Logo

सुर्खेत उद्योग वाणिज्य संघमा कँडेल

सुर्खेत-सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल विजयी भएका छन् ।
नेतृत्वका लागि भएको निर्वाचनमा निवर्तमान महासचिव कँडेल अध्यक्षमा निर्वाचित भएका हुन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनको मंगलबार बिहान सकिएको मतगणना अनुसार कँडेलले ४८ मत अन्तरले प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई पराजित गरेका छन् । कँडेलले ९११ र खड्काले ८६३ मत प्राप्त गरेका छन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेतले ९४१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सूर्यबहादुर रावतले ७३७ मत ल्याएर पराजित भएका छन् । वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकालले ७८४ मत ल्याएर पराजित हुँदा प्रेमबहादुर रावलले ९२० मत ल्याएर विजयी भए । उद्योग उपाध्यक्षमा सिंहराज वमले ८६७ मत ल्याएर विजयी भएका छन् भने प्रेम पाण्डेले ८५७ मत ल्याएर पराजित भएका छन् ।
महिला उपाध्यक्षमा तारा रावतले ८८२, महासचिवमा भद्र भण्डारीले ८७२, उपमहासचिवमा कृष्णप्रसाद सुवेदीले ८७५, कोषाध्यक्षमा रामप्रसाद पाण्डेले ९३८ र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्रीले ८६५ मत ल्याएर विजयी भएका छन् ।
महिला उपाध्यक्षका उम्मेद्वार कृष्णाकुमारी थापाले ८२१, महासचिवका उम्मेद्वार रामप्रसाद जैसीले ८६५, उपमहासचिवका उम्मेद्वार पूर्णदेव अधिकारीले ८१२, कोषाध्यक्षका उम्मेद्वार राजेन्द्रबहादुर शाहीले ७६५ र सहकोषाध्यक्ष पदका उम्मेद्वार भिमप्रसाद पौडेलले ८३२ मत ल्याएर पराजित भएका छन् । २०५८ मतदातामध्य निर्वाचनमा १८२४ मत खसेको थियो ।
संघमा काँग्रेस समर्थित व्यावसायी नै दुई समूहबाट चुनाब लडेका थिए । कँडेललाई एमाले र खड्कालाई सत्ता साझेदार पाँच दल र राप्रपा का व्यावसायीको समर्थन थियो । कँडेल कांग्रेसको संस्थापन इतर हृदयराम थानी समूह र खड्का संस्थापन पूर्णबहादुर खड्का समूहबाट निर्वाचनमा उमेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्