Logo

पर्यटक आगमन सुधारले जगाएको आशा

पर्यटक आगमनमा देखिएको सुधार यही अवस्था रहे सन् २०२२ को अन्त्यसम्म कोभिड–१९ कै लयमा फर्किने आशा देखिएको छ । कोभिड–१९ को महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किएको छ । कोभिड–१९ का कारण विगत दुई वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्र पछिल्लो समय पर्यटन आगमनमा वृद्धि भएसँगै लयमा फिर्ता हुने क्रममा छ । सन् २०२० को अन्त्यमा फैलिएको कोभिड–१९ का कारण पछिल्लो समय पर्यटक आगमनमा गिरावट आएको थियो । सन् २०२२ देखि नेपालमा पर्यटक आगमनमा सुधार हुँदै आएको छ । सन् २०२२ को पहिलो महिना जनवरीमा करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका थिए । दोस्रो महिना सन् २०२२ को फेब्रुअरीमा २० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए भने मार्चमा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ४२ हजार पुगेको छ । यसरी नेपाल भ्रमण गर्ने पर्यटक हवाईमार्ग हुँदै नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ । गत वर्ष सोही अवधिमा १४ हजार ९ सय ७७ पर्यटक मात्रै भित्रिएका थिए । सोही अवधिमा सन् २०२० मा भने ४२ हजार ७ सय ७६ पर्यटक नेपाल आएका थिए । सन् २०२२ को पहिलो महिनाबाट नै नेपालमा पर्यटक आगमनमा सुधार हुँदै गएकाले गर्दा आगामी अक्टोबार महिनासम्म कोभिड–१९ पूर्वकै अवस्थामा नेपालको पर्यटन आगमनमा सुधार हुने बताइएको छ । अमेरिका, युरोपबाट पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुँदै गएको छ भने बंगलादेशबाट पनि पर्यटक आगमनमा वृद्धि भएकाले गर्दा सार्क मुलुकका देश विशेषगरी बंगलादेश, भारत र श्रीलंकालाई जोड दिएर प्रचारप्रसारमा जोड दिने बोर्डले जनाएको छ । पछिल्लो समय बंगलादेशको आगमनले उत्साह थपेको व्यवसायीहरू बताउँछन् ।
पर्यटन व्यवसायीहरूले पनि पर्यटक आगमनमा सुधार हुँदै आएको अवस्था छ । कोभिड–१९ पछिको यो समयमा पर्यटकको चहलपहल बढेको जनाएका छन् । भारतीय पर्यटकहरू मुस्ताङ, मनाङको मुक्तिनाथ, अन्नपूर्ण यात्रामा पोखरा हुँदै गइरहेका छन् । पोखरामा पर्यटक आगमनमा सुधार हुँदै गएको व्यवसायीहरूले बताएका छन् । यही अवस्था रहेको खण्डमा भने सन् २०२२ को अन्त्यसम्ममा नेपालमा पर्यटक आगमन कोभिड–१९ कै लयमा फिर्ता हुने पछिल्लो समय भारतमा उडान संख्यामा वृद्धि भएपछि भारतीय पर्यटकको संख्यामा वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । भारत तथा सार्क मुलुकका मुख्य सहरमा उडान संख्यामा वृद्धि गरेर नेपालमा पर्यटक आगमनमा अझ सहजीकरण गर्ने हो भने ठूलो मात्रामा पर्यटक नेपाल आउने बोर्डले जनाएको छ । पर्यटक आगमनमा सुधारसँगै सन् २०२२ भित्रै नेपालको पर्यटन सन् २०१९ कै लयमा फिर्ता हुन्छ त भन्ने विषयमा सरोकारवालासँग कारोबारले गरेको कुराकानीको सार :

आगमन दरले उत्साह थपेको छ
दीपकराज जोशी
पूर्व प्रमुख कार्यकारी अधिकृत
नेपाल पर्यटन बोर्ड

