बीएमसी मसला आयात रोक्न माग «

बीएमसी मसला आयात रोक्न माग

विराटनगर-सामान्यतया कुनै पनि वस्तु एउटा ब्राण्डमा मात्र बिक्री वितरण गर्न पाउने कानुनी व्यवस्था छ । तर, नेपाली बजारमा थुप्रै यस्ता वस्तु छन् जुन एउटै ब्राण्ड भएर पनि विभिन्न उत्पादकले उत्पादन गरेका वस्तुहरू छ्यापछ्याप्ती पाउन सकिन्छ । त्यसैमध्येको एक हो बीएमसी मसला । भारतमा उत्पादन हुने यो मसला विभिन्न उत्पादकले एउटै ट्रेडमार्क प्रयोग गरी उत्पादन गर्ने गरेको पाइएको छ । जसका कारण उपभोक्तालाई कुन सक्कली र कुन नक्कली हो भन्ने छुट्याउन गाह्रो भएको छ ।
एउटै ट्रेडमार्क राखेर धेरैले उत्पादन गर्दा उपभोक्ता ठगिइरहेको उपभोक्ता हित संरक्षण मञ्च, नेपालका पूर्वकेन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ बताउँछन् । एउटै ब्राण्डमा धेरै उत्पादकले उत्पादन गरेका वस्तु बजारमा पठाउँदा गुणस्तर कायम हुन नसक्ने उनको बुझाइ छ । “यदि गुणस्तरहीन पाइएमा कसलाई कारबाही गर्ने भन्ने प्रश्न उब्जिन सक्छ,” उनले भने, “वास्तविक उत्पादक को हो भन्ने चिन्नै गाह्रो हुन्छ । यस्तो अवस्थामा उपभोक्ता ठगिन्छन् ।”
केही समयअगाडि राष्ट्रिय उपभोक्ता मञ्चले बीएमसी मसलामाथि प्रतिबन्ध लगाउँदै आपूर्तिकर्ता र बिक्रेतामाथि कारबाहीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदनसमेत दर्ता गराएको थियो । भारतबाट आयात हुने बीएमसी ब्राण्डको मसला धेरै नेपाली उपभोक्ताको चुल्होमा खाद्यवस्तुका रूपमा प्रयोग हुँदै आएको छ । सर्वसाधारण उपभोक्ताको घरका साथै भोजभतेरमा अत्यधिक मात्रामा प्रयोग हुने यो मसला बीएमसी ब्राण्डको ट्रेडमार्कमा भारतको दिल्लीमा विभिन्न चार कम्पनीले उत्पादन गर्ने गरेको मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् ।
वार्षिक २० करोड रूपैयाँभन्दा बढीको खपत हुने गरेको छ नेपाली बजारमा यो ब्राण्डको मसला । तर, हालसम्म कुन सक्कली उद्योग र कुन नक्कली हो अझसम्म पनि नेपाल सरकारले पहिचान गर्न सकेको छैन । सबै कम्पनीको मसलामा उद्योग विभागबाट ट्रेडमार्क ऐन–२०२२ अन्तर्गत मिति २०४८ मंसिर १५ मा प्रमाणपत्र नं. ८२७५-०४८ अनुसार ट्रेडमार्क रजिष्टर्ड भएको एउटै डिजाइन र ट्रेडमार्क नम्बर रहेको प्रयोग भएको पाइएको छ भने सबै कम्पनीले आफ्नै उत्पादन भएको दाबी गर्दै नेपालका विभिन्न अदालतमा मुद्दा हाल्ने काम पनि भएको छ । एक दशकभन्दा लामो समयदेखि अदालतमा मुद्दा चलिरहेको छ । मुद्दाको टुंगो नलाग्दा उपभोक्ता झनै अन्योलमा परेको उनले बताए ।
