सवारी कारबाहीबाट नौ महिनामा साढे ३९ लाख राजस्व संकलन
खोटाङ – जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले ट्राफिक नियमविपरीत चलाइएका सवारी साधन कारबाहीबाट नौ महिनामा साढे ३९ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७८-०७९ को सुरुवाती महिना साउनदेखि चैत मसान्तसम्मको अवधिमा ३९ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
यस अवधिमा ट्राफिक नियम उल्लंघन गरी सञ्चालनगरिएका ५ हजार ४ सय १ वटा सवारी साधन कारबाहीबाट उक्त रकमको राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दलबहादुर खत्रीले जानकारी दिए । उनकाअनुसार यस अवधिमा सबैभन्दा बढी मंसिरमा ७ लाख १० हजार ५ सय र सबैभन्दा कम साउनमा २ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
साउनमा ४ सय १३ सवारी कारबाहीबाट २ लाख ६३ हजार, भदौमा ५ सय ८७ सवारी कारबाहीबाट ४ लाख ४४ हजार, असोजमा ५ सय ५० सवारी कारबाहीबाट ४ लाख ७ हजार, कात्तिकमा ९ सय ५ सवारी कारबाहीबाट ६ लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै मंसिरमा ९ सय ४५ सवारी कारबाहीबाट ७ लाख १० हजार ५ सय, पुसमा ५ सय सवारी कारबाहीबाट ३ लाख ७८ हजार, माघमा ४ सय ५० सवारी कारबाहीबाट ३ लाख ७९ हजार ५ सय, फागुनमा ५ सय सवारी कारबाहीबाट ३ लाख ६३ हजार र चैतमा ४ सय ५० सवारी कारबाहीबाट ३ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलनभएको ट्राफिक प्रहरीको आँकडा छ ।
यस अवधिमा कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल २ हजार ५ सय २५ वटा छन् । यस्तै कार, जिप र भ्यान गरी १ हजार ६ सय ५३, ट्रक ५ सय ४९, ट्याक्टर ४ सय ५४, बस ८६, अटो–टेम्पो ८२, टिप्पर ४७ र अन्य ५ वटा सवारी साधन कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीकाअनुसार सवारीचालक अनुमतिपत्र नलिएका, साथमा कागजात नबोकेका, मादक पदार्थ सेवन, स्वरूप परिवर्तन, ओभरस्पीड र ओभरलोड गरी चलाइएका, हेल्मेट, सिटबेल्ट र चालक पोसाक प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।
१९ दुर्घटनामा ५ को मृत्यु, २३ घाइते
यस्तै जिल्लामानौ महिनाको अवधिमा १९ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५ जनाको मृत्यु हुँदा २३ जना घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ । अधिकांश सवारी साधन ट्राफिक नियमविपरीत चलाउँदा दुर्घटनामा परेको पाइएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज खत्रीले बताए । सवारी नियम उल्लंघनमा कमील्याई दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले दैनिक एक जनाचालकसँग सवारी साधन गुडिरहेकै स्थानमा रोकेर ट्राफिक नियम, यसको महत्व र पालना नदर्गाको सम्भावित जोखिमको विषयमा अन्तरक्रिया गर्ने गरेको छ ।
पवन खड्का