डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापनमा समस्या «

डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापनमा समस्या

तेह्रथुम-झट्ट हेर्दा निलो रंगले भरिएका छानासँगै स्काई सिटीको रूपमा विकास भइरहेको छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजार सुन्दर देखिन्छ । बजारका रहेको घरमा निलो रंगले रंगाएसँगै बजारलाई हेर्दा अरु बजारको तुलनामा केही अगाडि बढेको भान जो कसैले गर्ने गरेका छन् ।
बाहिरबाट हेर्दा जति सुन्दर भए पनि त्यहाँभित्र समस्यै समस्या देखिएका छन् । बढ्दो सहरीकरणसँगै गाउँपालिकाको केन्द्रमा बजारीकरण तीव्र रूपमा भइरहँदा यहाँको फोहोर व्यवस्थापनका निम्ती डम्पिङ साइट नहुँदा बजारकै मुख्य समस्या बनेको छ । छथर क्षेत्रकै मुख्य ब्यापारिक केन्द्रमा रहेको बजारमा बर्सेनि सरकारी कार्यालय थपिनुुका साथै घर निर्माण कार्य पनि तीव्र रूपमा विकास भइरहेको छ । बजार विस्तारको क्रम बढेसँगै यहाँको फोहोर ब्यवस्थित गर्न डम्पिङ साइटको अभाव खड्किएको स्थानीय बताउँछन् । सहरीकरण र सवारी साधनको चापसमेत बढ्दै जाँदा बजार क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बन्न थालेको छ । फोहोर व्यवस्थापनका लागि उचित ठाउँको पहिचान र एकै ठाउँमा मात्रै फोहोर फ्याँक्ने बानीको विकास नहँुदा बजार क्षेत्रमा जथाभावी फोहोर देख्न सकिन्छ । जथाभावी फोहोरका कारण बजार क्षेत्र नै दुर्गन्धित बन्दै गएको स्थानीय डम्बर भट्टराईले बताए । बजार विस्तारसँगै सवारी साधानको चाप बढ्दो भए पनि बसपार्कका बारेमा भने कसैको ध्यान जान सकेको छैन । बजारको बीच भागमा रहेको बस स्टेनबाट निस्किने प्रदूषणले बजारलाई अझ दुर्गन्धित बनाएको छ ।
डम्पिङ साइटको व्यवस्थापन गर्न नसक्दा फोहोर व्यवस्थापन समस्या बन्दै गएको बजार व्यवस्थापन समितिका अध्यक्ष नारायण सुब्बाले बताए । हाल बजारमा करिब ४ सय घर परिवार बसोबार गर्छन् । बजार क्षेत्रको फोहोर डम्पिङ गर्ने जग्गा नहुँदा समस्या हुन थालेको हो । ऐतिहासिक छथर क्षेत्र तथा नवघोषित छथर गाउँपालिकाको केन्द्र यो बजारमा निजी तथा वित्तीय, सरकारी गैरसरकारी कार्यालयहरुको सेवासमेत विस्तार भइरहेको छ ।
सडक र विद्युत्को पहुँचमा रहेको बजारमा गाउँबाट आएर बसोबास गर्नेको समेत संख्या बढ्दो छ । तर फोहोर व्यवस्थापनमा भने सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । जसकारण बजार क्षेत्र दुर्गन्धित बन्दै गइरहेको छ । यहाँको फोहोर ब्यवस्थापनका निम्ती गाउँपालिकाको स्थान पहिचान गरी सकेको अध्यक्ष सन्तोष तिगेलाले बताए । स्थान पहिचान गरेसँगै गाउँपालिकाले फोहोर बोक्ने ट्र्याक्टर खरिदको तयारी गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्