागका अनुसार साउनदेखि चैत मसान्तसम्म आयातमा विदेशिएको रकम र निर्यातबाट नेपाललाई प्राप्त भएको रकमबीच १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख अन्तर रहेको छ । साउनदेखि चैतसम्ममा कुल १४ खर्ब ६६ अर्ब ६६ करोडको वस्तु आयात भएको छ भने १ खर्ब ६० अर्ब ५७ करोडको मात्र निर्यात भएको छ । जसका कारण व्यापार घाटा १३ खर्ब भन्दा माथि पुगेको हो । बाँकी तीन महिनामा चालू आवको लागि अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधयेकमार्फत ल्याएको १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेटभन्दा व्यापार घाटा बढी हुने तथ्यांकको प्रबृत्तिले देखाउँछ ।
यस्तै, विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा त्यसपछिका तीन महिनामा राष्ट्र बैंकले गरेको कडाइका कारण उच्च आयातको दर केही सुस्ताउन थालेको छ । भन्सार विभागका अनुसार चैत मसान्तसम्म कुल १४ खर्ब ६६ अर्ब ६६ करोडको आयात भएको छ । जुन गत आवको चैतसम्मको तथ्यांकभन्दा ३१.९७ प्रतिशत धेरै हो । किनकि गत आवको नौ महिनामा ११ खर्ब ११ अर्ब ३९ करोडको वस्तु आयात भएको थियो ।
यसैगरी, चैतसम्ममा १ खर्ब ६० अर्ब ५७ करोडको निर्यात भएको छ । चैत महिनामा मात्र १३ अर्बको वस्तु निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । चैत मसान्तसम्ममा नेपालको कुल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड पुगेको छ । कुल व्यापारमा आयातको हिस्सा ९०.१३ प्रतिशत पुगेको छ भने निर्यातको हिस्सा ९.८७ प्रतिशतमात्र छ । निर्यातमा पनि सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयातमा २ खर्ब बाहिरिएको छ ।
विभागका अनुसार नेपालको वैदेशिक व्यापारमा भारतसँग मात्र ९ महिनामा ७ खर्ब ७३ अर्ब व्यापार घाटा छ । भारतबाट नेपालले ९ खर्ब १ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ भने भारततर्फ १ खर्ब २७ अर्बको निर्यात भएको छ । यस्तै, मास्क तथा स्यानिटाइजर आयातमा एक अर्ब २२ करोड बढी बाहिरिएको छ ।