Logo

सत्तारुढ दलहरूबीच पनि प्रतिस्पर्धा हुन सक्छ : महत

फाइल तस्बिर ।

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्ने बताएका छन् ।
एमालेले चुनाव हार्ने तर सत्तारुढ गठबन्धन दलहरुबीच भने आफैंले चुनाव जित्छु भन्ने लागेमा त्यहाँ फ्रेन्ड्ली प्रतिस्पर्धा हुने प्रवक्ता महतको भनाइ छ । शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला उनले सञ्चारकर्मीमाझ गठबन्धन दलले भने कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शिर्ष तहमा सहमति गरिएको स्पष्ट पारे । कुनै ठाउँमा गठबन्धन दलहरुबीचमै आ–आफ्नो दावी रह्यो भने त्यहाँ चुनावी प्रतिस्पर्धा हुने प्रवक्ता महतले बताए । उनले भने, ‘कुनै ठाउँमा समझदारी हुन सकेन । त्यहाँ सबैको आ–आफ्नो दावी रह्यो । मेरै त्यहाँ ज्याँदा शक्ति छ, मेरै जनाधार बढेको छ । हामीले नै जित्छौं । र, अर्को विपक्ष दल एमालेले जित्दैन भन्ने त्यस्तो स्थिति आयो भने त्यस्तो धेरै ठाउँमा आउन पनि सक्छ । त्यस्तो ठाउँमा फ्रेन्डली प्रतिस्पर्धा हुन पनि सक्छ । तर एमालेसँग चाँही फेरी यहाँ हामी एकअर्कामा मिलेन भनेर एमालेसँग गठबन्धन गर्न जाँदैनौं । अरु दलसँग गठबन्धन गर्ने छैनौं । त्यही नै सहमती शिर्ष तहमा भएको छ । त्यही मूल मर्म र भावना अनुसार हुनेसम्म तालमेल गर्नु होला भनेर म पार्टीको सम्बन्धित तहलाई आग्रह गर्छु ।’
प्रवक्ता महतले महानगरपालिका र उपमहानगरपालिका मेयर, उपमेयर बाहेकका सबै स्थानीय तहको उम्मेदवार सम्बन्धित कमिटीहरुकै गठबन्धनले तय गर्ने स्मरण गराए । त्यहाँ कुनै समस्या भए तत्काल केन्द्रमा जानकारी गराउन पनि उनले स्थानीय गठबन्धन दलहरुलाई सचेत गराए । प्रवक्ता महतका अनुसार पार्टीको जारी केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा महानगरपालिकाका मेयर, उपमेयर तय गर्ने मोडालिटीको बारेमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्