पर्यटकको आगमन दर हेर्दा नेपालको पर्यटन रिभाइबल चाँडै हुने आधार देखिएको छ । सन् २०२२ को पछिल्लो चार महिनाको पर्यटक आगमन दर हेर्ने हो भने पनि पर्यटक आगमन दरमा सुधार हुँदै गएको छ । अहिले कोभिड–१९ पछि संसारभरका मान्छेहरू घुमघाममा सुरक्षित र जोखिम कम भएका गन्तव्यमा निस्किने ट्रेन्ड बढेर गएको छ । नेपालमा पर्यटन व्यवसायीहरूका अनुसार पछिल्लो समयमा नेपालमा भ्रमण गर्न चाहनेको संख्यामा वृद्धि हुँदै गएको छ । आगामी सिजनका लागि नेपालमा घुम्नका लागि पर्यटकहरूले बुकिङ गरिरहेको र इन्क्वायरी बढेर गएको बताएका छन् । हाल भइरहेको बुकिङ सन् २०१९ कै हाराहारीमा भएको उनीहरूले बताउँदै आएका छन् । यसले गर्दा सन् २०२२ भित्रै नेपालको पर्यटन सन् २०१९ अगाडिकै लयमा फिर्ता हुने आधार बनेको हो । यति हुँदाहुँदै पनि जति मात्रामा हामीले गर्न सक्ने हो र हाम्रो क्षमता हो, त्यति हामीले गर्न नसकिरहेको अवस्था छ । भारत तथा अन्य देशमा कोभिड–१९ को संक्रमण वृद्धि भइरहेको अवस्था छ । यसका लागि हामीले केही काम गर्न तीव्र रूपमा गर्नुपर्ने देखिएको छ । त्यो भनेको के हो भने हाम्रो गन्तव्य निकै सुरक्षित छ है, गन्तव्य सुरक्षित गर्नका लागि प्रोटोकलहरूको अनुगमन नियमित रूपमा भइरहेको छ । खोपको मात्रा पनि हामीले धेरै मात्रामा लगाइसकेका छौं । करिब ८० प्रतिशतले नेपालमा कोभिडविरुद्धको खोप प्रयोग गरेका छौं । पर्यटन क्षेत्रका व्यक्तिहरूले पनि धेरै मात्रामा खोप लगाएका छन् । यो सबै हाम्रो सकारात्मक सन्देशलाई विश्वभरका हाम्रो स्रोत बजारमा कुनै न कुनै माध्यमबाट फैलाउन जरुरी छ । अर्काे भनेको संसारका धेरै देशले खोल्दै जान थालेका छन् । खोल्दै जान थालेपछि एक खालको प्रतिस्पर्धा पनि हुन्छ, सीमित बजेटका बाबजुद मान्छेहरू दुई वर्षको कोभिड–१९ को महामारीपछि निस्किँदै छन् । यात्रा सहज र कम खर्चिलो बनाउन एभिएसन क्षेत्रको ठूलो हात हुन्छ । नेपालमा यात्रा भर्ने वायुयान कम्पनीहरूलाई सरकारले एकदमै धेरै प्रोत्साहन गर्नुपर्ने र आकर्षण गर्न सकेमा यहाँको थप पर्यटन आगमन दरमा वृद्धि गर्न सकिन्थ्यो । नेपालमा जति धेरै वायु यान कम्पनीलाई जोड्न सक्यो त्यति धेरै छिटो नेपालको पर्यटन उत्थान हुन्छ । पछिल्लो समय छिमेकी राष्ट्रमा कोभिड–१९ संक्रमण वृद्धि भए पनि हामी त्रसित हुनुपर्ने, डराउनुपर्ने अवस्था नभए पनि सचेत भने हुनुपर्छ । आजभन्दा करिब डेढ वर्षअगाडि जस्तो मनोगत डर थियो, पछिल्लो समय त्यो डर कम भएर गएको छ । यसले गर्दा लकडाउन हुने अवस्था पनि छैन । सचेत हुँदै हामीले हाम्रो स्रोत बजारमा आन्तरिक तयारी गर्दै प्रोमोसन मार्केटिङ प्रचारलाई नियमित रूपमा अगाडि बढाउनुपर्छ । यसो भएमा हामीले महामारी अगाडिकै अवस्थामा बाँकी आउने महिनामा नेपालको पर्यटन बजारलाई फर्काउन सक्छौं । नेपालको पर्यटन बजारमा रूस र युक्रेनबाट करिब–करिब १० हजारको हाराहारीमा आउने गरेका थिए । दुवै देशमा भएको यो युद्धका कारण एयर फ्युलमा वृद्धि भएको छ, साथै युरोपबाट आउने साहसिक पर्यटकको संख्यामा कमी आएको छ । यसको पूर्ति गर्नका लागि नयाँ बजार र नयाँ स्रोतको पहिचान गर्नु आवश्यक छ । यसको पूर्ति पछिल्लो समय बंगलादेश भएको छ भने भारतका सिटी तथा मिडिल इस्ट, साउथ इस्टका देशहरू भएका छन् । यसरी स्रोत बजार हेर्दा रणनीति बनाउँदै लागेको अवस्थामा हामीले नेपालमा पर्यटक आगमन दरमा वृद्धि गर्न सक्छौं ।
पछिल्लो समय भारतीय नागरिकको संख्यामा वृद्धि भएको छ । उसकै हाराहारीमा बंगलादेशीलाई पनि बढाउन सक्छौं । बंगलादेशमा पछिल्लो समय राम्रो स्रोत बजारको रूपमा विकास हुँदै गएको छ । आन्तरिक उडानमा विस्तार गरेको बुद्ध एयरले अन्तरप्रदेश उडानले पनि भारतीय नाकाबाट नेपालमा पर्यटक आगमन दरमा वृद्धि भएर गएको छ ।

