हावा–हुरी प्रभावित क्षेत्रमा भाँडाकुँडा अभाव «

हावा–हुरी प्रभावित क्षेत्रमा भाँडाकुँडा अभाव

संघसंस्थाले बन्द गरे सामूहिक मेस, बत्ती आउन एक हप्ता लाग्ने

बारा-विभिन्न संघ–संस्थाले चलाएको सामूहिक मेस शनिबार साँझदेखि बन्द भएपछि राहतमा प्राप्त चामल, दाल पकाएर खान बाराको भरवलीया गाउँका हावा–हुरी पीडितहरूलाई सकस परेको छ । पीडितहरूले राहतमा पाएको चामल, दाल पकाउने भाँडाकुँडा, चुलो, दाउरा, ग्यास, मटीतेल नहुँदा उनिहरूलाई समस्या परेको हो ।
“ओत लाग्ने ठाउँ त भयो अब, खान समस्या परेको छ,” भुवानी खातुन भन्छिन, “हामीले पाएको चामल, दाल पकाउन चुलो, भाँडाकुँडा केही नभएकोले चिउरा र चाउचाउ खाएर परिवार टेन्टमुनी बास बसेका छौं ।” राहतमा पीडितहरूले चामल, दाल, चाउचाउ, चिउरा, दालमोठ, बिस्कुट पाउने गरेका छन् । तर गाउँपालिकाको एउटैमात्र मेस सञ्चालन हुँदा धान्न नसकेर पीडितहरू अन्यौलमा परेका हुन् ।
हुरीले गाउँ नै तहसनहस बनाएपछि खानाका लागि भरवलीया गाउँमा आधा दर्जनभन्दा बढी स्थानमा विभिन्न संघसंस्थाले केही दिन सञ्चालन गरेको मेस बन्द भएपछि उनीहरू आपतमा परेका हुन् । सबै भन्दा बढी क्षति भएका फेटा गाउँपालिकाका भलुवी, भलवरीया, पुरैनीयाका प्रायः पीडितहरूले चामल, दाल, पिठो पाइसकेका छन् ।
फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले पीडितहरूलाई खाना पकाउने सामग्री आवश्यक रहेको र दाताहरूबाट भाँडाकुँडा दिनसमेत अपिल गरेका छन् । उनले केही कामचलाउ शौचालयहरू बनेको धाराहरू सञ्चालनमा आइसकेको, गाउँमा जेनेटरबाट बत्ती बालिएको र पीडितहरूलाई खाना पकाउनेमात्र समस्या रहेको बताए । आफूले यस बिषयमा सम्बन्धित निकायलाई हारगुहार गर्न नछाडेको समेत उनले बताए ।
बिमारी भएर घर फर्केका, सुत्केरी महिला र बालबच्चाहरू थप समस्यामा पर्न थालेका छन् । घर नै हुरीले उडाएका स्थानीयका लागि अब कहाँ गएर के खाने भन्ने अन्योल बढेको छ । पीडितहरूले मेस बन्द भएपछि राहतमा पाएको फुक्का, च्युरा, चाउचाउ खाएर पानीले पेट भर्न थालेका छन् ।
भरवलीया गाउँमा मात्रै करिब आधा दर्जन संघसंस्थाले सामूहिक मेस चलाएका थिए । अहिले गाउँपालिकाको एउटा मेसमात्रै सञ्चालनमा छ । आइतबारदेखि जिल्ला प्रशासन र स्थानीय गाउँपालिकाका प्रतिनिधिहरू मिलेर प्राप्त राहत र भाँडाकुँडा लगाएतका व्यवस्था गरिने बताइएको छ ।
नेपाली सेनाले १ हजार र प्रहरीले ८ सय तथा विभिन्न संघसंस्थाले टेन्ट र त्रिपालको व्यवस्था गरी पीडितहरूलाई ओत लगाउने काम गरे पनि खानाको लागि भाँडाकुँडा, पकाउने चुल्हो, दाउरा र ग्यासको भने अभाव रहेको छ । हुरीले ध्वस्त पारेका घरका भग्नावशेषमै भाँडा, लत्ताकपडा, चुल्हो, अन्नपात सबै पुरिएर नष्ट भएपछि पीडितहरू अहिले ओत लागेर बसेका त्रिपाल र अस्थायी टेण्टमा आफैँ खाना पकाएर खानसक्ने अवस्था नरहेको देखिन्छ ।
