Logo

जथाभावी फोहोर व्यवस्थापनमा कडाइ

काठमाडौं महानगरपालिकाले रूपमा फोहोर फाल्नेलाई कारबाही गर्ने भएको छ । पछिल्लो समय महानगरपालिकाले नै फोहोर संकलनमा ढिलाइ गर्दा उपत्यकाको सार्वजनिकस्थलमा फालिएको फोहोरका कारण दुर्घन्ध बढ्न थालेपछि महानगरपालिकाले नै जथाभावी रूपमा फोहोर फाल्न कडाइ गर्न लागेको हो ।
महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्ट्याएर नफाले कारबाही अगाडि बढाउने तयारी गरेको छ । कुहिने फोहोरलाई मल बनाउन सकिने र कतिपय नकुहिने फोहोरलाई पनि रिसाइकल गर्न आह्वान गर्दै आएको छ । तर सर्वसाधारणले सबै फोहोर फाल्दा फोहोर बढी भएको र फोहोर फाल्ने स्थानको पनि समस्या हुन थालेको महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान ढंगालले सर्वसाधारणले नै अटेर गरेर कुहिने र नकुहिने सबै किसिमका फोहोर एकै स्थानमा फाल्दा पनि थप समस्या उत्पन्न भएको जानकारी गराए । “कुहिने र नकुहिने फोहोर छुट्ट्याउनका लागि हामीले जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेका छौं,” उनले भने, “तर उनीहरूले अटेर गर्दा फोहोर धेरै हुन थालेको छ, जसले फोहोर व्यवस्थापनमा पनि थप समस्या गराएको छ, अब कडाइका साथ फोहोर व्यवस्थापनामा लाग्ने छौं ।”
उनले सडक निर्माणका क्रममा फोहोर जर्सिङपौवा लान समस्या भएकाले केही समय फोहोर उठाउन नसके पनि अब भने नियमित फोहोर संकलन गर्ने उनले बताए ।

फोहोरलाई स्रोतमै वर्गीकरण गरेर नराखे काठमाडौं महानगरपालिकाले त्यस्तो फोहोर नउठाउने र फोहोर एकै ठाउँमा थुपारे पाँच सय जरिवाना गर्ने उनको भनाइ छ ।
महानगरपालिकाले स्रोतमा नै फोहोरको वर्गीकरण नगरेमा फोहोर संकलन नगर्ने र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा फोहोर मैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुनेछ ।
फोहोर छुट्ट्याउने जिम्मेवारी फोहोर उत्पादन कर्ताकै हुने भएकाले फोहोर पृथकीकरण गरी कुहिने (जैविक) फोहोर संकलन गर्न आउने दिन जैविक फोहोरमात्र संकलन गर्ने र नकुहिने (अजैविक) फोहोर संकलन गर्न आउने दिन अजैविक फोहोरमात्रै संकलन गर्ने महानगरपालिकाले जनाएको छ ।
काठमाडौ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोर मैला व्यवस्थापन ऐन, २०६८ को दफा (१), (२) को व्यवस्था गरेबमोजिम फोहोर छुट्ट्याउन महानगरले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्