नेपाली हिमालकी ‘विकिपेडिया’ रहिनन् «

नेपाली हिमालकी ‘विकिपेडिया’ रहिनन्

नेपाली हिमालको विकिपेडिया उपमा पाएकी एलिजावेथ हलीको ९५ वर्षको उमेरमा निधन भएको छ। 
फोक्सोमा संक्रमण भएपछि उनलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो। शुक्रबार बिहान काठमाडौंमा उनको निधन भएको हो।
अमेरिकाको इलिनोयीस्थित सिकागाेमा जन्मिएकी हलीले फर्चुन पत्रिकाको सम्पादकीय अनुसन्धानकर्ताबाट करिअर सुरू गरेकी थिइन्। आफ्नो कामबाट दिक्क भएर सन् १९५८ मा उनी विश्वभ्रमणमा निस्केकी थिइन्। पूर्वी युरोप, रसिया, खाडी हुँदै दक्षिण एशियाको फन्काे लगाउँदै उनी काठमाडाैं अाइपुगेकी हली सन् १९६० मा पुन: नेपाल आइन्। र त्यसपछि फर्केर गइनन्।
उनले नेपालबाट प्रसिद्ध टाइम म्यागेजिन र रोयटरका लागि केही समय हिमाल आरोहणसम्बन्धी रिपोर्टिङ गरेकी थिइन्। 
पर्वतारोहण क्षेत्रमा नेपाली हिमालको ‘शार्लक होम्स’ नामले चिनिने उनी अाफैँले भने हिमाल अाराेहण गरिनन्। तर उनले कतिपय हिमाल आरोहीको दावीलाई झुठो प्रमाणित गरेकी थिइन्। त्यसैले पनि हिमाल आरोहण गर्नेहरू उनको बुझाई र भनाइलाई आधिकारिक मान्ने गर्थे।
हलीले आरोहीहरुसँग समयवधि, मौसम, को को आरोही शिखरमा पुगेको सोधीखोजी गर्नेदेखि हिमालमा पुगेको तस्वीरसम्मको माग गर्थिन्। धेरै पर्वतारोहीहरुले हिमाल चढ्नु भन्दा उनीसँगको अन्तर्वार्ता कठिन हुने बताउँथे।
हिमालको अनुसन्धानमा पुर्याएको कामको कदर गर्दै उनलाई नेपाल सरकारले मानार्थ नागरिकता प्रदान गरेको थियो।
उनको सम्मान स्वरुप ४ वर्षअघि नेपाल सरकारले धवलागिरी हिमश्रृंखलाको ६ हजार १८२ मिटर अग्लो पर्वतको नाम ‘पिक हली’ राख्ने निर्णय गरेको थियो। उनले नेपाल पर्वतारोहण संघको  डा. हर्क गुरुङ पर्वतीय पुरस्कार २०६५ पनि प्राप्त गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्