जापानी प्रविधिको एसएमसी मेन होल कभर भरतपुरमा धमाधम उत्पादन «

जापानी प्रविधिको एसएमसी मेन होल कभर भरतपुरमा धमाधम उत्पादन

१७ करोडको लगानी, एक वर्षमा १० लाख वटा मेन होल कभर उत्पादन गर्ने कम्पनीको लक्ष्य

भरतपुर-नेपालमै पहिलो पटक भित्रिएको जापानी प्रविधिको एसएमसी मेन होल कभर प्रदेश नम्बर ३ को भरतपुरमा धमाधम उत्पादन सुरु भएको छ । विगत डेढ वर्षदेखि भरतपुर–८ स्थित गौरीगन्जमा सूर्य किरण फाइबर इण्डष्ट्रिजले नेपालमा एसएमसी मेन होल कभरको प्रचुर सम्भावना देखेर उक्त वस्तु उत्पादनमा लागेको हो ।
खानेपानी, विद्युत्, नेपाल टेलिकम, सेफ्टी ट्याङ्की, ढल, घरयासी कामलगायतको क्षेत्रमा ढक्कनको रूपमा प्रयोग हुने नयाँ प्राविधिको कम्पोजिट एसएमसी मेन होल कभर नेपालसहित मिछेकी मुलुक भारत, चीनमा समेत यसको राम्रो बजार देखेर आफूहरुले उक्त प्रविधि नेपालमै पहिलो पटक भित्र्याएको प्रालिका प्रवन्ध निर्देशक सूर्यप्रसाद न्यौपानेले बताए । फाइबर ग्लासको झ्याल, ढोकालगायतका वस्तु विगत ११ वर्षदेखि उत्पादन गर्दै आएका न्यौपानेले विदेशीमा रोजगारका लागि खाडीमुलुक (साउदी अरब) मा ६ वर्ष बिताएको अनुभवनको आधारमा पनि उक्त प्राविधिक नेपाल भित्र्याएका हुन् ।
ग्लास फाइबरको युरोपियन मेसिन पद्धतिबाट विभिन्न आकार र कलरमा आवश्यकताअनुसार कम्पनीको लोगो समेत राख्न मिल्ने गरी उक्त वस्तु उत्पादनमा कम्पनी लागेको प्रबन्ध निर्देशक न्यौपानेले बताए । एक वर्षमा कम्तीमा १० लाखवटा उक्त वस्तु उत्पादन गर्ने लक्ष्यका साथ आफूहरु अघि बढेको उनले जनाए । ६० लाखबाट सुरु भएको उक्त उद्योगमा हाल करिब १७ करोड लगानी पुगेको छ । आगामी ४ वर्षमा ५० करोड लगानी पुराउँदै देशमा आवश्यक पर्ने उक्त वस्तु सहज ढंगले हरेक जिल्लामा पु-याउँदै विदेशसमेत निर्यात गर्ने उनले योजना बनाएका छन् ।
विश्वकै स्ट्यान्डरमा एकै डाइमा उक्त वस्तु उत्पादन हुने भएको उनले जनाए । उक्त प्रविधि कम्पनीले दक्षिण एसियामै पहिलो पटक भित्र्याएको दाबीसमेत गरेको छ । उक्त प्रविधि भारत, बंगलादेश, भुटानलगायतका देशमा माग भएकाले हाल परीक्षणका रूपमा केही पिस पठाएको कम्पनीले जनाएको छ । ६० प्रतिशत फाइबर ग्लास र ४० प्रतिशत क्याल्सियम कार्बोनेट प्रयोग हुने हुँदा कम्तीमा ५० वर्ष दिगो हुने, खिया नलाग्ने, चोरी हुने सम्भावना न्यून भएकाले यसको बढी उपयोग हुने भएको न्यौपानेले दाबी गरे ।
चाइना, भारत, कोरिया, जर्मनलगायतका देशबाट उक्त वस्तु उत्पदनका लागि म्याट्रियल आयात हुने भएको छ भने ४० प्रतिशत स्थानीय उत्पादन प्रयोग हुने भएको छ । उक्त प्रविधिको प्रयोगले सहरको सौन्दर्यता दिने जसले गर्दा वातावरण मैत्री हुने र भारवान क्षमता पनि बढी रहेको उनले जनाए ।
उक्त ढक्कनको ६० टनसम्मको भारवान क्षमता हुने गरेको न्यौपानेले दाबी गरे । सिमेन्टी र फलामको होल कभरभन्दा बढी एसएमसी मेन होल कभर नै उपयोग हुने भएको उनले दाबी गरे । साथै कम्पनीले बाथ टप, फाइबरका टी टेवल, पार्क तथा स्कुल एवं मल्टेस्वरीमा राखिने चिप्लेटी लगायतका वस्तु समेत उत्पादन र बिक्री तिवरण गर्दै आएको छ ।
करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको उक्त कम्पनीले हाल एक सय जनालाई प्रत्यक्ष रोजगार दिएको कम्पनीको दाबी छ । डालीमा इन्टरनेसनलले उक्त वस्तुको बजार व्यवस्थापन तथा प्रबद्र्धनको आधिकारिक रूपमा जिम्मा लिएको छ । चितवन हुँदै, पोखरा, काठमाडौं, झापा, दमक बिर्तामोड, दमौली, कैलाली, दाङ, कावासोती, बुटवल, गोरखा लमजुङलगायतका क्षेत्रमा उक्त बस्तुको बिक्री कक्षहरु रहेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्