पर्यटन बजार पुरानै लयमा फर्कने क्रममा छ
लक्ष्मण सुवेदी
अध्यक्ष
होटल संघ पोखरा

पछिल्लो चार महिनायता नेपालमा पर्यटक आगमन वृद्धि भएको नेपाल पर्यटन बोर्डको तथ्यांकले पनि देखाएको छ भने पोखरामा भारतीय तथा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा वृद्धि भएको अवस्था छ । हामीले नयाँ वर्षमा पर्यटकीय नगरी पोखरामा १६औं फेवा नवमहोत्सव सम्पन्न भयो । १७औं फेवा नववर्ष महोत्सवका दुई दिन चैत ३० र वैशाख १ मा आयोजना गरिएको थियो । विगतमा महोत्सवपछि बजारमा पर्यटकको संख्यामा कमी आउने गरेको थियो, तर यो वर्ष त्यस्तो छैन । पोखरा आसपासमा पर्यटकको उपस्थिति बाक्लो देखिन्छ । १२ सय होटल ४० हजार बेड क्षमता रहेको पोखरामा करिब ४ खर्ब रुपैयाँ लगानी रहेको छ । अहिले करिब ५० प्रतिशत बढिको हाराहारीमा अकुपेन्सी रहेको छ ।
यसरी हेर्दा आगामी महिनामा नेपालको पर्यटक आगमनमा सुधार हुने देखिएको छ । यही फ्लो र समय अनुकूल रहेको अवस्थामा सन् २०२२ भित्रै नेपालको पर्यटक आगमन दरमा सुधार हुने देखिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा पनि मैले दैनिक अपडेट लिने गरेको छु, दैनिक २ सयभन्दा बढी तेस्रो मुलुकबाट र भारतबाट ५ सय हाराहारीमा पदयात्रा जाने गरेका छन् । त्यस्तै मुक्तिनाथ, मुस्ताङ पदयात्रामा विदेशी पर्यटकले संख्या पनि उल्लेख्य रहेको छ । यही अवस्थामा पर्यटक आगमन दर वृद्धि हुँदै जाने हो भने आगामी मौसममा अझै पर्यटकको संख्यामा वृद्धि हुनेमा आशावादी छौं । फेवाताल आसपासका क्षेत्रमा पर्यटकको चहलपल देखिन्छ । युरोपेली पर्यटक (तेस्रो मुलुक) तथा भारतीय र बंगलादेशी पर्यटकको समेत पदयात्रामा आकर्षण देखिएको छ । पछिल्लो समय कोभिड–१९ को त्रास पनि कम भएको र नेपाल सुरक्षित रहेको सन्देश गएकाले पनि पर्यटकको आकर्षण देखिएको छ । यो सिजन पर्वतारोहण गर्ने समय भएकाले गर्दा पनि पर्यटक आगमन दरमा वृद्धि हुँदै गएको हो । बुधबारसम्म मात्र २३ हिमाल आरोहणका लागि ७३ देशका ८ सय ३३ विदेशीले हिमाल आरोहणका लागि अनुमति लिएको नेपाल पर्यटन विभागले जनाएको छ । यसरी हेर्दा अब पर्यटकको आगमनमा वृद्धि हुने नै देखिन्छ । हामीले पनि नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्न जरुरी छ । यसो भएमा थप पर्यटक आगमन दरमा वृद्धि हुन्छ । मूलतः भारत तथा बंगलादेशमा हामीले प्रचारप्रसारमा जोड दिनुपर्ने देखिन्छ । विगतमा पनि चलिए पोखरा अभियान चलाएका थियौं । यसले भारतीय पर्यटकको संख्यामा वृद्धि भएको थियो । यो वर्ष पनि नेपाल पर्यटन बोर्ड पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाको सहभागितामा भारतका सहरमा प्रचारप्रसार हुँदै छ, उसले नेपालमा पर्यटक आगमन दरमा वृद्धि हुने नै छ ।
