नेपाल बंगलादेश बैंक र साउथ एसिया फाउन्डेसन नेपालबीच समझदारी पत्रमा हस्ताक्षर

नेपालको ग्रामीण तथा बिपन्न क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरूलाई सहज तथा सुलभ रूपमा कर्जा प्रदान गर्नका लागि नेपाल बंगलादेश बैंक एवं साउथ एसिया फाउन्डेशन नेपाल तथा साउथ एसिया फाउन्डेशनकाबीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
सो समझदारी पत्रमा नेपाल बंगलादेश बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र साउथ एसिया फाउन्डेसन नेपालको तर्फबाट संस्थाका अध्यक्ष डा. शशांक कोइराला एवं साउथ एसिया फाउन्डेसनको तर्फबाट सेक्रेटरी जनरल राहुल बरुवाले हस्ताक्षर गरे ।
सो कार्यक्रममा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले ग्रामीण तथा बिपन्न क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरूले सहज तथा सुलभ रूपमा कर्जा प्राप्त गरी साना, मझौला तथा लघुउद्यम व्यवसाय सञ्चालन गरी आफ्नो आयमा वृद्वि गरी आर्थिक जीवनस्तर उकास्न यस सम्झौताले टेवा पुग्ने बताए । साथै बैंकले यस प्रकारको सहकार्यले आफ्ना ग्राहकलगायत ग्रामीण क्षेत्रमा बसोबास गर्ने पिछडिएका वर्ग तथा महिलाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने जानकारी गराइएको छ ।