नयाँमोदी–लेखनाथ प्रसारणलाइन निर्माण सुरु «

नयाँमोदी–लेखनाथ प्रसारणलाइन निर्माण सुरु

पर्वतको देउपुरदेखि कास्कीको लेखनाथसम्म नयाँ मोदी–लेखनाथ प्रसारण लाइन निर्माण कार्य सुरु भएको छ ।
पर्वत भएर बग्ने मोदीखोला र कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामा बन्ने विद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई पोखरास्थि सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोड्न नयाँ प्रसारणलाइन निर्माण गर्न लागिएको हो । पर्वतको मोदीगाउँपालिका–२ देउपुरस्थित सबस्टेसनमा आइतबार आयोजित एक कार्यक्रमका बीच प्रसारण लाइनको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरे ।
पर्वतको मोदी गाउँपालिका–२ देउपुरदेखि कास्कीको पोखरा महानगरपालिका लेखनाथसम्म निर्माण हुने प्रसारणलाइन ४२ किमि लामो हुनेछ । प्रसारण लाइनमा १ सय ३८ वटा टावर रहनेछन् । २ अर्ब २५ करोडको लागतमा निर्माण हुने प्रसारणलाइन डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको नयाँमोदी पोखरा प्रसारणलाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जानकारी दिए । प्रसारणलाइन निर्माणका लागि नेपाल सरकार र भारतको एक्जिम बैंकले लगानी गरेका छन् । “आयोजनाको जग्गा अधिग्रहण तथा वातावरणीय प्रभाव मूल्यांकनलगायतका काम सक्न पाँच वर्ष लागे पनि अब डेढ वर्षभित्र सक्ने लक्ष्यसहित काम अघि बढाएका छौं ।” आयोजना प्रमुख अग्रवालले भने, “स्थानीयस्तरबाट सहयोग पाएमा तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेछौं ।”
प्रसारणलाइन अन्तर्गत पर्वतको मोदी गाउँपालिका–२ देउपुर र कास्कीको माछापुछ्रे गाउँपालिका लाहाचोकमा गरी दुईवटा सबस्टेसन निर्माण हुने भएका छन् । देउपुरस्थित सबस्टेसनमा मोदीखोला र आसपासका नदीबाट उत्पादित विद्युत् जोडिनेछ भने कास्कीको लहाचोक सबस्टेसनमा सेतीनदी र मर्दीखोलाबाट उत्पादित विद्युत् जोडिनेछन् । प्रसारणलाइन र सबस्टेसन निर्माणको काम भारतको कल्पयात्रु पावर ट्रान्समिसन लिमिटेडले गरेको छ । कम्पनीले नेपालको कोसी करिडोरलगायतका धेरै प्रसारणलाइन निर्माण गरेको कन्ट्रिडाइरेक्टर शिवशंकर सिंहले बताए ।
प्रसारण लाइनको शिलान्यास गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यको नीति नै आर्थिक समृद्धिको पक्षमा भएकाले समृद्धि हासिल गर्न ठूलाठूला आयोजना निर्माणकार्य सुरु भएको बताए । उनले यस्ता विकासका आयोजना समयमा सक्ने परिपार्टी विकास गर्न सक्दामात्रै जनताले छिटो लाभ लिन सक्ने हुँदा तोकिएको समयभन्दा कम्तीमा एक महिनाअघि सक्न निर्देशन दिए । प्रतिनिधिसभाका सदस्य पदम गिरिले देशमा पूर्वाधार निर्माणको युग सुरु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्