राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र निस्काशन बिक्री प्रबन्धक नियुक्त

राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गर्न लागेको ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ ।
सो सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।
बैंकले प्रति ऋणपत्र अंकित मूल्य एक हजार रुपैयाँका दरले कुल ५ अर्ब रुपैयाँ (५० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ ।
कुल ५० लाख कित्ता ऋणपत्रमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थालाई बिक्री गरिनेछ भने २० लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिने बैंकले जनाएको छ ।