‘अलग धार’ लिएर आए लेखक विष्णु भण्डारी «

‘अलग धार’ लिएर आए लेखक विष्णु भण्डारी

लामो समयदेखि लेखनमा क्रियाशील कवि तथा आख्यानकार विष्णु भण्डारी ‘अलग धार अभियान’ लिएर आएका छन् । हिजो बैशाख १ गते फेसबुक लाइभमार्फत उनले उक्त अभियनको अवधारणापत्र सार्वजनिक गरेका हुन् ।
केही वर्षदेखि कुनै पार्टी राजनीतिमा संलग्न नभएका विष्णु भण्डारी स्वतन्त्र लेखनमा क्रियाशील छन् । अहिलेसम्म उनका दुई उपन्याससहित दश कृति प्रकाशित छन् ।
विभिन्न अभियान, आन्दोलन र संघ–संस्थामा सक्रिय हुँदै आएका भण्डारी साहित्य लेखनसँगै पत्रकारितामा पनि क्रियाशील छन् । सानैदेखि वामपन्थी राजनीतिमा सक्रिय विष्णु भण्डारी फेरि पनि पार्टीमा आबद्ध हुँदैछन् भन्ने बजारीया हल्लाबिच ‘अलग धार’ घोषणा गेका छन् ।
उनले जारी घरेको घोषणापत्रमा ‘(१) मानवीय मूल्यको पुनव्र्याख्या (२) इतिहासको पुनर्मूल्याङ्कन (३) पहिचान र मौलिकताको जगेर्ना (४) समृद्ध राष्ट्र निर्माणका लागि निरन्तरतामा क्रमभङ्ग (५) सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा अलग धारको निर्माण’ गरी पाँच अवधारणा रहेका छन् ।
उनले गणतन्त्र प्राप्त भएको लामो समय बितिसक्दा पनि राज्यसत्ता यथास्थितिमै रमाएको, पुरातन सोच, मान्यता र सामाजिक तथा सांस्कृतिक रुढताको ठाउँमा नवीन मूल्य र दृष्टिकोणको विकास गर्नुपर्नेमा कतिपय मुद्दामा पछाडि फर्किएकाले यसलाई चिर्नका लागि ‘अलग धार अभियान’ बनाउनु परेको जनाएका छन् ।
उनले फेसबुक लाइभमा गणतन्त्र स्थापना भए पनि सामाजिक र सांस्कृतिक क्षेत्रमा पुरानै मूल्यको दबदबा रहेको, प्राप्त सीमित उपलब्धि पनि खोसिँदै गएको तथा नेताहरू राष्ट्रहीतमा भन्दा व्यक्तिगत हीत र स्वार्थमा चुर्लुम्म डुबेकोले यसका विरुद्ध जनता स्वयम् जागरुक हुनुपर्नेमा जोड दिए ।
उनले राजनीतिक पार्टी र नेतृत्वले सहिदका सपनामाथि खेलबाड गरेको, विकास र समृद्धिको गफ मात्र गरेको, समाजमा विसंगति, विकृति र भ्रष्टाचार बढ्दै गएको तथा अतिशय राजनीतिक दबाबका कारण सरकारलाई प्रश्न गर्न सक्ने शक्ति कमजोर हुँदै गएको अवस्थामा वैकल्पिक सामाजिक र सांस्कृतिक अभियानको रूपमा अलग धार स्थापना भएको जनाए ।
घोषणापत्रमा उनले राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अलग धार, अलग सोच र अलग दृष्टिकोण निर्माण नगरेसम्म हामीले सोचेजस्तो समृद्ध र सुखी नेपाल निर्माण हुन सक्दैन भनेका छन् ।


अवधारणा पत्र यस प्रकार रहेको छ :
प्रस्तावना :
साठीको दशमा नेपाली राजनीतिमा भएको परिवर्तन स्वस्फूर्त रूपमा नभई निश्चित राजनीतिक तथा सैद्धान्तिक अवधारणा, युगीन आवश्यकता, सामाजिक अन्तरविरोधबिचको चरम द्वन्द्व र नवीन यथार्थको वर्चश्वशाली हस्तक्षेपका कारण सम्पन्न भएको थियो । सामाजिक सुरक्षा, समानता र आत्मनिर्भर अर्थतन्त्रसहितको सवल र समुन्नत राष्ट्र निर्माण गर्ने महान् आकांक्षाले अभिप्रेरित भएर नै लाखौँ जनता राजनीतिक परिवर्तनको कष्टसाध्य यात्रामा संलग्न भएका थिए । हजारौँ सहिदको बलिदानद्वारा स्थापित राजनीतिक व्यवस्थाले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने छ भन्नेमा विश्वस्त थिए ।
गणतन्त्र प्राप्त भएको लामो समय बितिसक्दा पनि जनयुद्ध र जनआन्दोलनले मार्गनिर्देश गरेका कार्यभारलाई पूरा गर्नुको साटो राज्यसत्ता यथास्थितिमै रमाएको छ । पुरातन सोच, मान्यता र सामाजिक तथा सांस्कृतिक रुढताको ठाउँमा नवीन मूल्य र दृष्टिकोणको विकास गर्नुपर्नेमा कतिपय मुद्दामा पछाडि फर्किएको छ । पुरानो सत्ताले निर्माण गरेका राज्यसंयन्त्र र विचार निर्माणका सम्पूर्ण अवयवहरूलाई नभत्काएसम्म नयाँ आधारको निर्माण सम्भव हुन्न । पटक–पटक भएका सशस्त्र सङ्घर्ष, जनआन्दोलन र जनयुद्धको बलमा गणतन्त्र स्थापना भए पनि सामाजिक र सांस्कृतिक क्षेत्रमा हामी पुरानै अवस्थाबाट गुज्रिरहेका छौं । परिवर्तन भनेको यथास्थितिमा लिपपोत हैन, नयाँ निर्माण हो, नयाँ सृष्टि र नयाँ आविष्कार हो । पुरानै धारमा हिँड्नु परिवर्तनलाई आत्मसात् गर्न नसक्नु हो ।
म राजनीतिक परिवर्तनलाई आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा आमूल परिवर्तनको रूपमा बुझ्छु । गणतन्त्रको नाममा सत्तास्वार्थको कपटी खेलमा रमाउनु र समाजवादको नाममा दलाल पुँजीलाई प्रश्रय दिनुले नेतृत्व परिवर्तनप्रति गम्भीर छैन भन्ने प्रष्ट हुन्छ । म निरन्तरतामा क्रमभङ्ग नगरेसम्म समतामूलक समाज बन्दैन भन्ने मान्यता राख्छु । साथै राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अलग धार, अलग सोच र अलग दृष्टिकोण निर्माण नगरेसम्म हामीले सोचेजस्तो समृद्ध र सुखी नेपाल निर्माण हुन सक्दैन भन्ने विश्वाससहित यो घोषणापत्र जारी गर्दछु ।
अवधारणा :
(१) मानवीय मूल्यको पुनव्र्याख्या
(२) इतिहासको पुनर्मूल्याङ्कन
(३) पहिचान र मौलिकताको जगेर्ना
(४) समृद्ध राष्ट्र निर्माणका लागि निरन्तरतामा क्रमभङ्ग
(५) सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा अलग धारको निर्माण ।

प्रतिक्रिया दिनुहोस्