दुई दशकभन्दा लामो समयदेखि नेपालमा आयात भइरहेको बीएमसी मसला नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत गुणस्तरहीन भएको प्रमाणित गरे पनि निर्वाध बिक्री वितरण हुँदै आएको र सर्वसाधारण उपभोक्ताले समेत उपभोग गर्दैै आएको महर्जनको भनाइ छ । “नेपाल सरकार, वाणिज्य विभागले विगतमा धेरैपटक यस सम्बन्धमा अनुगमन र अनुसन्धान गर्दा यो ब्राण्डको मसलाहरू नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तरभित्र नपरेको कुरा खाद्य प्रविधि तथा गुण नियन्त्रण विगभाले प्रमाणित गरिसकेको छ,” उनले भने, “दुवै कम्पनीले मिलेमतोमा ट्रेडमार्कको बखेडा उठाइ तत्कालीन पुनरावेदन अदालतमा मुद्दा हाल्ने र मुद्दाको कहिल्यै नलगाउने काम गर्दै सरकार र उपभोक्तालाई बेवकुफ बनाउँदै अखाद्य र गुणस्तरीय मसला बिक्री वितरण गर्दै आएको देखिन्छ ।”
नेपालमा प्रचलित पेटेण्ड डिजाइन तथा ट्रेडमार्क ऐन–२०२२ अनुसार कुनै पनि उद्योग वा आयातकर्ताले आयात गर्ने वस्तुका लागि दर्ता भएको ट्रेडमार्क कुनै अर्को कम्पनी वा उद्योग वा व्यवसायीले त्यस्तो पेटेण्ड डिजाइन र ट्रेडमार्क प्रयोग गर्न नपाउने व्यवस्था छ । र, कानुनविपरीत गरेको खण्डमा दण्डनीय हुने व्यवस्था गरेको छ भने उपभोक्ता संरक्षण ऐन–२०७५ ले कुनै पनि एउटा मालवस्तु अर्को हो भनी ढाँटी झुक्याउन नपाउने व्यवस्था गरेको छ । साथै परिमार्जनसहितको खाद्य ऐन–२०२३ मा कुनै पनि खाद्यवस्तुमा स्पष्ट रूपमा लेबल राख्नुपर्ने र सो लेबलमा उत्पादकको नाम, ठेगानादेखि ट्रेडमार्कसम्म उल्लेख हुनुपर्ने व्यवस्था गरिएको छ । प्रचलित ऐन र कानुनविपरीत बीएमसी मसला नेपाली बजारमा छ्याप्छ्याप्ती हुनु दुखद भएको महर्जनको भनाइ छ ।
वीएमसी मसला ट्रेडमार्कको वस्तु भारतबाट दुई तीन जना उत्पादकले उत्पादन गरी नेपालमा छुट्टाछुट्टै वितरकमार्फत नेपाली बजारमा पठाउने गरेको पाइएको छ । त्यसबाहेक त्यसैको फाइदा उठाउँदै त्यही नाममा नेपालमा पनि नक्कली मसाल उत्पादन गर्दै आएको कारखानामा प्रहरीले छापा मारेर विगतमा उद्योगीहरू पक्राउ गरेको थियो । नेपालमा ५ किसिमभन्दा बढी बीएमसी मसला उपलब्ध छन् । उपभोक्तालाई कुन असली र कुन नक्कली भनेर छुट्याउन गाह्रो भएको अवस्थामा गुणस्तर तथा नापतौल विभागले समय–समयमा अनुगमन र परीक्षण गरी यो मसला खानयोग्य छैन भनी प्रमाणित गरिदिएको थियो ।
“विडम्बना के छ भने भन्सार कार्यालय, भन्सार विभाग र अन्य सम्बन्धित विभागले पनि एउटै ब्राण्डको २–३ उत्पादकले भारतबाट निर्यात गर्दा पनि बीएमसी मसलालाई स्वतन्त्रतापूर्वक आयात गर्ने अनुमति दिइरहेको छ,” पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुंगेलले भने, “प्रचलित कानुनअनुसार एउटा ब्राण्डको वस्तु एकबाहेक बढीले उत्पादन ग¥यो भने त्यसलाई गैरकानुनी मानिन्छ । कोकाकोला, पेप्सी, डाबर, वाईवाई, ब्रिटानिया, कोलगेट, लक्सलगायतका दुईवटा उत्पादकले उत्पादन र बिक्री–वितरण गर्न पाउँदैन ।” को असली र को नक्कलीको चक्रब्यूहको फाइदा उठाउँदै न्यून गुणस्तरको मसला प्रयोग गर्न उपभोक्ता बाध्य भइरहेको उनको कथन थियो । बीएमसीको वास्तविकता पत्ता लगाउन तत्काल छानबिन गर्न उनले माग गरे ।

प्रतिक्रिया दिनुहोस्