दोस्रो बजार र निरीह सूचीकृत कम्पनी «

दोस्रो बजार र निरीह सूचीकृत कम्पनी

खराब व्यवस्थापनलाई बजारले मूल्यबाट दण्डित गरिरहेको हुन्छ भने राम्रो कार्यसम्पादन गर्नेलाई मूल्यबाटै पुरस्कृत पनि गरिरहेको हुन्छ ।

केही वर्षअघि उद्योगपति विनोद चौधरीले कुनै पत्रिकाको अन्तर्वार्तामा भनेका थिए, मेरो सपना भनेको वाइवाइलाई अमेरिकाको न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकरण गराउनु हो । मलाइ लाग्छ, सम्भवतः विनोद चौधरीले उनको त्यो सपना अझै पछ्याइरहेका छन् । सपना देख्नुपर्छ र त्यसलाई पछ्याइरहनुपर्छ भनेर युवाजगत्लाई हौसला प्रदान गर्ने चौधरीको सपना पूरा होस भन्ने हाम्रो पनि कामना छ ।
न्युयोर्क स्टक एक्सचेन्जमा कम्पनी सूचीकृत गराएर कम्पनीका सेयरधनी र संसारका लगानीकर्तालाई सेयर कारोबार र लगानी अवसर प्रदान गर्ने सपना चौधरीको मात्र नभई संसारका धेरै उद्योगी व्यवसायीको हुन्छ । सूचीकरणका कठिन मापदन्ड पूरा गरी कारोबार सुरु हुने दिन न्युयोर्क स्टक एक्सचेन्जको लोगो अगाडि उभिएर कम्पनीको नामसहितको फोटो खिच्नु आफंैमा गर्वको विषय बन्छ भने सूचीकरण टिकाइराख्नका लागि चुनौती थपिन्छ । स्टक एक्सचेन्जले सेयर कारोबारको अवसर मात्र प्रदान गर्दैन, सम्पत्ति निर्माण पनि गर्छ । उदाहरणका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण हुनुअघि सय रुपैयाँ दरका १० करोड कित्ता सेयर भएको माथिल्लो तामाकोसीको सेयरको कुल मूल्य १० अर्ब थियो । तर, नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएर कारोबार भए सँगै यसको कुल मूल्य २५ अर्ब (चैत १६) रुपैयाँभन्दा बढी भएको छ । सूचीकरणपछि तामाकोसीका लगानीकर्ताको सम्पत्ति १५ अर्ब रुपैयाँले बढेको छ र सम्पत्ति बनेको पनि छ ।
एक्सचेन्जमा सूचीकरण गर्नु कम्पनीले गर्व गर्ने ठाउँ हो । यसका अतिरिक्त एक्सचेन्जले कम्पनी व्यवस्थापनको कार्य सम्पादनको निष्पक्ष मूल्यांकन पनि गरिरहेको हुन्छ । त्यसैले दोस्रो बजारमा सिर्जना भएको सेयर मूल्यबाट कम्पनी सञ्चालक तथा व्यवस्थापन जहिले पनि सतर्क भइरहेका हुन्छन् । कम्पनीको सेयर मूल्य धेरै बढे राम्रो गरिएछ भन्ने उनीहरूलाई हुन्छ । घटेर तल आए के कमजोरी गरिएछ भन्ने उनीहरूमा चिन्ता हुन्छ । खराब व्यवस्थापनलाई बजारले मूल्यबाट दण्डित गरिरहेको हुन्छ भने राम्रो कार्यसम्पादन गर्नेलाई मूल्यबाटै पुरस्कृत पनि गरिरहेको हुन्छ ।