अहिले स्थानीयलाई बासको भन्दा बढी खानेकुराको समस्याले पिरोलेको छ । शनिबार बिहानसम्म नेपाली सेना तथा विभिन्न संघसंस्थाले मेस सञ्चालन गरेपनि दिउँसोदेखि मेस उठेको थियो । उनीहरूले शनिबार बेलुका चिउरा चाउचाउ खाएरै बिताए । “अब कसरी खाना खाने भन्ने समस्या थपिएको छ । पालमा छौं, आगो बाल्न मिल्दैन, ग्यास छैन, भाँडाकुँडा छैन । प्रहरी प्रशासनले केही गरिदिन्छ कि,” फेटा गाउँपालिका वडा नं. ६ पुरैनियाकी अम्बिया खातुनले भनिन् । राहत बाँड्नेहरूले पनि खानेकुरा, चामल, दाल, पिठो, त्रिपाल, चाउचाउ चिउरा र बिस्कुटमात्रै बाँडेको तर खाना पकाउने भाँडावर्तन र ग्यास चुल्हो भने अहिलेसम्म कसैले नल्याएको पीडितहरूको भनाइ छ । उनीहरू भन्छन्, “मात्र पानी पिउने जग र बाल्टी पाएका छौं ।”
यहाँका केही घाइते त अझै अस्पतालमा छन् । घरमा हुनेहरूलाई भने संस्थाहरूले चलाएका सामूहिक मेस हटाएपछि खानाको चिन्ता बढेको हो । पकाउने आवश्यक सामग्री नपाएको रन्कोमा रहेका भरवलीयाबासी अर्को समस्यामा गुज्रिन बाध्य भएका छन् । सामान्य वर्षा र हावाहुरीका कारण उनीहरू अहिले सुरक्षित पालमा रहे पनि मौसम बदली नै रहेकाले उनीहरूमा त्रास भने कायमै रहेको छ । शनिबार दिनभर मौसम बदली भइरहेकाले उनीहरूले रातको समय झन् त्रास र कठिनमा बिताएका थिए । आइतबार बिहानसमेत मौसम बदली भई पानी परेको थियो । तर पानीले प्रभावित क्षेत्रहरूमा खासै असर नपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
राहत वितरण कार्य व्यवस्थित गर्न गाउँपालिकाले परिचयपत्रको व्यवस्थासमेत गरेको छ । पीडित भन्छन्, “अब तत्काल सरकारले सुरक्षित बास र गाँसको व्यवस्था गर्नुप-यो ।” प्रभावित क्षेत्रमा महामारी नफैलियोस् भनेर जिल्ला सरसफाइ समन्वय समिति बाराले अस्थायी शौचालयहरूको निर्माण गरिरहेको छ भने पियुष प्रयोग गरेर पानी खाने व्यवस्था समेत गरेको समन्वय समिति बाराका प्रतिनिधि हरीलाल चौधरीले बताए ।
विद्युतु वितरणमा अझै एक हप्ता लाग्ने हुँदा जेनेरेटर प्रयोग गरेर बिजुली बाल्न थालिएको छ भने खानेपानीको चापाकल समेत सञ्चालनमा आउन थालेको छ ।
बारा र पर्साको हावाहुरी पीडितका लागि ढुवानी व्यवसायी महासंघ र नेपाल सामान ढुवानी व्यवसायी संघले निःशुल्क राहत सामग्री ढुवानी गर्ने गरेका छन् । दुवै संघले राजधानी काठमाडौं र विरगन्जबाट निःशुल्क राहत सामग्री ढुवानी गरिदिने महासंघका अध्यक्ष विश्वनाथ खनालले बताए । राहत सामग्री लैजानका लागि संघका केही गाडी तयारी अवस्थामा राखेको अर्का अध्यक्ष श्यामकुमार ढकालले जानकारी दिए ।
काठमाडौंबाट राहत सामग्री लैजानका लागि नेपाल सामान ढुवानी व्यवसायी संघले बल्खु र ढुवानी व्यवसायी माहासंघले खसीबजार काठमाडौंमा सामान ढुवानी गर्न सम्पर्क राख्न सकिनेछ । संघले यसैगरी वीरगन्जबाट लैजानका लागि वीरगन्ज ट्रान्सपोर्ट एसोसियनसन आदेशनगरमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्