गीत गाउँदैमा राजतन्त्र फर्कंदैन : मुख्यमन्त्री गुरुङ «

गीत गाउँदैमा राजतन्त्र फर्कंदैन : मुख्यमन्त्री गुरुङ

लमजुङ-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कसैले गीत गाउँदैमा राजतन्त्र नफर्कने टिप्पणी गरेका छन् । लमजुङमा सुरु भएको १२ औँ राष्ट्रिय बुद्ध सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो दाबी गरेका हुन् ।
मुख्यमन्त्री गुरुङले राजतन्त्रले कोल्टे फेर्ने सपना नदेख्न केहि तत्वहरुलाई आग्रह समेत गरे । “केहि तत्वहरुले राजतन्त्र फर्कने वा फर्काउने सपना देखेका छन् । कदापी सपना साकार हुनै सक्दैन,” उनले भने ।
मुख्यमन्त्री गुरुङले शान्ति विकासको पहिलो सर्त भएको बताए । धर्ममा एकता आवश्यक रहेको तर्क गर्दै उनले धर्मले नै मुलुकमा मित्रता र मैत्रीभाव कायम राख्ने उल्लेख गरे । धर्मोदय सभा केन्द्रीय कार्यालय र धर्मोदय सभा जिल्ला शाखा लमजुङको संयुक्त आयोजनामा आइतबारबाट सम्मेलन शुरु गरिएको हो । सम्मेलनमा ६५ जिल्लाका प्रतिनिधिले सहभागीता जनाएका छन् । धर्मोदय सभाको नियमित कार्यक्रम अन्तर्गत प्रत्येक २ वर्षमा विभिन्न जिल्लामा गरिँदै आएको राष्ट्रिय बुद्ध सम्मेलन यो वर्ष लमजुङमा गरिएको हो ।
पहाडी जिल्लामा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय सम्मेलनले धार्मिक पर्यटन अभिवृद्धिको लागि सहयोग पुग्ने आयोजकको विश्वास छ । सम्मेलनमा शान्ति पद यात्रा, बुद्धको सरोकार र भूमिकाबारे कार्यशाला गोष्ठी, घोषणा पत्र जारी, बुद्धको अस्तु धातुको दर्शन, प्रवचन, शान्ति दिप पदयात्रालगायत विविध सांस्कृतिक कार्यक्रमसमेत गरिने भएको छ । शान्ति र अहिंसाको प्रतिक गौतम बुद्धबारे धेरै नेपालीलाई समेत ज्ञान नभएको हुँदा राष्ट्रिय रुपमा बुद्ध सम्मेलन गर्न आवश्यक रहेकाले सम्मेलन गरिएको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्