लगानीका क्षेत्रको पहिचान गरौँ : सभामुख थापा «

लगानीका क्षेत्रको पहिचान गरौँ : सभामुख थापा

सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापाले लगानीयोग्य क्षेत्रको पहिचान गर्नुपर्नेमा जोड दिएका छन् । । कञ्चनपुरको भीमदत्तनगरमा आज ‘कारोवार’ आर्थिक राष्ट्रिय दैनिकले आयोजना गरेको सुदूरपश्चिममा ‘लगानीको सम्भावना, चुनौती र अवसर’ विषयक अन्तक्र्रियामा सभामुख थापाले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा जडीबुटी, खानी र जलस्रोतको अपार सम्भावना रहे पनि सेती, महाकाली, कर्णाली र साना नदीको उपयोगका लागि प्रदेश सरकारले नीति बनाएर छलफल गर्नुपर्नेमा जोड दिएका हुन् ।
प्रदेश सरकारले लगानी क्षेत्रको पहिचानका लागि समिति गठन गर्ने भने पनि संरचना निर्माण, कानून तथा नीति निर्माण गर्दा ढिलाइ भएको थापाको भनाइ थियो । “अब तत्काल यो काम थालनी गर्नुपर्ने बेला आएको छ”, उनले भने, “प्रदेश योजना आयोग पनि बनाउनुपर्छ ।”
कञ्चनपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा भएको कार्यक्रममा बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्द, भीमदत्तनगरपालिकाका उपप्रमुख सुशील सिंह, उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा यहाँका अग्रज व्यापारी तथा व्यवसायीले सुदूरपश्चिममा लगानी भित्र्याउन र समृद्ध सुदूरपश्चिम प्रदेश बनाउन सङ्घ र प्रदेश सरकारले गम्भीर हुनुपर्ने भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्