ऊर्जामा सहकार्य गर्न बिमस्टेक मुलुक सहमत «

ऊर्जामा सहकार्य गर्न बिमस्टेक मुलुक सहमत

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक बुधबार सम्पन्न भएको छ ।
मंगलबार तथा बुधबार भर्चुअल माध्यमबाट सम्पन्न भएको बैठकमा बिजुली व्यापारमा महत्वपूर्ण सफलता मिलेको ऊर्जा मन्त्रालयले जनाएको छ । बैठकमा ऊर्जा व्यापार सहजीकरण, ‘ग्रिड कनेक्सन’ गुरुयोजना तयार पार्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्न बिमस्टेक मुलुक सहमत बनेको हुनाले विद्युत ब्यापारमा सफलता मिलेको ऊर्जा मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा ग्रिड अन्तर सम्बन्ध कार्यान्वयन तथा आवश्यक कार्ययोजना तयार गर्न र ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन कोअर्डिनेसन कमिटी’ स्थापना गर्न सहमति भएको भन्दै मन्त्रालयले एसियाली विकास बैंकको सहयोगमा बिमस्टेक ग्रिड पारस्परिक जडान समन्वय समितिसम्बन्धी गुरुयोजना बनाउन पनि बैठक सहमत भएको जनाएको छ ।
साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अध्यक्षता गरेको बैठकले ऊर्जा व्यापारका लागि नीति एवं ट्यारिफ प्रणाली विकास गर्ने विषयमा पनि सहमति गरेको छ । बिमस्टेक राष्ट्रहरूबीच ऊर्जा व्यापारमा सहकार्यको योजना बनाउन विशेषज्ञसहित समूह विकास गर्ने समझदारी तथा ऊर्जासम्बन्धी अनुसन्धानका लागि र सदस्य राष्ट्रहरूबीच अनुभव आदानप्रदान एवं सहकार्यलाई सबल बनाउन बिमस्टेक ऊर्जा केन्द्र स्थापना गर्ने निर्णय पनि बैठकले गरेको मन्त्रालयले जनाएको छ । गुरुयोजना र कार्ययोजना बनाउने, संरचना तयार गर्ने र सञ्चालनका लागि आवश्यक पर्ने कोष तयार गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी पाँचौ बिमस्टेक ऊर्जासचिव तथा वरिष्ठ पदाधिकारीको बैठकको अध्यक्षता गर्दै ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले छिमेकी मुलुकसँग ऊर्जा सहकार्यमा प्रगति हुँदै गएको र बिमस्टेक मुलुकमा आपसी भरोसा, सहयोग र साझेदारीले सदस्य मुलुकहरूको विकास प्रयासलाई अनुकूल र स्तरोन्नति गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
बंगालका खाडी राष्ट्रहरूको संगठनको रूपमा परिचित बिमस्टेक स्थापना हुँदा भने बिमस्टेकको रूपमा भएको थियो । सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमार्फत यो संगठन स्थापना भएको थियो । त्यसबेला बंगलादेश भारत श्रीलंका र थाइल्याण्ड यसका सदस्य थिए तर सोही वर्ष डिसेम्बर २२ मा थाइल्याण्डमै आयोजित मन्त्रीस्तरीय बैठकले संगठनमा म्यानमारलाई सदस्यका रूपमा थप गरेको थियो अनि नाम पनि बिमस्टेक बनाएको थियो ।
वि.सं २०७५ मा काठमाडौंमा सम्पन्न बिमस्टेक चौथो सम्मेलनले पनि आफ्नो १८ बुँदे काठमाडौं घोषणापत्रमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रिड इन्टरकनेक्सन) सहमति पत्रमा हस्ताक्षर गरेको थियो । सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच ऊर्जा आदानप्रदानको बाटो खोलेको भनिए तापनि यस क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गरेको थियो । २०७८ चैतमा सम्पन्न बिमस्टेकको पाँचौं शिखर सम्मेलनमा १८ बुँदे घोषणापत्र जारी भएको थियो भने तीनवटा विषयमा हस्ताक्षर भएको थियो । आपराधिक मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी महासन्धि, बिमस्टेक प्रविधि हस्तान्तरण सुविधा स्थापनासम्बन्धी समझदारी–पत्र तथा बिमस्टेक सदस्य मुलुकका कूटनीतिक÷प्राज्ञिक तालिमसँग सम्बन्धित निकायबीच आपसी सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्