कोभिड–१९ पछि दुई वर्ष सुस्ताएको नेपालको पर्यटन बजार यही अवस्था रहेमा सन् २०१८÷१९ अवस्थामा नेपालको पर्यटन बजार फिर्ता हुने देखिन्छ । एक्यापका अनुसार मार्च महिनामा १२ हजार २ सय २९ पर्यटक पदयात्रा निस्किएका थिए । सन् २०२२ को पहिलो महिना जनवरीमा करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका थिए । दोस्रो महिना सन् २०२२ को दोस्रो (फेब्रुअरी) महिनामा २० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए भने मार्च महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ४२ हजार पुगेको छ । तीमध्ये धेरैजसो पोखरा आउने गरेका छन् ।
समय यही अवस्था रहिरहे पर्यटक आगमन र पर्यटन उद्योगमा राम्रो सुधार आउने देखिन्छ । पछिल्लो समय नेपालमा बंगलादेशी पर्यटकको आगमनमा पनि वृद्धि हुँदै गएकाले गर्दा पनि नेपालको पर्यटन बजार पुरानै लयमा फिर्ता हुने क्रममा रहेको छ । गत बुधबार बिहीबार पोखरा र पोखरा आसपासको होटलमा ९५ प्रतिशत अकुपेन्सी रहेको थियो, नयाँ वर्षमा आन्तरिक र बाह्य गरेर ७० हजारभन्दा बढी पर्यटकले पोखरा भ्रमण गरेका छन् । कोभिडको त्रास कम भएसँगै पछिल्लो समय भारतीय तथा तेस्रो मुलुकबाट आउने पर्यटकको उपस्थिति पोखरामा वृद्धि हुँदै गएको छ । यो सिजन ट्रेकिङमा जाने सिजन भएकाले गर्दा पनि यो समयमा पोखरामा पर्यटक आगमन दर राम्रो छ । अब भने पर्यटन उद्योगमा आशा पलाएको छ । शून्यको अवस्था नरहला हामीले पनि पछिल्लो समय खर्चालु पर्यटक आएका छन् । यसले गर्दा नेपालको पर्यटन उद्योग पुरानै लयमा फिर्ता हुने क्रममा रहेको छ ।
मूलतः भारतीयहरू पोखरा आसपासका ट्रेकिङमा रमाइरहेको र पर्यटकीय नगरी पोखरा मूलतः प्रकृतिको सहर भएकाले गर्दा पछिल्लो समय पोखरा आसपासमा पनि पर्यटकीय गन्तव्यहरूको विकास भएकाले थप आकर्षण बढेको छ । यतिमात्र नभएर पछिल्लो समय पोखरामा थपिएका बन्जी, केबलकार, जिपलाइन, शिवको मूर्ति रहेका छन् । यसले पनि पर्यटकको बसाइ लम्ब्याउन मद्दत गर्छ । अन्नपूर्ण, मुस्ताङ, मुक्तिनाथ, मनाङ, प्रवेशद्वार पोखरा भएकाले गर्दा पछिल्लो समय पोखरामा पर्यटकको महत्व बढेर गएको छ । यसका अतिरिक्त पछिल्लो समय बुद्ध एयरले पोखराबाट अन्तरप्रदेश उडान सुरु गरेसँगै भारतीय नाकाबाट आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तिम चरणमा रहेको छ । पोखराबाट भारत तथा चीनसँग सीधा हवाई उडान गर्न सकेमा यहाँ आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएर जानेछ ।

प्रतिक्रिया दिनुहोस्