अपांगता परिचयपत्र वितरण «

अपांगता परिचयपत्र वितरण

वैतेश्वर गाउँपालिकाले अपांगता परिचयपत्र वितरण सुरु गरेको छ । गाउँपालिकाले अपांगहरूको स्वास्थ्य परीक्षण गरी अपांगता परिचयपत्र वितरणको शिविरै सञ्चालन ग-यो । अपांगता परिचयपत्र भएका र नभएकाको आवेदन र स्वास्थ्य परीक्षणपछि परिचयपत्र वितरण गरिएको वैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिए ।
वैतेश्वर गाउँपालिकामा रहेको हिमालयन हेल्पिङह्यान्ड्स सामुदायिक अस्पतालमा स्वास्थ्य शिविर गाउँपालिकाले सञ्चालन गरेको थियो । शिविरमा गाउँपालिकाका वडा नं. ४ र ५ का अपांगता भएकाहरू उपस्थित थिए । पहिलो दिन गाउँपालिकाको वडा नम्बर ४ र ५ मा अपांगता भएका ३८ जना व्यक्तिलाई अपांगता पहिचान गरी परिचयपत्र वितरण गरेको छ ।
वैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन खड्काका अनुसार अपांगताको ‘क’ वर्ग रातो परिचयपत्र १० जनालाई वितरण भएको छ । त्यस्तै ‘ख’ वर्ग निलो १५ जना, ‘ग’ वर्ग पहेंलो ११ जना, र ‘घ’ वर्ग सेतो २ जना रहेको उनले बताए ।
दोलखाको ९ वटा स्थानीय तहमध्ये अपांगता परिचयपत्र वितरण गर्ने वैतेश्वर गाउँपालिका पहिलो भएको छ । स्थानीय तह गठन हुनुअघि महिला बालबालिका कार्यालयबाट यस्तो परिचयपत्र वितरण हुँदै आएको थियो ।
अपांगतासम्बन्धी स्थानीय समन्वय समिति वैतेश्वर गाउँपालिकाले नयाँ परिचयपत्र लिनेसँग पुरानो परिचयपत्र भने खिचेको छ । निकट भविष्यमा नै गाउँपालिकाभित्रका अन्य ६ वटा वडामा पनि शिविरै चलाएर अपांगता परिचयपत्र वितरण हुने उनले बताए । अपांगताको वर्गीकरण अनुसार क वर्ग रातो कार्ड प्राप्त अपांगहरूका लागि जीवन निर्वाहका लागि सरकारले मासिक २ हजार भत्ता दिँदै आएको वैतेश्वर गाउँपालिका–५ का वडाध्यक्ष माधव बस्नेतले जानकारी दिए ।
बाल अक्षय कोष स्थापना
यसअघि वैतेश्वर गाउँपालिकाले आफ्नो ८ वटै वडामा बाल अक्षय कोषको स्थापना गरेको छ । अनाथ तथा संरक्षणविहीन बालबालिकालाई उनीहरूको शिक्षा, स्वास्थ्य र पोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको यस अक्षय कोषमा प्रत्येक वडामा तीन लाख ३० हजारका दरले रकम राखिएको छ । अक्षय कोष स्थापनाका लागि सेभ द चिल्ड्रेन पहुँच परियोजनाले समेत सहयोग गरेको वैतेश्वर गाउँपालिकाले जनाएको छ ।
बाल संरक्षण कोष सन्चालन निर्देशिका २०७४ निर्माण गरी सोहीअनुसार कोष सञ्चालन हुनेछ । जसअनुसार यस कोषबाट सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीअनुसार चौमासिक रूपमा छनोटमा परेका बालबालिकालाई १८ वर्ष उमेरसम्म मासिक ४ सय का दरले रकम वितरण गरिने छ ।
छनोटमा परेका बालबालिकाले १८ वर्षसम्म नियमित मासिक भत्ता पाउने छन् । अब यस अक्षय कोषबाट वैतेश्वर गाउँपालिकाका ८ वटै वडाका ५ जनाको दरले ४० जना बालबालिकाले नियमित मासिक भत्ता पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्