१० प्रतिशत आर्थिक वृद्धि पनि अपर्याप्तः प्रधानमन्त्री «

१० प्रतिशत आर्थिक वृद्धि पनि अपर्याप्तः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि दोहोरो अंकको वृद्धि आवश्यक रहे पनि १० प्रतिशतमात्रैको वृद्धिले मुलुकको आवश्यकता सम्बोधन नहुने बताएका छन् । उनले १० प्रतिशत वृद्धि अर्को वर्ष नै हासिल हुने उल्लेख गर्दैै आफूले त्योभन्दा निकै माथिको वृद्धिका लागि काम गरिरहेको दावी गरे ।
नेपाल उद्योग परिसंघको १७ औं वार्षिक साधारणसभाको सोमबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, “अहिले आर्थिक विकासका लागि सबै कुरा अनुकुल छ, हामी माथि बस्नेले लिड गर्न सक्यौं भने माथिल्लै लेभलको दोहोरो अंकको वृद्धि पनि सम्भव छ ।” ओलीले उद्यमी व्यवसायी र राजनीतिकर्मीहरूलाई माथिल्लो लेभल र आम सर्वसाधारणलाई तल्लो लेभलको संज्ञा दिएका हुन् । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंकलगायतले चालू आर्थिक वर्षको वृद्धि ७ प्रतिशतभन्दा न्यून रहने प्रक्षेपण गरिरहेका बेला प्रधानमन्त्रीले भने १० प्रतिशत वृद्धिको नजिक रहेको धारणा सार्वजनिक गरेका हुन् । तर, कसरी माथिल्लो लेभलको दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने भन्ने कुनै ठोस कार्ययोजना भने उनले सम्बोधनका क्रममा प्रस्तुत गरेनन् ।
प्रधानमन्त्रीले सुशासन र विकासमा आफूहरू केन्द्रित हुने भन्दै व्यवसायमा निर्धक्क भएर लगानी गर्न व्यवसायीहरूलाई आग्रह पनि गरे । उनले भने, “कमाउनका लागि कुनै अनफेयर काम गर्नुपर्दैन, फेयर कारोबार गरेर पारदर्शी रूपमा मार्जिन देखाएरै व्यवसाय गर्नुस्, हामी केही गर्दैनौं ।” केही व्यवसायीले त्रासका कारण आफूसँग भएको पुँजीसमेत लगानी गर्न नसकेको उल्लेख गर्दै उनले सही तरिकाले कमाएको सम्पत्ति लगानी गर्न डराउनु नपर्ने धारणा राखे । “तपाइँहरू लगानी गर्नुस्, कुन ठाउँमा केकस्तो सहयोग र सहजीकरण गर्नुपर्छ हामी तयार छौं,” उनले भने, “यो परिस्थितिलाई सहयोग किन नगर्ने ?” एक अर्को प्रसंगमा चिनी व्यवसायीले आफूलाई झुक्याएर कृत्रिम मूल्यवृद्धि गरेको भन्दै आक्रोशित बनेका थिए ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले समृद्धिको सपना साकार पार्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखिएको बताए । “औद्योगिक विकासको बाटो खुलेको छ, नियम कानुन क्रमशः परिमार्जन हुँदैछन्, शासकीय सुधारका कामलाई पनि गतिशील तुल्याइएको छ,” उनले भने । परिसंघका प्रेसिडेन्ट इमिरेट्स विनोद चौधरीले २०४८ पछि मुलुकमा आर्थिक सुधारको गति अघि बढेको र त्यसयता निजी क्षेत्रले फर्केर हेर्नु नपरेको भन्दै सुधारका पक्षमा भएका तथ्यांक प्रस्तुत गरेका थिए । “हाम्रो विकास प्रणालीमा नीतिको हैन नैतिकताको खडेरी छ । स्रोतको होइन स्रोतको परिचालनमा समस्या छ । आफ्नो जिम्मेवारी क्षेत्रको काम फत्ते गरेर नतिजा देखाउँ भन्ने भोकको अभाव छ,” चौधरीले भने, “काम गर्नेलाई पुरस्कार र नगर्नेलाई कारबाहीको व्यवस्थापन नगरेसम्म विकास परियोजनामा अपेक्षित परिणाम पाउन गाह्रो छ । कार्य सम्पादन मूल्यांकनलाई नतिजासँग जोडेर हेर्ने प्रणालीको विकास गर्नु आवश्यक छ ।”
परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले निजी क्षेत्र र सरकारबीच समन्वय र सहकार्यमा जोड दिए । यस्तै, नवनिर्वाचित अध्यक्ष सतिशकुमार मोरले हालै सम्पन्न लगानी सम्मेलनबाट नयाँ ऊर्जा प्राप्त भएको र त्यसको प्रतिफलका लागि सहकार्य हुनुपर्ने धारणा राखे ।

 

प्रतिक्रिया दिनुहोस्