Logo

प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट, देवराज जोशी, पूर्ण कुँवर, ज्ञानेन्द्र बुढा, नरेन्द्र शाही, धनबहादुर विष्ट, गणेश विष्टविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले विज्ञप्तीमा जनाएको छ ।
विभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षणमा स्थानीय जनप्रतिनिधी, सम्बन्धित निर्माण व्यवसायी र ठेक्का कार्यान्वयन गराउने नगरपालिकाका प्राबिधिकहरुको उपस्थितिमा गुणस्तर परीक्षण नतिजा बाहेक खुद नापजाँचबाट निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गराइएको पाइएको आयोगले जनायो ।
त्यससम्बन्धी प्रतिवेदनमा अनुसन्धान हुँदा प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाई हानिनोक्सानीमा संलग्न रहेको भेटिएको अख्तियारले उल्लेख गरेको छ ।
यस्तै, इन्जिनियर र सबइन्जिनियरले गुणस्तरहीन कार्य गराई, नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्कन गरेको, साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिएको अख्तियारले उल्लेख गरेको छ ।
उनीहरुलाई सजायको मागदाबीसहित अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को दफा ३५ बमोजिम विहीबार विशेष अदालत काठमाडौंमा आयोगले आरोपपत्र दायर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्