नेपालमा भूआवरण अनुगमन प्रणाली सुरुवात «

नेपालमा भूआवरण अनुगमन प्रणाली सुरुवात

Photo: Jitendra Raj Bajracharya/ICIMOD.

वन अनुसन्धान तथा तालिम केन्द्रले पृथ्वी दिवसको अवसर पारेर नेपालको राष्ट्रिय भूआवरण अनुगमन प्रणाली सुरु गरेको घोषणा गरेको छ । यस प्रणालीले क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी हरेक वर्ष कति क्षेत्र वनजङ्गल, सिमसार, कृषिभूमि, अन्य प्रकारका भूमि र जलीय प्रकारले ढाकेका छन् भन्ने सम्बन्धमा नियमित रूपमा डाटा उत्पन्न गर्नेछ ।
राष्ट्रिय भूआवरण अनुगमन प्रणालीले वन क्षेत्र÷आवरण परिवर्तनको रिपोर्टिङमा सुधार गर्नेछ र भूमि व्यवस्थापनसँग सम्बन्धित अभ्यासहरूमा सुधार ल्याउनका लागि प्रमाणमूलक नीतिहरू बनाउन नेपालका कानून निर्माताहरूलाई सहयोग गर्नेछ । वन अनुसन्धान तथा तालिम केन्द्रले सर्भिर–हिन्दूकूश हिमालय पहल कार्यक्रमको सहयोगमा राष्ट्रिय भूआवरण अनुगमन प्रणालीको विकास गरेको हो । सर्भिर–हिन्दूकूश हिमालय अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएड), नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(इसिमोड)को संयुक्त पहल कार्यक्रम हो ।
वन तथा वातावरण मन्त्रालय, नेपाल सरकार, युएसएड र इसिमोडले संयुक्त रूपमा आयोजना गरेको पृथ्वी दिवस कार्यक्रमको अध्यक्षता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा इसिमोड सञ्चालक बोर्ड अध्यक्ष विश्वनाथ पौडेलले गरेका थिए ।
सो अवसरमा बोल्दै वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले सन् २०४५ सम्ममा कभर्बन स्थिरता (न्यूट्रलिटी) हासिल गर्ने र त्यसपछि कार्बन नेगेटिभ हुने भनेर कोप२६ मा नेपालले विश्वस्तरमा गरेको प्रतिबद्धताको स्मरण गराए । यो प्रतिबद्धता पूरा गर्न वन क्षेत्रका नीति निर्माण, योजना तर्जुमा र व्यवस्थापनका लागि राष्ट्रिय भूआवरण अनुगमन प्रणालीलाई संस्थागत गर्ने कुरामा वन तथा वातावरण मन्त्रालय प्रतिबद्ध रहेको पनि उनले बताए ।
आफ्नो मनतव्य राख्ने क्रममा युएसएडअन्तर्गतको उत्थानशीलता तथा खाद्य सुरक्षा विभागका उपसहायक प्रशासक माइकल मिचेनरले विज्ञान तथा प्रविधिको एकसाथ उपयोग गरी वातावरणीय चुनौतीहरूको अनुगमन तथा प्रतिकार्यमा मुलुकहरूलाई सबल बनाउने कार्यमा नासा र युएसएडबीचको सशक्त सहकार्यलाई सर्भिरले देखाएको कुरा स्पष्ट पारे । उनले भने, “जलवायु परिवर्तनसम्बन्धी अर्थपूर्ण कार्यले सिर्जना गर्ने अवसरहरूको सदुपयोग गर्न हामी नेपाल सरकारसँग मिलेर कार्य गर्न प्रतिबद्ध छौँ र नेपालको हरित, उत्थानशील र समावेशी विकासलाई अगाडि बढाउन हाम्रो साझेदारीलाई निरन्तरता दिन तत्पर छौँ ।”
त्यसैगरी, इसिमोडको महानिर्देशक पेमा ग्याम्त्सोले हिन्दुकुश हिमालय क्षेत्र जलवायु परिवर्तनबाट सबभन्दा धेरै प्रभावित हुने उच्च जोखिम क्षेत्र भएको बताउँदै भूउपयोग योजना, पारिस्थितिकीय प्रणालीका सेवाहरूलाई दिगो बनाउन र जलवायु परिवर्तनप्रति उत्थानशीलता अभिवृद्धि गर्नका भूआवरण तथा भूउपयोग परिवर्तनको नियमित अनुगमन महत्वपूर्ण रहेको कुरामा जोड दिए ।
उक्त कार्यक्रममा वन अनुसन्धान तथा तालिम केन्द्रका महानिर्देशक याम पोखरेलले राष्ट्रिय भूआवरण अनुगमन प्रणालीले कसरी काम गर्छ भन्ने बारेमा स्पष्ट पारे । उनले यस प्रणालीको अवधारणा विकास, सफ्टवेयरको विकास र भूआवरण नक्साङ्कनमा नवीनतम विधिहरू समावेशमा सहकार्यरत पक्षहरूको सहयोगप्रति कृतज्ञता व्यक्त पनि गरे ।
नेपालको राष्ट्रिय वनआवरण तथ्यांक पछिल्लो पटक सन् २०१५ मा अद्यावधिक गरिएको थियो । राष्ट्रिय भूआवरण अनुगमन प्रणालीले ११ वटा विशिष्ट भूआवरण प्रकारहरूमा वर्गीकृत वार्षिक तथ्यांक उपलब्ध गराउने छ । यस प्रणाली प्रयोगकर्ताहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय रिपोर्टिङ अनुरूप हुनेगरी तथ्याङ्क विकास गर्न यी वर्गीकरणहरूलाई परिमार्जन गरी थप अनुकूलन गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्