बेनीमा प्रथम पर्यटन महोत्सव सुरु «

बेनीमा प्रथम पर्यटन महोत्सव सुरु

म्याग्दीको सदरमुकाम बेनीमो प्रथम पर्यटन महोत्सव सुरु भएको छ । रेडियो म्याग्दीले नयाँ वर्ष र रेडियोको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको महोत्सव शनिबारदेखि खुलामञ्चमा सुरु भएको हो ।
रेडियो म्याग्दी १०४.४ मेगाहर्जको ११ औं वार्षिकोत्सवको अवसरमा ‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ यही चैत २३ गतेदेखि ०७६ वैशाख १ गतेसम्म सञ्चालन हुने पर्यटन महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सांसद विनोद केसीले गरेका थिए ।
उद्घाटन कार्यक्तममा सांसद केसीले रेडियोद्वारा आयोजित पर्यटन महोत्सवको सफलताको उद्घोष गर्दैै गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन, जलस्रोत, उद्योग र कृषि भएको बताए । सुखी नेपाली समृद्ध नेपाल भन्ने मूल नारालाई सफल बनाउनल प्रदेशले यी चार क्षेत्रको विकासका लागि नीति नियम निर्माणमा प्राथमिकता दिएको बताए । उनले जिल्लाको दिगो विकासको आधार पर्यटन र स्थानीय कृषि उत्पादनको वृद्धि बजार व्यवस्थापनका लागि प्रचार–प्रसारको आवश्यक रहेको बताए । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लाको चौतर्फी विकासको लागि सहयोग पु-याउने प्राकृतिक सम्पदा र स्थानीय उत्पादनको प्रचार–प्रसार गर्न पर्यटन महोत्सव आवश्यक रहेको बताउँदै महोत्सवको सफलताको शुभकामना दिएका थिए ।
कार्यक्तम सुरु अघि विभिन्न जातजातिहरूले साँस्कृतिक झाँकीसहित बेनीबजार परिक्रमा गरेका थिए । स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको साँस्कृतिक प्रस्तुति रहने महोत्सवमा खुल्ला लोकदोहोरी गीत प्रतियोगीता, म्याग्दी डान्स आइडलका रूपमा एकल नृत्यलगायतका प्रतियोगिता हुने छन् ।

 

प्रतिक्रिया दिनुहोस्