Logo

अर्गानिक अचारको व्यावसायिक उत्पादन

स्याङ्जाको वालिङमा अर्गानिक अचारको व्यावसायिक उत्पादन र बिक्री वितरण सुरू गरिएको छ । ‘आमाको हात घर–घरको स्वाद’ भन्ने नाराका साथ वालिङमा अर्गानिक अचार घर सञ्चालनमा आएसँगै आचारको व्यावसायिक उत्पादन र बिक्री वितरण सुरू भएको हो ।
वालिङ नगरपालिकाको अगुवाईमा युएनिडपी नेपाल र स्थानीय दियालो संस्थाको साझेदारी तथा वालिङ अदुवा तथा कृषि उपज प्रशोधन उद्योगको सहकार्यमा वालिङ नगरपालिका–८ वाणिज्य टोलमा अचार घर सञ्चालनमा ल्याइएको छ ।
“स्थानीय श्रोत र साधनको उच्चतम प्रयोगबाट हुने उत्पादनको प्रयोग गर्दै सुरू गरिएको अर्गानिक अचार अभियानलाई नगरपालिकाले साथ दिन्छ ।” अचार घरको शुभारम्भ गर्दै नगर प्रमुख दिलिपप्रताप खाँणले भने, “उत्पादित वस्तुको बाइप्रोडक्ट बनाउने गर्दा उत्पादित वस्तुहरु खेर जाने समस्या रहँदैन ।”
नगरपालिकाले कोशेली घरसमेत सञ्चालनमा ल्याउन लागेको जानकारी दिँदै नगर प्रमुख खाँणले स्थानीय उत्पादनसँगै बाइप्रोडक्टमा जोडिनु पर्ने बताए । उत्पादित वस्तुको बाइप्रोडक्ट गराउँदा बजारीकरणमा समेत निक्कै सहजता हुने उनले विश्वास जनाए ।
स्थानीय स्तरमा आमाहरुको सक्रियतामा तयार पारिएको अचारलाई लेवलिङ तथा ब्राण्डिङ गरी सहज रुपमा बजारसम्म पु¥याउने तयारी गरिएको वालिङ अदुवा तथा कृषि उपज प्रशोधन उद्योगका अध्यक्ष शिव डुम्रेले जानकारी दिए ।
महिलाहरुको सक्रियतामा अचारको उत्पादन सुरू भएको भन्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले उत्पादन बढाउन र बजारीकरणका लागि साझेदार र संस्थाले सहजीकरण गर्ने बताइन् । उनले उत्पादन बढाउन सके बजारीकरणको समस्या नरहेको समेत बताइन् ।
स्थानीय महिला उद्यमी पुना भुसालले महिलाहरु खाली समयमा काम गरे पनि उत्पादित वस्तुबाट राम्रो अचार लगायतका सामग्री बनाउन सक्ने बताइन् । वालिङ अदुवा तथा कृषि उपज प्रशोधन उद्योगले साझेदार निकायसँग मिलेर अचार, मसलालगायतका सामग्री उत्पादन र बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्