दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन «

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन


७० वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट सञ्चालनमा आएको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग हुँदै बिहीबार बिहान यति एयरलाइन्सको एटीआर–७२ विमानले भैरहवा–काठमाडौँका लागि पहिलो उडान भरेसँगै विमानस्थल सञ्चालनमा आएको हो । योसंँगै सो विमानस्थलबाट उडान-अवतरण सुरु भएको छ । आन्तरिकका लागि नयाँ धावनमार्ग बिहीबारबाट सञ्चालनमा ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक देवचन्द्रलाल कर्णले बताए । उनले भने, “गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै बिहीबारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा दोस्रो अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल आएको छ ।”
विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएको छ । आन्तरिक उडानका लागि बिहीबार सञ्चालनमा आएको भए पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन आगामी २ जेठका दिन पर्ने बुद्ध जयन्तिमा गर्ने उप–महानिर्देशक कर्णले बताए । जेठको २ गते राति २ बजेर ३० मिनेटमा कुबेत सिटीका लागि भौरहवाबाट जजिरा एयरवेजले विमान एयरबस–३२० निओले व्यावसायिक उडान भर्नेछ । सातामा तीन उडान गर्ने गरी जजिरा एयरवेजले उडान अनुमति पाएको छ । कर्णले भने, “जेठ २ गतेबाट सोमबार, बुधबार र शुक्रबार कुबेत–भैरहवा उडान गर्नेछ ।” हाल जजिराले काठमाडौंका लागि दैनिक उडान भर्दै आएको छ ।
बिहीबारबाट नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो एक हजार पाँच सय मिटर लामो पुरानो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उडान सुरुवात बुद्ध जयन्तिका दिन नै गर्ने तय भएको बताए । उनले भने, “एसियाली विकास बैंक र नेपाल सरकारको गरी कुल साढे ११ अर्ब रुपैयाँको लगानीमा निर्माण भएको सो विमानस्थल धार्मिक पर्यटकका लागि महत्वपूर्ण रहेको छ । यसले नेपालको पर्यटक आगमन वृद्धि गर्नमा कोसेढुंगो सावित हुनेछ ।”
नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँंगै पश्चिम भेगबाट कतारका लागि वैदेशिक रोजगारीका लागि काठमाडौं आइरहनु नपर्ने भएको छ । नयाँ विमान सेवाले कुबेतको राजधानी कुबेत सिटीबाट गौतमबुद्ध विमानस्थलमा सिधा उडान भर्ने भएका कारण नेपालको पश्चिमी भेगबाट वैदेशिक रोजागारीमा जानेका लागि वैकल्पिक व्यवस्था भएको छ । कुबेत–भैरहवा–कुबेत सिटीमा सिधा उडान हुने भएसँगै नेपालको पश्चिम भेगबाट वैदेशिक रोजगारीका लागि काठमाडौं आउनुु पर्ने बाध्यताको अन्त्य हुनेछ ।

अन्य देशमा डाइर्भट गर्नु नपर्ने
अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो विकल्पको रूपमा विमानस्थल तयार भएका कारण अब काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम तथा अन्य प्राविधिक समस्या आएर अन्तर्राष्ट्रिय उडानहरू मुलुक बाहिर डाइर्भट गर्नु नपर्ने भएको छ । अन्तर्राष्ट्रिय उडानका विमानहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेमा विमान अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । यसअघि मुलुकमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नहुँदा छिमेकी मुलुकमा विमान डाइभर्ट हुँदै आएका थिए ।
सन् २०१४ मा सुरु भएको सो विमानस्थल सन् २०१७ को अन्त्यमा निर्माण सम्पन्न हुनु पर्ने भए पनि विभिन्न प्राविधिक कारणले गर्दा पाँच वर्ष ढिला सञ्चालनमा आउन लागेको प्राधिकरणले जनाएको छ । महानिर्देशक अधिकारीले विमानस्थलको व्यावसायिक रूपमा सञ्चालन गर्न गठित विमानस्थलको महाप्रबन्धक र विभागीय प्रमुखहरूले समितिले काम गरिरहेको बताए । गठन गरिएकोे समितिले तय भएको मितिमा उडान गर्नका लागि सरोकारवाला निकायसँगको संयोजनमा काम गर्ने जिम्मेवारी तोकिएको छ । इन्टुमेन्टल ल्यान्डिङ सिस्टम जडान भएको सो विमानस्थलमा कम भिजिविलिटिमा पनि उडान तथा अवतरण गर्ने सक्ने छ ।
भैरहवा विमानस्थलले वार्षिक १५ लाखसम्म यात्रुलाई सेवा दिने महानिर्देशक अधिकारीले बताए । दसैंपछि निर्माण सुरु हुने टर्मिनल भवन बनेपछि ७० लाख यात्रुलाई सेवा दिनसक्ने बताए । विमानस्थलमा वायुयान कम्पनीहरूललाई कस्तो सेवा सुविधा दिएर आकर्षित गर्न भन्नेबारे चाँडै सरकारले तय गर्न महानिर्देशक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्