कर्णालीका कारागारमा पुस्तकालय

सुर्खेत- कर्णाली प्रदेशका सबै कारागारमा पुतकालय स्थापना गएिको छ । कारागारलाई सुधार गृह बनाउने उद्देश्यसहित कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रदेशका दश जिल्लामा रहेका कारागारमा पुस्तकालय स्थापना गरेको हो ।
कैदीबन्दीको सुधार र सामाजिक पुनस्र्थापनाका लागि कारागारमा व्यवस्थित पुस्तकालय स्थापना गरिएको जनाइएको छ । मंसिरदेखि पाठ्यपुस्तक संकलन थालेको प्रहरीले शनिबार पुस्तकालयको औपचारिक उद्घाटन गरेको छ । कैदीबन्दीमा पुस्तक अध्ययन गर्ने बानीको विकास गर्न जिल्ला तथा प्रदेश कारागारमा बुक क्लब गठन गएिको प्रदेश प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले बताए ।
उनका अनुसार कैदीबन्दीलाई पुस्तकप्रति आकर्षित गराउन बुक क्लव गठन गरिएको छ भने गठन भएका ती क्लवमा हरेक शनिबार पुस्तक अध्ययन प्रतियोगिता र समीक्षा गर्नेछन् । हप्ताभरी अध्ययन गरेका पुस्तकमाथि विचार विमर्श हुने र त्यसमध्ये उत्कृष्ट अध्ययनकर्तालाई पुरस्कृत गरिने डिआइजी शाहले बताए । महिनामा उत्कृष्ट हुने कैदीबन्दीलाई पुस्तक पढेबापत कारागारको चिनोका रुपमा पुस्तक नै उपहार प्रदान गरिने छ ।
सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, जुम्ला, डोल्पा, कालीकोट जिल्लामा कारागारभित्रै पुस्तकालय स्थापना गरिएको छ भने हुम्ला र मुगुमा भर्खरै निर्माण भएका कारागार भवन हस्तान्तरण नभएकाले हुम्लाको जिल्ला प्रशासनको कार्यालयभित्र र मुगुको जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको छ ।
पुस्तकालय स्थापनाका लागि कर्णाली प्रदेश प्रहरी प्रमुख शाहको संयोजकत्वमा पुस्तक संकलन अभियान समिति गठन गरेको थियो । जिल्ला–जिल्लामा प्रहरी प्रमुखको संयोजकत्वमा गठित समितिले पुस्तक संकलन गरेको छ । प्रदेश र जिल्ला प्रहरीले आठ हजार तीन सय ८८ वटा पुस्तक संकलन गरिसकेको छ । चार हजार दुई सय ८८ र जिल्लागत समितिबाट चार हजार एक सय छ पुस्तक संकलन भइसकेको कारागारमा किताव अभियानका संयोजक एवम् डिआइजी शाहले बताए ।
अभियानका क्रममा नौ लाख ६८ हजार छ सय ७५ रुपैयाँ बराबरको प्रदेश पुस्तकालय र ११ लाख ४० हजार एक सय ९७ रुपैयाँ बराबरका जिल्ला कारागारको पुस्तकालयका लागि पुस्तक खरिद गरिएको छ । यस्तै अभियानका क्रममा पुस्तक प्रकाशन गृह र विभिन पुस्तकालयबाट पनि आवश्यक पुस्तक सहयोग मागिएको थियो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पुस्तक खरिदका लागि पाँँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त अभियानको परिकल्पना गरिएको र अभियान सफल भएको डिआइजी शाहले बताए ।
लेखकहरूसँग कैदीबन्दीको अन्तरक्रिया
कारागारमा पुस्तकालय स्थापना भएसँगै प्रहरीले साहित्यकार र लेखकहरूसँग कैदीबन्दीको अन्तरक्रिया गराउने भएको छ । कारागारमा पुस्तक अभियानको दोस्रो चरणमा साताको शनिबार कैदीबन्दी र लेखकबीच पुस्तक विमर्श गरिने जनाइएको छ ।
स्थानीय साहित्यकार र प्रतिष्ठीत व्यक्तिहरूलाई कारागारमा बोलाएर जीवन सुधारका लागि अन्तरक्रिया गरिनेछ । यो अभ्यास कर्णालीका कारागारमा सम्भवतः पहिलो पटक हो । पुस्तकालयलाई औपचारिक रुपमा सञ्चालनसँगै प्रहरीले कैदीसँग साहित्यकार अभियान पनि सुरु गर्ने जनाइएको छ ।
देशका प्रतिष्ठित १५ जना वरिष्ठ साहित्यकारहरूले पहिलो पटक कैदीबन्दीसँग अन्तरक्रिया गर्नेछन् । जसका लागि प्रदेश प्रहरीले साहित्यकार र जिल्ला कारागारबीच समन्वय गरेको छ । प्रहरीले उपलब्ध गराएको समय तालिका अनुसार पुस्तकालय उद्घाटनसँगै वरिष्ठ साहित्यकार सनत रेग्मी, वरिष्ठ उपन्यासकार एवम् कथाकार नयनराज पाण्डे, कवि नवराज पराजुली जिल्ला कारागार सुर्खेत आउने छन् । निबन्धकार शेखर खरेल र उपन्यासकार तथा कथाकार कुमार नगरकोटी दैलेख कारागार पुग्ने छन् । सल्यानमा उपन्यासकार उमा सुवेदी र रामलाल जोशी, रुकुम (पश्चिम)मा कथाकार राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामाले कैदीबन्दीसँग विमर्श गर्ने तालिका प्रहरीले सार्वजनिक गरेको छ ।
उपन्यासकार अर्चना थापा र सुविन भट्टराई जाजरकोट कारागार पुग्ने छन् भने उपन्यासकार युग पाठक कालिकोटमा र जुम्लामा उपन्यासकार सिवानीसिंह थारु र डोल्पामा उपन्यासकार तथा कथाकार अमर न्यौपानेले कैदीबन्दीसँग अन्तरक्रिया गर्ने जनाइएको छ ।
गोविन्द खत्री