जग्गा एउटाको, खेती अर्कैको «

जग्गा एउटाको, खेती अर्कैको

बारा-कृषि वैज्ञानिक खड्गभक्त पौडेलले बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. ३ रामवनमा रहेको आफ्नो तीन बिगाहभन्दा बढी जग्गामा अरुले कब्जा गरी लगाएको केरा खेती नष्ट गरेका छन् ।
जितपुर–सिमराको रामवनमा पूर्वराजा वीरेन्द्रका अंगरक्षक शान्तकुमार मल्लले राजाबाट प्राप्त गरेको करिब २५ बिगाह हुकुमी जग्गा रहेकामा निजले बल र सिफारिसका आधारमा कानुनलाई आफ्नो हातमा लिएर कृषि वैज्ञानिक पौडेलको जग्गासमेत कब्जा गर्दै केरा खेती गरेका थि । उनी कृषि विषयमा विज्ञता हाँसिल गरी बारामा अग्र्यानिक खेतीको अभियानमा लागेका छन् ।
उनको लालपुर्जामा करिब चार बिगाह जग्गा देखिए पनि राजा रजौटाबाट पाएको हुकुमी जग्गामा मिचिएको भन्दै उनले जिल्ला अदालतमा मुद्दासमेत दिएका थिए । जिल्ला, पुनरावेदन हुँदै उच्च अदालत समेतबाट मुद्दा जितिसकेका उनले कानुनी रूपमा जग्गा दिन नमानेपछि शुक्रबार जिल्लाका सञ्चारकर्मी, प्रहरी र स्थनीयको रोहवरमा त्यहाँ लगाइएको केराखेती आफैंले नष्ट गरी आफ्नो जग्गाको सिमाना मिलाउने प्रयास गरेका छन् ।
उनको हातमा सोही जग्गाको लालपुर्जा छ र मालपोतको दस्तुर तिर्दै आएको रसिद पनि छ । तर हक भोग अर्कैले गर्दै आइरहेको उनको गुनासो छ ।
शान्तकुमार माथी गाउँका अन्य आरोप पनि छ । उनले हकभोग गर्दै आइरहेको जग्गामा पर्सा राष्ट्रिय निकुञ्जको करिब तीन बिगाह जमिन पनि भोग गर्दै आइरहेको खुलासा भएको छ । मिचिएको क्षेत्र जनजागरण सामुदायिक बन समूहभित्र पर्छ । सो समूहले पनि शान्तकुमार विरुद्ध दायर गरेको मुद्दा विचाराधीन छ । समूहका अध्यक्ष ताराबहादुर कार्कीले शक्ति र पदका आधारमा सोझा किसानमाथी अन्याय गरेको र गाउँलाई नै उठीबास लगाउने षडयन्त्र गरेको आरोप लगाए ।
त्यसैगरी रामवन गाउँ नै उनको मुद्दामा आजित बनेको छ । दशकौं अघि किनबेच भइ आएको जग्गा पछिल्लो पटक प्लटिङ गरी खरिद बिक्री भई घर टहरा बनाएर बसेका छन् । सोही जग्गामा समेत बिभिन्न बहानामा उनले मुद्दा मामिलामा उक्साएको आरोप छ ।
यसै क्रममा कृषि वैज्ञानिक पौडेलले कानुनले पनि आफ्नै पक्षमा निर्णय सुनाउँदा पनि जग्गा दिन नमानेपछि आफ्नो जग्गामा पर्ने करिब डेढ बिगाहमा लगाइएको केरा खेती खुकुरीले फडान गरिदिएका हुन् ।
यसैबीच शान्तकुमार मल्लको जग्गामा जोतभोग र रेखदेख गरिरहेका शिवशंकरप्रसाद कुशवाहले भने पौडेलको बिचारमा असहमति जनाएका छन् । उनले पौडेलको जग्गा आफ्नो सिमानामा नपरेको बताए । जबरजस्ती आफूले लगाएको केरा खेती बिना सूचना नष्ट गरिदिएको भन्दै कानुनी उपचार खोज्ने उनको चेतावनी छ ।
यता इलाका प्रहरी कार्यालय सिमराका प्रमुख सुवास हमालले दुई पक्षलाई सँगै राखेर प्रमाणका आधारमा निर्णय गर्ने र आवश्यक अन्य प्रक्रियाका लागि छलफलबाटै समाधान खोज्ने बताए ।

प्रतिक्रिया दिनुहोस्