चुनौतिका बीच सुरक्षासहित निर्वाचन हुने «

चुनौतिका बीच सुरक्षासहित निर्वाचन हुने

गुल्मी – निर्वाचन गर्न धेरै चुनौती रहेको गुल्मीका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताएका छन् । रेसुङ्गा नगरपालिका हेर्ने गरेर स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तम्घासमा उद्घाटन गर्दै निर्वाचन गर्न धेरै चुनौती रहेको उप्रेतीले बताएका हुन् ।
“चुनौतीका बीच पनि मतदातालाई उत्साहपूर्वक सहभागी गराउन राजनीतिक दलहरूले सहजीकरण गर्नुपर्ने हुन्छ ।” मुख्य निर्वाचन अधिकृत उप्रेतीले भने, “बदर मत कम गर्न निर्वाचन कार्यालयसँगै दलहरूको विशेष भूमिका खेल्न आग्रह गर्दछु ।” उनले गाउँ–गाउँमा मतदाता शिक्षा सञ्चालन गर्न समेत अनुरोध गरे । गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षाको प्रबन्ध मिलाइएको बताएका छन् । चुनौति भएपनि सुरक्षासहित निर्वाचन हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले राजनीतिक दलहरूको मनोनयन तालिका सार्वजनिक गरेको छ । नेकपा एमालेका लागि ११ गते दिउँसो २ देखि ४, नेपाली कांग्रेसका लागि १२ गते दिउँसो २ देखि ४ र नेकपा माओवादी केन्द्रको लागि ११ गते दिउँसो १२ देखि २ बजेसम्म मनोयनको समय तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका लागि १२ गते दिउँसो १२ देखि २, जनता समाजवादी पार्टीका लागि ११ गते बिहान ११ देखि १२, राट्रिय प्रजातन्त्र पार्टी नेपालका लागि ११ गते दिउँसो २ देखि ४, राट्रिय प्रजातन्त्र पार्टीका लागि ११ गते बिहान १० देखि ११ बजे र राट्रिय जनमोर्चा पार्टीका लागि १२ गते बिहान १० देखि ११ बजेसम्म मनोयनको समय तोकिएको गुल्मीका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए ।

साथै राष्ट्रिय जनमुक्ति पार्टी गुल्मी, नेकपा माले, बिबेकशील साझा पार्टीकन नलगि ११ गते दिउँसो ४ देखि ५ बजेसम्म मनोयनको समय तोकिएको छ । मंगोल नेसनल अर्गनाइजेसन, नेपाली कांग्रेस बीपी, सामाजिक एकता पार्टी, उन्नत लोकतन्त्र पार्टी नेपाल र जन समाजवादी पार्टी नेपालका लागि १२ गते दिउँसो ४ देखि ५ बजेसम्म समय तोकिएको कार्यालयले जनाएको छ । स्वतन्त्र उमेदवारका लागि ११ गते बिहान १० देखि ११ बजेसम्म र अन्य दलका लागि १२ गते १० देखि ११ बजेसम्म मनोयनको समय तोकिएको छ । रेसुङ्गा नगरपालिका तम्घासमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका ११ सथानीय तहमा निर्वाचन कार्यालय स्थापना भएको छ ।

गुल्मीमा कुल २ लाख २४ हजार २ सय ७६ जना मतदाता छन् । जसमध्ये १ लाख १० हजार ५९ जना पुरुष र १ लाख १४ हजार २ सय १५ जना महिला रहेका छन् । २ जना अन्य मतदाता छन् । जिल्लामा महिला मतादाताको संख्या धेरै छ । जिल्लामा २०७८ सालको जनगणना अनुसार कुल जनसंख्या २ लाख ४६ हजार ८ सय ३६ जना छ । जसमध्ये पुरुष १ लाख १२ हजार ७ सय ८८ जना रहेका छन् । महिला १ लाख ३४ हजार ४८ जना छन् । निर्वाचनको लागि १ सय ४२ मतदान स्थल छ भने २ सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले बताइन् ।

प्रतिक्रिया दिनुहोस्