श्रीलंकासँग नेपालको अर्थतन्त्र तुलना नहुने परिसंघको ठहर

नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्र श्रीलंकाको अवस्थासँग तुलना नहुने ठहर गरेको छ । अर्थमन्त्री जनार्दन शर्मासँगको छलफलमा परिसंघले अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल गरेको छ ।
परिसंघमा आवद्ध उद्योगी अनुज अग्रवालले देशको वर्तमान आर्थिक अवस्थाबारे प्रस्तुती दिँदै विदेशी मुद्राको संचितिमा परेको चापलाई कम गर्ने र तरलता संकटलाई माथी उठाउने सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
उनले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नु तर्कसंगत नभएको बताए । नेपालको कूल ग्राहस्थ उत्पादन ३३.६५ बिलियन डलर र श्रीलंकाको कूल ग्राहस्थ उत्पादन ८०.७ बिलियन डलर रहेको बताए ।
नेपालको बास्तविक ऋण १४.५६ बिलियन डलर र श्रीलंकाको ८९.५ बिलियन डलर रहेको भन्दै उनले जिडिपीमा बास्तविक ऋणको हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलंकाको १११.४२ प्रतिशत रहेको बताए । उनले कूल वैदेशिक मुद्रा संचितितर्फ नेपालको ९.५८ अर्ब डलर र श्रीलंकाको १.९४ बिलियन डलर मात्रै रहेको दावी गरे ।
अन्तर्राष्ट्रिय मूल्य श्रृङ्खलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७.१ प्रतिशत र श्रीलंकाको २५ प्रतिशत बिन्दुमा पुगेको पनि उनले कार्यपत्रमा उल्लेख गरेका छन् । अर्थतन्त्रको परिदृश्य देखाउने मुख्य–मख्य सूचकांकमा नेपालको अर्थतन्त्र श्रीलंकाको भन्दा धेरे मजबुत रहेको अग्रवालले बताए ।
पसिंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले विदेशी मुद्राको संचितिमा परेको चापबाट माथी उठ्न आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदरसमेत हेरफेर गर्नुपर्ने सुझाव दिए । उनले उत्पादन र आयातमा जाने कर्जाको ब्याजदर फरक फरक बनाउन पनि सुझाव दिए ।
आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको बताउँदै उनले पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेजहरु धमाधम घोषणा गर्नुपर्ने बताए । अध्यक्ष अग्रवालले सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत ब्याजदर दिन, गैरआवासिय नेपालीलाई डलरमा खाता खोल्न आकर्षित गर्नुपर्नेलगायतका सुझाव दिए ।
अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपालको तुलनै नुहने कुरा आफूले बारम्बार भन्दै आएको बताए । “केही व्यक्तीले देशको अर्थ व्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन्” मन्त्री शर्माले भने, “यथार्थमा नेपालको अर्थव्यवस्थाा श्रीलंका जस्तो होइन र हामी श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेका छौं ।” उनले आगामी आर्थिक वर्ष २०७९-०८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नजिता देखिने गरी सुधार गर्ने दावी गरे ।