कम्पनीले प्राथमिक बजारमा सेयर जारी गर्दाका अवस्थामा नैजारी सेयर किनवेच गर्ने ठाउँ उपलब्ध गराउने भन्ने लगानीकर्तासँग पूर्वसर्त हुन्छ । जारी सेयरलाई तरलता प्रदान गर्नका लागि उपयुक्त बजारको व्यवस्था गर्ने भन्ने पनि हुन्छ । यही कारण पनि प्राथमिक निष्कासनको सेयर बाँडफाँडपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण गराइन्छ । सूचीकरण गर्नु लगानीकर्तासँग गरिएको अलिखित पूर्व सम्झौता पनि हो । यसै कारण केही समयअघि शिवम् सिमेन्टको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भयो । यस्तै युनिभर्सल पावर कम्पनी आदि ।
शिवं सिमेन्टको सेयर सूचीकरणपछि सूचीकरणको फोटो नेप्सेका एक कर्मचारीले सामाजिक सञ्जालमा राखे । फोटोमा नेप्सेका व्यवस्थापन प्रमुखसहित केही व्यक्ति उभिएका देखिन्छन् । उनीहरूका अगाडि चिया राख्ने टेबल छ । टेबलमा चियाका दुईवटा सेता कप छन् । कर्मचारीले पोस्ट गरेको फोटोको स्टाटसमा लेखिएको छ, शिवम् सिमेन्टको सूचीकरण । यो सूचीकरण सम्झौता कुनै चिया पसल, रेस्टुरेन्ट वा होटल वा घरमा बसेर गरिएको थियो वा नेप्सेमा ? कम्पनी जसले वर्षौं लगाएर कडा मेहनत र परिश्रम गरी प्रणालीको विकास गरेको हुन्छ, वस्तु तथा सेवा उत्पादन गरेको हुन्छ, समाजमा विश्वास दिलाएको हुन्छ, रोजगारी सिर्जना गरेको हुन्छ र तिनै कम्पनी अझ बढी सामाजिक र आर्थिक भ्यालु सिर्जना गर्नका लागि स्टक एक्सचेन्जमा सूचीकरण गर्न आउँछन् । सूचीकरण गर्नुमा उनीहरू आफूलाई गौरवान्वित पनि ठान्छन् र ठान्नु पनि पर्छ, तर दुर्भाग्य नेपाल स्टक एक्सचेन्जले कहिले पनि सूचीकृत कम्पनीलाई भ्यालु दिन सकेन, मान दिन सकेन, इज्जत गर्न सकेन । न त कम्पनीहरूले नै त्यो भ्यालु वा इज्जत माग्न सके, खोजि गर्न सके ।
नेप्सेमा कम्पनी सूचीकरणका लागि वा कम्पनीको सेयर कारोबार सुरु हुँदा कम्पनी व्यवस्थापनसँग नेप्से व्यवस्थापनसँगै बसेर कारोबार सुरु गर्ने डेस्क छैन । नेप्सेको आफ्नै भवनको भुइँतलामा कराएर सेयर कारोबार हुँदा प्रयोग भएको हल छ, तर उसले त्यो हललाई उपयोग गर्न सकेन । यो एउटा इतिहास पनि हो । यसको संरक्षण आवश्यक पनि छ । यो इतिहासलाई साक्षी राखेर वर्तमानको प्रविधिको प्रयोग गर्दै सूचीकृत कम्पनीलाई राम्रो स्वागत गर्न किन नसक्ने ? किन कसैको घर वा कोठामा गएर सम्भौता गरे जसरी कम्पनीको सूचीकरण सम्झौता गर्ने ? यस्तो काम गर्न नेप्सेलाई कति पनि लाज लागेको देखिँदैन । यस्तै यसको भवनअगाडि सेयर बजारका संकेतहरू जस्तो साँढे र भालुका मूर्तिहरू अहिलेसम्म राखिएका छैनन्, जससँग लगानीकर्ताले गर्वका साथ फोटो सेसन गर्न सकून् ।
यी सबै कुराले के देखाउँछ भने पवित्र खोलाहरूलाई हामीले जसरी दुर्गन्धित बनायौं र टुकुचा दुर्गन्धित बन्यो आज त्यही टुकुचाको किनारामा अवस्थित पवित्र र मूल्यवान् स्टक एक्सचेन्जलाई यसको व्यवस्थापनले दुर्गन्धित बनाउँदै गएको छ । स्टक एक्सचेन्ज प्रणाली प्राविधिक रूपमा धेरै परिवर्तन भए पनि जागिरे मानसिकता भएकाहरूको प्रवेशले नेप्सेमा परिवर्तन हुन सकेन, जसका कारण न यसका लगानीकर्ताले भ्यालु पाउन सके, न सूचीकरण गर्ने कम्पनी ले नै ।
