Logo

रारा राजमार्गको सडक स्तरवृद्धि गर्न डीपीआर

जुम्ला-कर्णाली प्रदेशको पर्यटकीय रारा राजमार्गको २० किलोमिटर सडक स्तरवृद्धिका लागि डीपीआर अघि बढाइएको छ । राजमार्गको त्रिवेणीदेखि टोप्लासम्म २० किमि सडकको नयाँ ट्रयाक खोल्ने, पुरानो सडकको स्तरवृद्धि गर्ने, ग्राभेल गर्ने र कालोपत्रे गर्नेलगायतका विभिन्न स्तरवृद्धिको काम गर्नका लागि डीपीआर गर्न थालिएको हो ।
सडक विभागको विज्ञ टोलीले जुम्लाको भूगोलअनुसार दिगो विकास र गुणस्तर पूर्वाधारमा जोड दिँदै सडक मापदण्ड कार्यान्वयन हुने गरी डीपीआर गर्नेछन् । सडक विभागको टोलीले २० किमि सडक खण्डको डीपीआर अघि बढाएको छ । सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले भने, “चालू आवभित्रै डीपीआर सकिने छ । सडकको डीपीआर पश्चात आगामी आवबाट त्रिवेणी–टोप्ला खण्डको २० किमि सडक निर्माण गरिने छ । लामो समयको पहलपछि सडक विभागले आफ्नै लगानीमा डीपीआरको काम अघि बढेको हो ।”
डीपीआरअनुसार सडक मापदण्डकै आधारमा त्रिवेणी–टोप्ला खण्डमा डबललेन निर्माण, ९ देखि १० मिटरसम्म चौडाइ, नाला निर्माण, ग्राभेल र कालोपत्रे लगायतका काम गरिने प्रमुख श्रेष्ठको भनाइ छ । थारमारे, चौरजहारी, जाजरकोट खलंगा, जुम्ला कुडारी हुँदै मुगु–रारासम्म रारा राजमार्गको जम्मा २ सय ६३ किलोमिटर दूरीमध्ये १ सय २६ किलोमिटर सडक हेर्ने क्षेत्राधिकार सडक डिभिजन जुम्लाको छ । जसमा डुसिल्ले लेखदेखि रारासम्म ९८.३ किमि, बुलबुलेदेखि ताल्चासम्म २१.५ किमि र ताल्चादेखि रारातालसम्म ६.२३ किमि गरी जम्मा १ सय २६ किलोमिटर रहेको छ ।
१ सय २६ किमिमध्ये त्रिवेणी–टोप्लाको २० किमि सडक निर्माणका लागि डीपीआर अघि बढेको छ । त्रिवेणी हुँदै छिना साँघुसम्म सडकको ट्रयाक खोल्न डीपीआरका लागि माग गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । त्यस्तै रारा राजमार्गअन्तर्गत जुम्ला एयरपोर्टदेखि बुलबुलेसम्म तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । बजेट व्यवस्थापनका लागि पुल महाशाखामा पेस भई अर्थ मन्त्रालयले सहमति दिन बाँकी छ ।
साथै ताल्चादेखि रारासम्म ४ किमि सडकमा हाल ग्राभेल, नाला निर्माणलगायतका काम भइरहेको सडक डिभिजन जुम्लाले जनाएको छ ।
दिगो पूर्वाधार विकास र गुणस्तरीयताका लागि डीपीआर अनिवार्य छ । सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठले थपे, “लामो समयको पहलपछि २० किमि सडकको डीपीआर अघि बढेको छ । तीनवटा पुल निर्माणका लागि प्रक्रिया अघि बढेको छ । नेपालकै ठूलो रारा तालमा जाने छोटो पर्यटकीय मार्गलाई व्यवस्थित बनाउन हामी लागि परेका छौं ।”

प्रतिक्रिया दिनुहोस्