चैते धान रोप्न किसानलाई चटारो «

चैते धान रोप्न किसानलाई चटारो

दाङ-बंगलाची गाउँपालिका ४ डाबर निवासी किसान भरत थापा अहिले चैते धान रोप्न व्यस्त छन् । उनलाई चैते धान रोप्ने खेत मिलाउन भ्याइ नभ्याई छ ।
सुकाखोलाको पानीले सिञ्चित भएको खेत दाईसँगै भरतले रोप्नका लागि तयार गरिरहेका थिए भने खेतमा वर्षादको समयमा जस्तै रोपारहरुलाई धान रोपाईँको चटारो थियो । उनले करिव साढे सात रोपनी खेतमा चैते धान रोप्ने तयारीमा रहेको बताए । फुर्सदको समयमा चैत धान खेती थप आम्दानीको श्रोत बन्ने भएपछि लामो समयदेखि चैते धान खेती गर्दै आएको उनले बताए । उनले चैतको अन्तिम तिर रोपेर सक्नुपर्ने धान खेती यसवर्ष केही ढिला भएको बताए ।
उनलाई जस्तै घोराही उपमहानगरपालिका १ सुकाखोला निवासी बिमला पुन पनि धान रोप्न व्यस्त छिन् । बेमौसमी खेतीका रुपमा रोपिने चैते धानबाट राम्रो आम्दानी हुने भएपछि आफ्नो परिवारले धेरै पहिलेदेखि नै चैते धान रोप्दै आएको बताइन् ।
उनले चैते धानबाट राम्रो आम्दानी गर्ने गरेपनि वर्षादको समयमा धान भित्र्याउन समस्या हुने गरेको बताइन् । उनीहरु मात्र नभइ हिउँदे बाली भित्र्याउन र फुर्सदिलो बन्ने समयमा बंगलाचुली गाउँपालिका–३ र ४ र घोराही उपमहानगरपालिका १ सुका खोलाका अधिकांस किसान धान रोपाइँमा व्यस्त छन् । वर्षमा दुईबाली धान खेती गर्ने उनीहरु चैते धान खेतीबाट राम्रो आम्दानी लिने गरेको समेत बताउँछन् ।
स्थानीय किसानले सुकाखोलाको छेउका खेतमा धान रोप्दै आएका छन् । यसरी रोपिएको धान साउनको पहिलो साता तिर पाक्ने किसानहरु बताउँछन् । वर्षमा दुई बाली धान खेती गर्ने किसानले एक बाली गहुँ वा मसुरो गरेर वर्षमा तीन बाली खेती भित्र्याउने गरेका छन् । अहिले रोपेको धान साउनको पहिलो साता काटेपछि पुनः सोही खेतमा वर्षे धान रोप्ने रोप्ने गरेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । वर्ष धानबाली काटेर कात्तिकमा धान काटे लगत्तै फेरि गहुँ छर्ने गरेका छन् । उनका अनुसार चैत महिनामा गहुँबाली काटेपछि केहीले धान तँ केही किसानले मकै खेती गर्ने गरेका छन् ।
कृषि ज्ञान केन्द्रका अनुसार घोराही उपमहानगरपालिका १, बंगलाचुली गाउँपालिका ३ र ४ सँगै देउखुरीका विभिन्न स्थानमा चैते धान खेती हुने गरेको छ । तर चैतमा रोपिने धान वर्षादको समयमा घरमा भित्र्याउ समस्या हुने गरेपछि जिल्लाका केही स्थानमा गर्दै आएका किसानले भने खेती गर्न छोडेका छन् । वर्षे मौसममा जस्तै धान बाली नफल्ने भएपनि मौसम र पानी प्रशस्त भएमा सामान्यता राम्रंो धान फल्ने गरेको कृषकहरुको भनाइ छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा करीव दुई हजार पाँच सय भन्दा बढी हेक्टरमा चैते धान खेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्