पछिल्लो समय एक समूहको आन्दोलन, धर्ना, नाराबाजीजस्ता गतिविधिहरू देखिए र दाहोरिए । सेयर बजारमा यस प्रकारको प्रवृत्ति सकारात्मक हुन सक्दैन । यस्ता गतिविधिले नेप्से व्यवस्थापनले कुरूप बनाउँदै लगेको सेयर बजार प्रणालीलाई थप दुर्गन्धित बनाइरहेको छ । सर्वसाधारणको विश्वास कम हुँदै गएको छ । पारदर्शिता कम हुँदै गएको छ । त्यसमा पनि नेपाल स्टक एक्सचेन्जले सुरु गरेको नाममात्रको अनलाइन कारोबार प्रणालीमा आएका बारम्बारका समस्याले सर्वसाधारणले गरिरहेको विश्वासमा संकट थप्दै गएको छ । आज किनेको सेयर मूल्य साँच्चिकै वास्तविक माग र आपूर्तिले कायम भएको हो ? भन्ने शंका गर्ने अवस्था आएको छ । बेचेको मूल्य साँच्चिकै सही हो ? वा कसैको चाहना वा प्रभावमा सिर्जना भएको हो भन्ने अवस्था आउँदैछ । कहिले कुनै ब्रोकरका कारोबार सिस्टम खुल्ने, कहिले कसैका नखुल्ने, कहिले सम्पत्तिका विवरण नदेखिने, यस्ता अनेक समस्याले नेप्सेप्रतिको विश्वासमा संकट उत्पन्न भइरहेको छ । यो देख्दादेख्दै पनि सरकार किन चुप लागेको छ ? अर्थमन्त्रालय किन चुप लागेर बसेको छ ? यहाँ अचम्म मान्नुपर्ने अवस्था छ ।
योभन्दा महत्व पूर्ण कुरा नेप्सेका ग्राहक किन चुप लागेका छन् भन्ने हो । सूचीकृत कम्पनी नेप्सेका ग्राहक हुन् । कम्पनीको जुन प्रकारको सामाजिक भ्यालु छ त्यसअनुसारको इज्जत, मान, प्रतिष्ठा र सेवा नेप्सेले दिन नसक्दा पनि सूचीकृत कम्पनीहरू बोल्न सकेका छैनन् । यो उनीहरूले थाहा नपाएर हो वा अन्य कुनै कारणले हो । यदि थाहा नपाएर हो भने अब थाहा पाए हुन्छ । सूचीकृत कम्पनी संगठित भएर आवाज उठाउने बेला आएको छ । नेप्सेको कमजोर र गुणस्तरहीन सेवाप्रति अब उनीहरूले बोल्नैपर्ने बेला भएको छ । कम्पनीको सेयर किनबेचका लागि लगानीकर्तालाई राम्रो कारोबार सेवा दिनुपर्ने बारेमा उनीहरू बोल्नुपर्छ । सेवा–सुधारका बारेमा सरकारसँग माग राख्नुपर्छ, किनकि नेप्सेको प्रणालीप्रति विश्वास सिर्जना हुन आवश्यक छ ।
कम्पनीले राम्रो कारोबार प्रणाली दिने जुन सर्तमा सर्वसाधारणबाट पैसा संकलन ग¥यो र गरिरहेका छ, तर त्योअनुसारको कारोबार प्रणाली सेयरधनी वा लगानीकर्ताले पाउन सकेका छैनन् । अब सेयरधनीको आवाज कम्पनीतर्फ पनि उठ्नुपर्छ । सेयर कारोबारका लागि राम्रो र विश्वासनीय प्रणाली भएन भन्ने कुरा सेयरधनीले हरेक कम्पनीका साधारणसभामा उठाउनुपर्ने देखिन्छ । विश्वसनीय, भरपर्दो, सुविधा सम्पन्न कारोबार प्रणालीको व्यवस्था गर भनेर भन्ने बेला भएको छ ।
(लेखक सेयर बजार विश्लेषक हुन् ।)

प्रतिक्रिया दिनुहोस्