मेलम्ची खानेपानी आयोजनाको बाँकी लागत अध्ययन हुँदै «

मेलम्ची खानेपानी आयोजनाको बाँकी लागत अध्ययन हुँदै

मेलम्ची खानेपानी आयोजनाको बाँकी रहेको काममा आवश्यक पर्ने लागतबारे सरकारले अध्ययन गरिरहेको छ । मेलम्ची खानेपनी आयोजना निर्माणको जिम्मेवारी पाएको इटालियन ठेकेदार कम्पनी (सीएमसी) सँग मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्झौता खारेजीपछि रोकिएको आयोजानाको बाँकी काम सम्पन्न गर्न आवश्यक पर्ने लागतको अध्ययन गरिन लागिएको हो ।
खानेपानी मन्त्रालयका अनुसार आयोजना सम्पन्न गर्न ५ प्रतिशतमात्रै काम बाँकी रहँदा सिएमसी काम छोडेर भागेपछि ठेक्का सम्झौता तोडिएको र आयोजनाको काम रोकिएको छ । सरकारले बाँकी कामको ठेक्काका लागि ठेकेदार छनोट गर्न सकेको छैन । हाल खानेपानी मन्त्रालयले बाँकी लागतबारे अध्ययन गरिरहेको छ ।
खानेपानी मन्त्रालयका शंकरप्रसाद सुवेदीले मेलम्चीमा कस्तो काम भयो ? अब बाँकी रहेको काम सम्पन्न गर्न कति लागत लाग्छ ? भन्ने विषयमा अध्ययन भइरहेको बताए । “मेलम्ची खानेपानी आयोजनाको ठेक्का सिएमसीसँग तोडिसकिएको छ, तर बाँकी कामको ठेक्का कसलाई दिने भन्ने विषयमा टुंगो लागिसकेको छैन,” उनी भन्छन्, “अहिले मेलम्चीको बाँकी काम सम्पन्न गर्न कति लागत लाग्छ र कसरी सकेसम्म कम लागतमा काम सम्पन्न गर्ने भन्ने निचोड निकालिने छ ।”
२०६५ सालमा सिआरसीसी नामक चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । २०६९ सालमा सिआरसीसी कम्पनीसँग सम्झौता भंग भएको थियो । मेलम्ची खानेपानी विकास समितिले इटालीको सिएमसी कम्पनीसँग २०७० असार ३१ गते दोस्रोपटक निर्माण सम्झौता गरेको थियो । मेलम्ची विकास समिति र सिएमसी कम्पनीबीच ७ अर्ब ७२ करोड ३४ लाखमा प्रारम्भिक निर्माण सम्झौता भएको थियो ।
मन्त्रालयले आयोजनाको २५ हजार ३५ मिटर सुरुङको भुइँ ढलान गर्ने कार्य सम्पन्न भएको र ८८५ मिटर भुइँ ढलानको काममात्र बाँकी रहेको बताएको छ । मन्त्रालयका अनुसार आयोजनाको २५ हजार ५१० मिटर फाइनल सपोर्ट गर्ने काम सम्पन्न भएको र ४१० मिटरमात्र निर्माणकार्य बाँकी छ । हाइड्रो मेकानिकल उपकरण तथा विभिन्न प्रकारका गेटको आयात तथा केही गेटको जडान कार्यसमेत सम्पन्न भएको छ । हेड वक्र्समा १६०० मिलिमिटर व्यासको ६० मिटर डाइभर्सन पाइप जडानको काम सम्पन्न भएको छ । सुन्दरीजल टनेल आउटलेटदेखि बागमती नदीसम्मको १००० मिलिमिटर व्यासको २६० मिटर डीआई पाइप जडान कार्य सम्पन्न भएको छ । आयोजनाका तीनवटा भेन्टिलेसन साफ्ट निर्माणकार्य मध्ये अम्बाथानको १०७ मिटर पाइलट ड्रिल सम्पन्न भएको र रिम गर्ने कार्य ४८ मिटर सम्पन्न भएको छ । सुरुङ अनुगमन प्रणाली जडान, परीक्षण तथा सञ्चालन कार्यको स्टिमेट र डिजाइन तयार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्