एनआइसी एशिया बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

एनआइसी एशिया बैंकले चालू आर्थिक वर्ष २०७८-०७९ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकले आव २०७८-०७९ को तेस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७४.७४ अर्ब पु-याएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३०२.८१ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
बैंकले यस त्रैमासमा खुद मुनाफातर्फ ३.६० अर्ब रुपैयाँ आर्जन गरेको छ । जुन वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो । यसैगरी, बैंकको स्व–पुँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ ।
बैंकले वार्षिक प्रति सेयर आम्दानी ४१.९४ आर्जन गरेको छ । कोभिड–१९ महामारीमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भइ निष्कृय कर्जालाई तेस्रो त्रैमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले आव २०७८-०७९ को तेस्रो त्रैमाससम्ममा ९ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ३७ लाखभन्दा बढी खातामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको दावी गरेको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।
बैंक आव २०७८-०७९ को दोस्रो त्रैमासमा कर्जा विस्तार, निक्षेप संकलन, प्रति सेयर आम्दानी, स्व–पुँजीमा प्रतिफल, ग्राहक संख्या, शाखा संख्या, विस्तारित काउन्टर संख्या, एटीएम संख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ प्रयोगकर्ता र सञ्चालन मुनाफामा अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थानमा छ ।
हाल एनआइसी एशिया बैंकले देशभर कुल ३५८ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गदै आएको दावी गरेको छ ।